Breaking

रविको विकल्प खोज्दै प्रचण्ड, मन्त्रीको फण्डाले ओली असन्तुष्ट, सानालाई च्यापेर जोगिएला सत्ता ?


काठमाडौँ – मर्नु भन्दा बौलाउनु निको भन्दै एक ठाँउमा उभिएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीमा टसल बढ्न थालेको छ । जसलको संकेत बाहिर नै देखिन थाल्दा उनीहरु यसलाई पुर्ने हरप्रयासमा देखिन्छन् । जुन केही हदसम्म उनीहरुको बाध्यता नै बन्दा चर्किदो सम्बन्धका रेखाहरु अझ बलिया नै बन्दै गएका छन् । जसले गठबन्धनलाई केही असर नगर्ने दुबैको दाबीका बीच केकेमा देखिँदै छ त फरक कदम ?

‘शेर शेर एउटै जंगलमा रहँदैन धेरै बेर’ भन्दै छुट्टिएर पनि फेरि भेटिएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सम्बध कायम राख्न गाह्रो पर्न थालेको छ । केही बाध्यताले उनीहरुलाई एउटै समीकरणमा समेटिन बाध्य पारेको त छ । तर व्यक्तिगत प्रवृत्ति हाबी हुँदा सकस बढेको हो । हुन त आफूविरुद्धको घेराबन्दी तोडेको खुसीयालीमा ओली छन् भने यो गठबन्धन नै आफैँले बनाएकाले इज्जतको विषय जोडिएको छ ।

उता कांग्रेससँग जाने बाटो बन्द जस्तै रहँदा कांग्रेससँगको भन्दा एमालेसँगको समीकरण नै जाती रहेको फाइदा उठाउन सकिने आशामा प्रचण्ड छन् । त्यसका लागि पुरै कार्यकाल प्रधानमन्त्रीको ग्यारेन्टी गर्ने बाटोमा रहेका उनलाई एमालेले त्यही ललिलप दिएको छ भने आगामी निर्वाचनसम्म उनलाई प्रयोग गर्ने बाटोमा ओली छन् । फलतः गठबन्धनलाई कसैले नोक्सानी गर्न नसक्ने उनीहरुको विश्वासमा उनीहरुकै शैली भने भारी पर्न थालेको छ ।

यसैको पछिल्लो एक उदाहरण बजेटमा ओलीले देखाएको असन्तुष्टि एक थियो । तर त्यसलाई मनमिचेर स्वीकारेका उनलाई साना दल समेट्ने प्रचण्डको रणनीतिले अर्को झड्का दिएको छ । झट्ट हेर्दा एमाले गठबन्धनको ठूलो दल भए पनि गण्डकी प्रदेशमा सत्ता गुमाइसकेको छ । मधेशमा प्रचण्डकै कारण जनमतलाई नेतृत्व सुम्पिनु पर्दा कोशीमा के हुन्छ ? यसै भन्न सकिने अवस्था छैन । त्यसमाथि जनमत र नागरिक उन्मुक्ति पार्टी भित्र्याउन प्रचण्डले चालेको कदमले आफ्नै भागको मन्त्रालय गुमाउनुपर्ने अर्को बाध्यता आइपरेपछि त एमालेको मुहारमा रुन्चे हाँसो देख्न सकिन्छ ।

अहिले पनि प्रचण्ड रास्वपाको विकल्पको खोजीमा छन् । संसदीय छानविन समितिबाट रवि लामिछानेसंग बढेको दूरी र कांग्रेससँगको सहयात्रा नहुँदा उनी चुनौतीमा छन् । जुन जोखिम आफूलाई किनाराकृत गर्नेसम्मकै हुने डरमा प्रचण्ड रहँदा साना दलदेखि स्वतन्त्र सांसद अमरेशकुमार सिंह, प्रभु शाहसम्मलाई समेट्ने उनको रणनीति देखिन्छ । तर ओली भने रास्वपाको महत्व कम हुँदै गए प्रचण्डलाई घेराबन्दी गर्न नसकिने बुझाइमा देखिन्छन् । अर्कातर्फ रविको आक्रमकताले रास्वपा र प्रचण्ड नै सकिने फाइदा उनले देखेको हुनपर्छ ।


त्यस्तै हिजो सत्ताकै लागि रविलाई बोकेको फाइदा समेत उठाउनुपर्ने छ भने धेरैलाई बोक्नुभन्दा एउटैलाई बोक्न सजिलो हुने ओलीको बुझाई अस्वभाविक छैन । तर स्वभावतः नझुक्ने बरु भाचिने ओलीलाई छोडिएको मन्त्रालयमै चित्त बुझाउन बाध्य पारेका प्रचण्डले बालेनबाट समेत पेलिएका ओलीलाई साइजमा ल्याउने यो भन्दा उपयुक्त समय नआउन सक्छ । जसको भरपुर रणनीतिक उपयोगमा उनी लाग्दा आगामी निर्वाचनसम्म बोकेर प्रयोग गर्ने र त्यसपछि एक्लाएक्लै चुनाव लड्नुपर्ने अवस्था सिर्जना गर्ने ओली दाउको पनि भलीभाती ज्ञान छ । फलतः कसले कसलाई प्रयोग गर्ने भन्ने प्रतिस्पर्धामै रहेका उनीहरु विश्वास नभएर पनि बाध्यताले बस्नै पर्ने अवस्थामा छन् । जुन जबरजस्तीको सम्बन्धको सहजता विभिन्न बेलामा बाहिर आइरहेको छ ।

पहिलेबाटै काम गर्न नसक्ने तर त्यसको दोष मन्त्रीलाई लगाउने प्रचण्डको स्वभाव नै हो । यसैको पुनरावृत्ति स्वरुप प्रचण्ड मन्त्री हेरफेरको चर्चामा लागि सकेका छन् । जब कि एमाले त्यसका लागि तत्काल तयार नदेखिँदा केही नेताहरु मन्त्रीको हैन प्रधानमन्त्रीकै विकल्प खोज्ने दिनसमेत आउनसक्ने धम्की दिन थालिसकेका छन् । यो समेत उनीहरुको शैली र प्रवृत्तिमा रहेको भिन्नताको अर्को उदाहरण बन्दा यो गठबन्धन वाम एकतासम्म नजाने त ओलीले पहिल्यै प्रष्ट पारिसकेका छन् । जसले घेराबन्दी तोड्न ओलीको सपना र प्रधानमन्त्री निश्चिन हुने प्रचण्डको आशमै गठबन्धन तितोमिठो पचाउने काम भइरहेको छ । जुन कतिदिन चल्छ यसै भन्न गाह्रो छ ।