Breaking

सहकारी ठग जोगाउन शीर्ष नेता मिले, रवि अदालतको कठघरामा, प्रचण्डमाथि आक्रोश (भिडियोसहित)


काठामाडौँ— समग्र सहकारीको समस्या समाधानका लागि संसदीय छानविन समिति गठन गरिएको सरकारको दाबीका बीच बचतकर्ताहरु फेरि सडकमा आएका छन् । यसअघि गरेका बाचा पूरा नगरेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कालो झण्डा नै देखाइयो । यसले समितिलाई राजनीतिक दलहरुले अनुमोदन गरे पनि पीडितहरुले अनुमोदन नगरेको सन्देश प्रवाह भएको छ ।

‘अब सहकारीमा जीबी, रवि होस् कि छवि, जो भए पनि छुट्दैनन् । गगन थापासँग पनि प्रमाण मागिन्छ । महान्यायाधीवक्ता र आईजीपीसम्मलाई बोलाएर बयान लिने गरी समिति बनाएको’ भन्दै दलहरुले सत्ता ढल्नेसम्मका राजनीतिक समस्या र प्रतिष्ठाको विषय बनाएर गरेको राजनीतिक दन्तबझानमा पूर्णविराम लाग्यो । यो समितिले सहकारी पीडितको बचत फिर्ता गर्छ, गर्दैन थाहा छैन तर सहकारी पीडितले भने हिसाबकिताब खोज्न थालिसकेका छन् । जीबी राई पक्रने भन्दै गत चैतमा पोखराका सहकारी पीडितलाई आश्वासन दिएर काठमाडौं फर्किएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबार रित्तै हात फेरि पोखरा पुग्दा पीडितहरुले कालो झण्डा देखाएर आक्रोश पोखे । सूर्यदर्शन सहकारीका पीडितहरुले न्याय खोज्दै पोखरा सभागृह अगाडि प्रधानमन्त्रीको बाटो छेके । त्यसक्रममा ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । जसमध्ये प्रहरीको कुटाइबाट दुई जना घाइते भएका छन् । यो धरपकडले राज्य ठगहरुको पक्षमा रहेको बुझेका पीडितले न्याय नदिने भए गोली ठोक भन्दै छाती थापिरहेका थिए ।

सहकारी पीडितका समस्या समाधान र गृहमन्त्री रवि लामिछानेलाई महान्यायाधिवक्ताले दिएको क्लीन चिटमा बरु सर्वोच्च अदालतले मुद्दामा अग्राधिकार दिएको छ । तर, सरकारले ध्यान दिएको छैन । फलतः प्रतिपक्षको सरकार ढाल्ने मनसाय र गृहमन्त्रीले शक्तिको दुरुपयोग गरेको देखेका पीडितहरुले भने सरकारको छानविन समितिमाथि समेत विश्वास नरहेको संकेत गरेका छन् । यदि समितिले पीडितका पक्षमा काम गर्ने विश्वास बचतकर्तामा थियो भने सडकमा उत्रिनुको अर्थ के ? तर प्रधानमन्त्रीलाई कालो झण्डा देखाइए लगत्तै कोठा खोज्न भौतारिएको छानविन समितिको पहिलो बैठक बसेर काम सुरु गरेको जनाउ दिएको छ ।

महान्यायाधिवक्ता दिनमणी पोखरेल र नेपाल प्रहरीका आईजीपी बसन्त कुँवरले सफेद झुट बोलेर गृहमन्त्री लामिछानेलाई क्लिन चिट दिन खोज्दा सूर्यदर्शनका बचतकर्ताहरुले दिएको जाहेरी नै सार्वजनिक भएको छ । २५ जना पीडितको नामबाट दर्ता भएको किटानी जाहेरीमा गृहमन्त्री लामिछानेको वतनसमेत खुलाइएको नाम एक नम्बरमै उल्लेख छ । जुन माघ २२ गते नै कास्की प्रहरीमा पेस गरिएको थियो । तर कतिपयले भने समितिले नै प्रमाण लुकाउने आशंका गरिरहेका छन् । किनभने अहिले संकटग्रस्त घोषणा भएका अधिकांश सहकारीमा कांग्रेस र त्यसपछि एमालेकै निकटकाहरुले घोटला गरेका छन् । यसले कांग्रेस आफैँले सहकारी मुद्दामा सेफ ल्याण्डिङ खोज्ने र स्वभावतः सूर्य थापा सभापति भएकाले प्रतिवेदन नै सहकारी ठगहरुको पक्षमा आउने सम्भावना बढेको विश्लेषण भइरहेको छ । पीडितकै पक्षमा प्रतिवेदन आए पनि कार्यान्वयन गर्ने निकाय गृहमन्त्रालय नै भएकाले पीडितका समस्या जहाँको त्यही रहने जोखिम बढ्दैछ ।

समितिमाथि नै विश्वास नगरी सहकारी पीडितहरु सडकमा आउनुलाई सरकारले सामान्य आक्नु हुँदैन । यसअघि पनि पीडितहरुले सरकारलाई पटक–पटक सहकारी समस्याबारे ध्यानाकर्षण गराइसकेको र नीतिगत तवरबाट समाधानको आश्वासन पाइसक्दासमेत सरकारले तदारुकता नदेखाए आन्दोलनको बाढी रोक्ने सामथ्र्य राज्यसँगसमेत नहुन सक्छ ।