Breaking

रविलाई जितेको कांग्रेस असफल, देउवाको सत्ता खोजीमा गगन–विश्व बाधक, उपेन्द्र र लिङ्देन रिसाए


काठमाडौँ – सत्ताविहीन छटपटिका बेला पाएको सहकारी ठगीको मुद्दा सम्झौतामा टुङिगएपछि नेपाली कांग्रेस अहिले शान्त छ । यसैले सत्ता गठबन्धन टुटाउने उसको सपनामा पानी मात्रै खनिएको छैन कार्यकता सडकमै आइपुगेको र पार्टीमा देखिएको एकताको अवस्थासमेत खलबलिएको छ । त्यस्तै काण्डहरु साटेको आक्षेपसमेत खेपिरहेको कांग्रेस अहिले एजेण्डाविहीन कै अवस्थामा देखिन्छ ।

बिहीवार प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सत्तारुढ एमाले र रास्वपामाथि खनियो । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहप्रति एक ढिक्का देखिएका कांग्रेस नेताले गिरीबन्धु र सहकारी कै मुद्दा उठाए । बैठकमा चर्को सुनिएका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसमाथि आक्षेप लगाएको भन्दै गिरीबन्धु टी इस्टेट र सहकारीको विषय उठाँउदै गृहमन्त्रीमाथि आक्रोश पोखे । तर त्यो कांग्रेसको बोली हो या महामन्त्रीको व्यक्तिगत तुष यसै भन्न नसकिने अवस्था रहँदा शर्मालाई राम्रोसँग थाहा छ यो एजेण्डा हुन सक्दैन । हुन पनि सहकारी ठगीको विषयलाई एजेण्डा बनाएको कांग्रेसले त्यसलाई स्थापित गर्ने अवस्था बनाइसकेको थियो । सडकमै नेता कार्यकर्ता आइसकेका थिए भने पार्टी एक ढिक्का हुन थालेको बताइएको थियो ।


त्यस्तै कसैगरी उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम राख्न सके सत्ता नै उलटफेर हुने उसको सपना समेत पूरा हुने थियो । तर तयारी बिनै सहकारी ठगीको विषय उठाएको उसले संसदीय छानविन समिति त बनाउन बाध्य पार्यो । तर सेफ ल्यान्डिङ जस्तो बनेको यो सम्झौतामा समितिकै कारण उसले सहकारीको विषयमा बोल्न सक्दैन । त्यस्तै गिरीबन्धु टि इस्टेटको विषयमा समेत संस्थापन पक्षले इन्कार गरिरहँदा महामन्त्रीको भिडाईले केही नहुनेमा स्वयम गगन थापा र विश्वप्रकाश नै प्रष्ट छन् । फलतः धुव्रीकरण उत्कर्षमा पुग्दा त्यसले पार्ने राजनीतिको खराब प्रभाव कम गर्न र ओलीलाई हराउन रविसँग सम्झौता गर्ने बाटोले कांग्रेसलाई अहिले एजेण्डाविहीन बनाएको छ ।

अझ गजब त के छ भने सडकमै आइपुगेका कार्यकतालाई समेत उनीहरु सम्झौताको औचित्य पुष्टि गर्न सक्ने अवस्थामा छैनन् । त्यस्तै मुद्दा उठाएर पछि हटेको भन्दै राप्रपा रिसाउँदा एकजुट हुँदै गएका विपक्षी दलहरुसमेत अहिले छिन्नभिन्न छन् । बरु बुढानीलकण्ठ प्रयोग गरेर सत्ता गठबन्धन माधवकुमार नेपालले आफ्नो प्रभाव बढाएका छन् । यता देउवासहित कै बैठक बसाएर बालेन थर्काउन ओलीले पनि प्रयोग गर्दा तीनै ओली थर्काउन र गठबन्धनमा सन्तुलन मिलाउन प्रचण्डले पनि प्रयोग गर्न भ्याइसकेका छन् ।

यता पार्टी फुटाएपछि साथ दिने मुडमा पुगेका जसपाका अध्यक्ष उपेन्द्र यादवलाई नै पनि कसरी कांग्रेसलाई साथ दिने भन्ने दोधार देखिन थाल्दा जनमतलाई मधेशमा भित्र्याएर अर्को प्रहार सत्ता गठबन्धनले गरिसकेको छ । त्यस्तै मधेशमा उपेन्द्रको हारगुहारलाई न्याय दिन नसकेको कांग्रेस गण्डकी आफ्नो सरकार कसरी बचाउन्छ ? अर्को प्रश्न रहँदा कांग्रेस अब ठूला दल मिलेर राष्ट्रिय सहमतिको सरकार बनाउने मात्रै विकल्प भएको बुझाइमा पुगिसकेको देखिन्छन् । जुन सुन्दा लोकप्रिय लागे पनि के का लागि एक ठाँउमा उभिने ? सत्ताकै लागि मात्र हो भने किन एक ठाउँमा उभिने भन्ने प्रश्नको जवाफ कांग्रेससँग छैन ।

अहिले पनि देउवा पार्टीको भन्दा सत्ताको चिन्तामा छन् । जसका लागि उनले अघि सारेका सिटौला–गगन अस्त्रदेखि शेखर राजमार्गसम्मै फ्लप भयो भने देउवापछिको उत्तराधिकारी को ? र कसरी टिम बनाउने भन्नेमा नेताहरुको ध्यान जाँदा पार्टी भने लथालिङ छ । यसले न त सत्तामा फर्किन सक्ने न त पार्टी बलियो बनाउन सक्ने दोहोरो घाटामा कांग्रेस रहँदा ओली प्रचण्डको फुटको भाकल गर्ने बाटोबाहेक अरु विकल्प बन्द छन् । उद्यपि रास्वपा रिसाएको तथा ओलीको छुच्चो बोलीले उत्पन्न गरेको चिसोपनालाई प्रयोग गर्न सक्ने झिनो आशासमेत देखिँदा यसका लागिसमेत पर्खिने र हेर्ने बाध्यतामै कांग्रेस देखिन्छ ।