Breaking

संसदीय प्रक्रियामा झुक्किए सभामुख, एउटै सम्झौता दुई पटक पारित


काठमाडौँ – सभामुख देवराज घिमिरे संसदीय प्रक्रियामा झुक्किँदा अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए)को स्थापनासँग सम्बन्धित सम्झौता एकै दिन प्रतिनिधि सभाबाट दुई पटक पारित हुन पुगेको छ ।

प्रतिनिधि सभामा सुरुमा सभामुख घिमिरेले ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्ति बस्नेतलाई सम्झौताको प्रावधानमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिए । मन्त्री बस्नेतले छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे ।

त्यसपछि उक्त प्रस्तावलाई सभामुखले निर्णयार्थ प्रस्तुत गरे । सभाले सर्वसम्मत स्वीकार गर्‍यो । त्यसपछि सांसदहरूले सम्झौताका प्रावधानहरूमाथि धारणा राखे ।सांसदहरूले धारणा राख्नेक्रम सकिएपछि सभामुख घिमिरेले मन्त्री बस्नेतलाई सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिन समय दिए ।

मन्त्रीले जवाफ दिइकेपछि सभामुख घिमिरेले सम्झौता अनुमोदन गर्ने प्रस्ताव पेस गर्न समय दिनुपर्ने थियो । अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने समय नै नदिएर सभामुख घिमिरेले सिधै निर्णयार्थ पेस गरे । सभामुखले हुन्छ र हुन्न भन्न लगाएपछि बहुमत सांसदहरूले हुन्छ भने । नेमकिपाका सांसद प्रेम सुवालले हात उठाएर हुन्न भने ।

त्यसपछि सभामुख घिमिरेले सम्झौता अनुमोदन गरियोस् भन्ने प्रस्ताव पारित भएको घोषणा गरे । जबकि अनुमोदन गरियोस् भन्ने प्रस्ताव नै पेस भएको थिएन । संसद् सचिवालयका कर्मचारीहरूले त्रुटि भएको बताए । त्यसपछि सभामुख घिमिरेले त्रुटि भएको भन्दै फेरि प्रक्रिया अगाडि बढाए ।