अन्तर्राष्ट्रिय

सरकार बनाउन मोदी र राहुलको टक्कर, नितिश र नायडु बार्गेनिङमा, अस्थिरतामा फस्ने पक्का (भिडियोसहित)


काठमाडौँ— लोक सभा चुनावको नतिजा लगत्तै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पदबाट राजीनामा दिएका छन् । राष्ट्रपति द्रौपदी मुर्मुले उनको राजीनामा स्वीकृत गरेकी छन् । मन्त्रिपरिषद बैठकपछि लोकसभा विघटनसँगै नयाँ सरकार गठनको बाटो खुला भएको छ । लोक सभा चुनावमा कुनै पनि दललाई बहुमत प्राप्त नभएपछि गठबन्धनको बलमा सरकार निर्माण गर्नुको विकल्प छैन । गठबन्धनको जोडघटाउ मिलाउन सके सत्तारुढ भाजपा वा विपक्षी कांग्रेसलेसमेत सरकार गठन गर्न सक्ने अवस्था छ । कुनै पनि दलले बहुमत नल्याएपछि त्रिशंकु संसदमा कसको सरकार बन्ला ? कस्तो छ अंकगणित ?
‘अब कि बार, चार सय पार’ नारा बोकेर नरेन्द्र मोदी १८ औँ लोकसभा चुनावमा होमिएका थिए । भारतीय जनता पार्टी (भाजपा) एक्लैले ३ सय ७० र भाजपाले नेतृत्व गरेको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) ले चार सय सिट पार गर्ने दाबी गरिएको थियो । चुनावी परिणाममा भने मोदी नेतृत्वको भाजपा २ सय ४० सिटमा खुम्चिन पुगेको छ । सन् २०१९ को चुनावमा ३ सय ३ सिट जितेको भाजपाले २०२४ को चुनावसम्म आइपुग्दा ६३ सिट गुमाएको छ । अघिल्लो चुनावमा ५२ सिट जितेको भारतीय कांग्रेसले यसपटक ९९ सय सिटमा जित हात पारेको छ ।

विगतमा मोदीबाट बडारिएका कांग्रेस, अखिलेशहरु थप सशक्त रुपमा उदाए । भाजपा र कांग्रेसलाई टक्कर दिँदै समाजवादी पार्टी, अल इन्डिया त्रिणमुल पार्टी लगायतको जबरजस्त उदय भएको छ । ५ सय ४३ सदस्यीय लोकसभामा सरकार बनाउन सामान्य बहुमत २ सय ७२ सिट आवश्यक पर्छ । भाजपा बहुमतबाट ३२ सिटले पछाडि छ । लगातार दुई कार्यकाल बहुमतको सरकारको नेतृत्व गरेका मोदी पहिलो पटक गठबन्धनको भर पर्नुपर्ने अवस्थामा पुगेका छन् । विकास निर्माणलाई तीव्रता दिँदै विश्वमा भारतको छुट्टै पहिचान खडा गरेका मोदीले पाएको चुनावी मत परिणामले धेरैलाई झस्काएको छ । अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा गरेर सिंगो भारतमा रामवाण हुने विश्वास भए पनि भोटमा उनको प्रतिष्ठा भेटिएन । अयोध्या, यूपी, विहार लगायत महत्वपूर्ण क्षेत्रमै मोदीले धक्का झेल्नुप¥यो ।

भाजपाको एनडीए गठबन्धनले २ सय ९३ सिट जितेको छ । एनडीए गठबन्धनको अंकगणितका आधारमा मोदीले सहजै सत्तामा कमव्याक गर्नेछन् । मोदीको भविष्य अब १६ सिट रहेका चन्द्रबाबु नायडु नेतृत्वको तेलगु देशम पार्टी र १२ सिट संख्या रहेको नितिश कुमारको जनता दल युनाइटेडमा निर्भर रहनेछ । प्रधानमन्त्री मोदीकै कारण एनडीए छाडेका नायुडा चुनावको मुखैमा पुनः एनडीएमा फर्किएका थिए । मोदी र अमित शाहसँगसमेत नायुडाको सम्बन्ध त्यति राम्रो नरहेको पृष्ठभूमि छ । नितिश कुमारले मोदीकै कारण २०१३ मा एनडीएबाट अलग भएका थिए । नितिशलाई साथमा लिएर सत्ता हाँक्नु मोदीका लागि फलामको चिउरा चपाउनु सरह हुनेछ ।

नितिश कार्डको प्रयोग भारतीय कांग्रेसले नगर्ला भन्न सकिन्न । अझ आफैँ नेतृत्व नगर्ने तर सानो दललाई नेतृत्वमा ल्याएर सरकार गठन गर्ने कांग्रेसको संकेतले नितिश हौसिएको भारतीय सञ्चारमाध्यमहरुले विश्लेषण गरेका छन् । भखरै सम्पन्न चुनावमा साना र क्षेत्रीय दलहरुको जबरजस्त उदयको असरमा मोदी परेका छन् । विगतको चुनावमा आफैँले बढारेका भारतीय कांग्रेसदेखि साना र क्षेत्रीय दलहरुबाट मोदीको दल नै यसपटक बढारिन बाध्य भयो । सत्ताको बलामा गरिएका कतिपय घटनाले मोदीको लोकप्रियतामाथि धक्का लागेको विश्लेषण भइरहेको छ । विपक्षी दलको बैंक खाता रोक्का गर्नेदेखि विपक्षी नेतालाई जेल हाल्नेसम्मका गतिविधिले मोदीमाथि चुनावको असर परेको देखिएको छ । भारतको त्रिशंकु संसद रहने तय भएसँगै गठबन्धन सरकार गठनको रस्साकस्सी सुरु भएको छ । सरकार गठनका लागि नेतृत्व हत्याउन चुनावी समीकरण फुटाउन अंकगणितीय जोड घटाउ पनि तीव्र बनेको छ । यद्यपि, भाजपा नेतृत्वको सरकार गठनको सम्भावना धेरै रहेकाले मोदी तेस्रो पटक प्रधानमन्त्री बन्ने लगभग निश्चित छ ।