Breaking

बैगुनी योगेश ओलीको गुनगानमा, महेश र गोकुल किन पाखा लागे ?, एमालेमा थपिँदै भीम रावलहरू


काठमाडौँ – ‘एमालेमा विद्रोह गरे भीम रावल भइन्छ’ भन्ने त्राशका बीच कुनै समय खरो देखिने दोस्रो पुस्ताका नेताहरु अहिले गुमनाम छन् । बरु नयाँ आएका नेताहरुले महत्वपूर्ण जिम्मेवारी पाउँदा वर्षौं खारिएका नेताहरु किन ओझेलमा परे ?

कुनै समय यस्तो थियो, जब एमालेमा अध्यक्ष केपी शर्मा ओलीको विरासतको चर्चा हुँदा गोकुल बास्कोटा, महेश बस्नेत र योगेश भट्टराईहरुको नाम आउँथ्यो । उनीहरुको बोलीमा एमालेको आधिकारिक धारणा जत्तिकै ओझ हुुन्थ्यो । अझ महेश बस्नेत र गोकुल बास्कोटाहरुलाई ओली ‘बा’ का असली छोराको संज्ञासमेत कतिपयले दिन्थे । तर, १० औँ चितवन महाधिवेशनदेखि यी सबै पदाधिकारी गुमनाम जस्तै छन् । ओलीसँग बस्नेत र बास्कोटाको दूरी आफ्नै कारणले टाढिँदा विद्रोही १० भाइमध्येका योगेश ओलीको नजरमा बैगुनी बनेयता ओलीको मन उनीमाथि अझैँ फर्किएको छैन ।

एमालेमा नेतृत्वको चाकडी नगर्दा भीम रावल भइन्छ भन्ने त्राश अझै पनि कायम छ । तर चाकडी गरेरै समेत बास्कोटा, बस्नेत र भट्टराई लगायतका दोस्रो पुस्ताका नेताहरु अहिले ओलीको छत्रछायाँमा छैनन् । अझ माधव नेपालले पार्टी फुटाउँदा विद्रोही बनेका १० भाइहरुले त एमालेमा पद पाएका छन् तर जिम्मेवारी पाएका छैनन् ।

एमालेको प्रदेश अधिवेशन चलिरहेका बेला ओलीले धेरै ठाउँमा हस्तक्षेप गरेर आफ्ना मान्छे च्याप्ने र आफैँ गुटबन्दीमा लागेको आरोप लागेको थियो । बास्कोटाले उपत्यका विशेष प्रदेशको अधिवेशनमा हुकुमी शैली नदेखाउन चेतावनी दिए । त्यसयता गोकुलका लागि बालकोट अनुदार भएको चर्चा छ । नत्र आशिर्वाद पाउँदा ओलीकै टुक्का सापटी लिएर भए पनि ओलीको ढाल बनेर उभिने बास्कोटा अहिले सांसद छन् तर संसदमै गुमनाम छन् ।


महेश बस्नेत जो ओली ‘बा’का असली छोराकै उपमा पाएका व्यक्ति थिए । माओवादीले वाईसीएल ब्युँत्याएपछि महेश बस्नेतकै दबाबमा एमालेले युवा संघ ब्युँत्यायो, बस्नेतकै नेतृत्वमा साइबर सेना परिचालित भए । ओलीले हरसम्भव बस्नेतलाई काखी च्यापेकै थिए । तर अहिले बलात्कार र भ्रुण हत्याको जाहेरी खेपेर सांस्कृतिक बिचलनमा परेपछि उनीमाथि दया गर्ने ठाउँ ओलीले भेटेका छैनन् । हिजो ‘युवा भनेको महेश बस्नेत जस्तो हुनुुपर्छ’ भन्ने ओली अहिले ‘महेश बस्नेत जस्तो चाहिँ नहुनु’ भन्ने गरेका छन् । पार्टीको सचिवजस्तो पदमा रहेर पनि जिम्मेवारीविहीन बनेका योगेशले केही दिनअघि मात्रै बालेनदेखि कांग्रेससम्मको विरुद्धमा मात्रै आगो ओकलेनन् कि केपी ओली जस्ता नेता जेल बसेको कुरालाई मजाकमा नउडाउन चेतावनी दिँदै ओलीको बचाउमा उत्रिएर चिल्लो घस्न खोजे ।

ओलीले खासमा पछिल्लो समय आफूूलाई १० औँ महाधिवेशनमा सहयोग गर्नेहरुलाई काखी च्याप्ने र पुलपुल्याउने गरेको देखिन्छ । तर, अध्यक्ष ओलीको आलोचक भएका कारण योगेशले मौका पाएनन् । यसबीचमा उनले मन्त्री खाने प्रयत्न गरे पनि सफल भएनन् । आफूलाई आवश्यकता पर्दा ओलीतिर सहज देखिए पनि पार्टीमा सम्भवतः भीम रावल पछिका आलोचक भट्टराई नै भएकाले ओलीका विश्वासपात्र बन्न सकेका छैनन् । योगेशको पछिल्लो अभिव्यक्ति पनि त्यसैको उपज भएको र नजिकिन चाहिरहेको टिप्पणी कतिपयको छ । अहिले ओलीले वर्षौं संसद र राजनीतिमा खारिएका दोस्रो पुस्ताका नेताहरुलाई पाखा लगाएरै भए पनि नयाँलाई अवसर दिइएका छन् ।

योगेश मात्र नभइ गोकर्ण विष्टसहित हिजो माधव नेपालको पक्षमा रहेका अधिकांश नेताहरु अहिले एमालेमा औँशीको जुन जस्तै बनेका छन् । एमाले जस्तो ठूलो दलमा पहिलो पटक सांसदमा निर्वाचित भएरै पार्टीको कुनै पनि तहमा नरहेका महेश बर्तौलाले पाएको प्रमुख सचेतक र केन्द्रीय सदस्य सुनिता बरालले सचेतक पाउँदा उनीहरुका लागि चुनौतीमाथिको अवसर भए पनि राजनीतिमा खारिएकाहरु नै पछि पर्नुमा केही आफ्नै कारण त, केहीमाथि अध्यक्षको प्रतिशोध पनि देखिन्छ । पार्टीभित्र रहेका राम्रा नेतामाथि नेतृत्वमा रहेका व्यक्ति नै अनुग्रही बन्नु चाहिँ एमालेकै लागि पनि घातक बन्न सक्ने देखिन्छ ।