Breaking

सत्ता जोगाउन मन्त्री फेर्दै प्रचण्ड, नारायणकाजीको पद धराप, रवि आफैँ छोड्दै ?


काठमाडौँ – प्रधानमन्त्री बनेको १७ महिनामा १८ पटक मन्त्री हेरफेरेका पुष्पकमल दाहाल प्रचण्ड फेरि मन्त्री हेरफेर गर्ने तयारीमा छन् । यसपटक आफ्नै पार्टीबाट लामो समयदेखि मन्त्री बनेकाहरुलाई हटाउने तयारी गरेका प्रचण्डले सरकार टिकाउन नागरिक उन्मुक्ति र जनमतलाई पनि सरकारमा भित्र्याउँदैछन् । कांग्रेससँगको गठबन्धनमा मन्त्री फेर्न नमानेकै कारण समीकरण बदलेका प्रचण्ड एमालेसँग मिल्दा पनि हातलागी शून्य छ ।

गठबन्धनका दलहरुबाटै पेलानमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरि मन्त्री हेरफेर गरेर समृद्धि ल्याउने भाषा बोल्न थालेका छन् । विगतमा मन्त्रीहरुले काम गर्न नदिएकै कारण गठबन्धन फेर्नेसम्मको निर्णय लिएका प्रचण्ड फेरि मन्त्री फेर्ने तयारीमा लागेका हुन् । आगामी लटमा आफ्नै पार्टीका अधिकांश मन्त्री फेर्ने तयारीमा प्रचण्ड जुटेका छन् । तर विगतमा अर्थमन्त्री रहेका डा. प्रकाशशरण महतले एकलौटी गरेको आरोप प्रचण्डले लगाएका थिए । अहिले पनि अर्थमन्त्री वर्षमान पुन र एमालेबीच सार्वजनिक रुपमै असन्तुष्टि पोखिन थालेको छ । बजेट निर्माणका क्रममा समन्वय नभएको भन्दै माओवादीको मात्रै अनुहार देखेका ओलीलाई पुनले बजेटमा जनताको अनुहार रहेको सम्झाइदिएका छन् ।

तर प्रचण्ड भने पुन बाहेक माओवादीका अरु सबै मन्त्री हटाउने तयारीमा देखिन्छन् । मन्त्री पुनलाई पनि हटाउन एमालेले दबाब दिनसक्ने विकल्प बाँकी नै रहँदा प्रचण्डले तीन पटक समीकरण फेर्दा पनि जबरदस्त अड्डा जमाएर बसेका उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, सञ्चारमन्त्री रेखा शर्मा, उर्जामन्त्री शक्ति बस्नेतलाई भने आउट गर्ने तयारीमा जुटेका छन् । एमालेसँगको गठबन्धनमा फर्किदासमेत निश्चित नेताहरुलाई मात्रै मौका दिएको भन्दै नेताहरुको असन्तुष्टि छताछुल्ल भएको थियो । नयाँ आएकामा पनि कार्यसम्पादनका आधारमा पर्यटनमन्त्री हितबहादुर तामाङलाई समेत फेर्ने तयारी प्रचण्डको छ । पछिल्लो समय हिसाबकिताब मिलाउन नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठ चौधरीलाई पर्यटनमन्त्रीको जिम्मेवारी दिने वचन प्रचण्डले दिइसकेका छन् ।

अहिले दुई मन्त्रालय खाली भए पनि जनमत पार्टीलाई मिलाउनुपर्ने बाध्यतामा रहेका प्रचण्ड मन्त्री तामाङलाई मात्रै हटाउने तयारीमा थिए । तर एक मन्त्रीलाई मात्रै हटाउँदा गलत सन्देश जाने भएकाले माओवादीले अर्थमन्त्रीबाहेक सबैलाई फेर्ने तयारीमा जुुटेको हो । यसबारे पार्टी र गठबन्धनमा भने औपचारिक छलफल भएको छैन । बजेट पारित गराएर मात्रै मन्त्री फेर्ने कुरा चलाउने तयारीमा प्रचण्ड छन् । एमाले पनि आफूले पठाएका मन्त्रीहरुको कार्यसम्पादनमा सन्तुष्ट छैन । कानुनमन्त्री पदम गिरी बाहेकका सबै मन्त्रीहरु रेड जोनमा रहेको चर्चा एमाले वृत्तमा छ । जनमत पार्टीलाई मनाउन एमालेबाट पनि एक मन्त्री फिर्ता बोलाउनुुपर्ने बाध्यतामा प्रचण्ड छन् ।

अहिले रास्वपा पनि आफ्नो हनिमुन पिरियड समीक्षाको तयारीमा छ । गठबन्धन सरकार, नेताहरु आफैँ विभिन्न काण्ड र प्रकरणमा मुुछिएकाले कामभन्दा बढी विवादमै समय बितेको आन्तरिक विश्लेषण रास्वपामा छ । मन्त्री नफेरे पनि सरकारमा निरन्तरता दिने वा बाहिर निस्किने भन्नेबारे समीक्षा गर्ने तयारीमा रास्वपा छ । हुन त मन्त्री फेरेरमात्रै प्रधानमन्त्रीको हुटहुटीले पूर्णता नपाउने स्पष्ट हुँदा प्रचण्डलाई फेरि आफ्नो कार्यशैली नफेरी मन्त्री फेर्दा मात्रै समस्याको समाधान हुन्छ भन्ने प्रश्नले जेल्ने निश्चित छ । किनभने पर्यटनमन्त्री तामाङले काम नगरेको भन्दै रञ्जितालाई ल्याइँदा कांग्रेससँगको समीकरणका बेला कार्यसम्पादन कमजोर रहेका मन्त्रीको सूचीमा रञ्जिता पनि थिइन् ।

गत फागुनमा समीकरण फेरे यता दुुई राज्यमन्त्रीको सिट अझै पनि खाली छ । जुन सत्ता छाड्नेहरुलाई मन्त्रालय उपहार दिनका लागि राखिएको प्रस्ट हुँदा तीन उथलपुथलकारी कदमले १८ पटक मन्त्रिपरिषद फेर्न प्रचण्ड बाध्य भइसकेका छन् । मन्त्रीकै कारण कांग्रेससँगको गठबन्धनमा काम गर्न नपाएको भन्दै समीकरण फेरेका प्रचण्डमाथि मन्त्री हेरफेरपछि भएका कामको फेहरिस्त जनताले माग्न नपाउँदै फेरि त्यही कारण देखाएर मन्त्री फेर्ने तयारी भइरहेको हो । सरकार, सरकार टिकाउनमै सीमित बनेका बेला अस्थीरताको जालोमा मन्त्री फेरेर समृद्धि ल्याउनु गफ मात्रै हो ।