Breaking

सत्तादेखि पार्टीकै घेराबन्दीमा माधव, पार्टी फुट्नेदेखि अध्यक्ष हटाउनेसम्मको जोखिम, घनश्यामको दाउ (भिडियोसहित)


काठमाडौँ— माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीको १० औँ महाधिवेशन नजिकिएसँगै आन्तरिक राजनीतिमा पनि रस्साकस्सी बढेको छ । नेता–कार्यकर्ता महाधिवेशनको तयारीमा होमिँदा केन्द्रीय नेताहरु नेतृत्व हत्याउन अनेक तिकडमबाजीमा भ्याईनभ्याइ छन् । पार्टी जोगाउनै हम्मेहम्मे परेका बेला हुन लागेको महाधिवेशनले पार्टी संगठन र नेता कार्यकर्तामा कस्तो रक्तसञ्चार गर्छ ? बहस र चासो बढ्दो छ । साथै शीर्ष नेतृत्वको टकराव र नेताहरुको दौडधुपले महाधिवेशनको सरगर्मी ह्वात्तै बढेको छ ।

सत्ता गठबन्धनभित्रको पेलानले रनाहामा परेका माधवकुमार नेपाललाई नजिकिँदै गरेको पार्टीको महाधिवेशनले थप दबाब परेको छ । सत्ता घटक दल भएर पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हेपाह प्रवृत्तिले बढो सकस झेलिरहेका नेपाल पार्टीभित्र आफ्नै नेताहरुको झेलले सत्तासमेत गुम्ने भयमा छन् । बुढानीलकण्ठको आडमा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई घुक्र्याउँदै सत्ता राजनीतिलाई साइजमा राखिरहेका नेपालमाथि महाधिवेशनले पार्टीको अध्यक्ष पद गुम्ने चिन्ता थप बढाएको छ । पार्टीभित्रैका नेताहरुको घुर्कीले उनलाई सकस परिरहेको छ । ओलीसँगको राजनीतिक, वैचारिक तथा सैद्धान्तिक कुरामा विमती बढेपछि एमाले नै टुक्राएका नेपाललाई अहिले पार्टी जोगाइ राख्न पनि हम्मेहम्मे पर्न थालेको छ । आम निर्वाचनमा राष्ट्रिय पार्टी नै बन्न नसक्दा नेताहरु हतोत्साहित मात्र भएका छैनन् कतिपय नेताहरु एमालेमै फर्किने मनसायका साथ संवादमा छन् ।

एकीकृत समाजवादी फुटाउन एमाले अध्यक्ष ओलीले पनि थप मलजल गर्नेदेखि गोप्य रुपमा आफू निकट मान्छे परिचालन गरेको चर्चा भइरहेको छ । यस्तो अवस्थामा पार्टी भर्खरै बन्दै गरेको तर्क गर्दै सकेसम्म भोटभन्दा पनि टालटुल गरेर महाधिवेशन फत्ते गर्ने माधवको रणनीति छ । तर माधवको यो योजनालाई पार्टीकै नेताहरुले विफल बनाउने देखिन्छ । आगामी असार १६ देखि २० गतेसम्म हुन लागेको पार्टीको १० आँै महाधिवेशनमा पार्टीको नेतृत्वका लागि सम्मानित नेता झलनाथ खनाल आकांक्षी देखिएका छन् । औपचारिक रुपमा अध्यक्ष पदका लागि नेपालको प्रतिस्पर्धीको रुपमा खनालले आफूलाई प्रस्तुत नगरे पनि सोही अनुरुप आन्तरिक तयारीमा रहेको उनी निकटहरुको भनाइ छ । यद्यपि, खनालले यसबारे सार्वजनिक रुपमा भने केही खुलाएका छैनन् ।

पूर्वप्रधानमन्त्री एवं पार्टीका सम्मानित नेता खनाल असारमा हुने महाधिवेशनमार्फत पार्टीको नेतृत्व सम्हाल्न चाहन्छन् । एमालेबाट छुटिएर पार्टी निर्माण गर्न माधवलाई सघाए पनि सुरुवातदेखि नै पार्टीभित्रको राजनीतिक दस्तावेजदेखि पार्टी संगठन विस्तारसम्मै माधव र झलनाथबीच टकरावपूर्ण सम्बन्ध छ । नजिकिँदै गरेको महाधिवेशन र बालुवाटार, बुढानीलकण्ठ रेसले नेपाल र खनालबीच अहिले पानी बाराबारको अवस्था देखिन्छ । खनाल औपचारिक रुपमा अध्यक्षको दौडमा उत्रिएपछि उनीहरुबीचको टकराव थप छताछुल्ल हुने पक्का छ । नेपालले अध्यक्षमा आफू दोहोरिने संकेत गर्दा खनालले पनि दाबी प्रस्तुत गरिसकेका छन् । यता शीर्षको तानातानले पार्टीमा तनाव बढिरहेका बेला दोस्रो तहका नेताहरु आफैँ विकल्प बन्ने दौडमा छन् । अध्यक्ष नेपाल र खनाललाई भिडाएर महासचिव घनश्याम भुसाल आफ्नो दाउ हेरिरहेका छन् । दोस्रो तहका नेताहरु भुसाललाई विकल्प मान्न तयार देखिन्छन् । यदि त्यसो नभए भुसाल कसै गरी महासचिवमै निरन्तरता दिनेमा स्पष्ट छन् । भुसालको पुनरागमनले ओझेलमा परेका जगन्नाथ खतिवडा महासचिवको आकांक्षी हुन् । महासचिव बनेर फड्को मार्ने तयारीमा खतिवडा छन् । महाधिवेशनमा नेताहरुले आकांक्षा राख्नु स्वभाविक भएको नेताहरुकै तर्क छ । सकेसम्म सहमतिमै नेतृत्व चयन गर्ने, नभए लोकतान्त्रिक विधिमा जाने नेताहरुकै भनाइ छ ।

पार्टी संगठनमा अध्यक्ष नेपालको राम्रो पकड छ । त्यसैले पनि नेपालले अध्यक्षमा दोहोरिन आफूलाई सहज हुने ठानेका छन् । तर, पार्टी भित्रको बढ्दो असन्तुष्टि र गुनासो प्रति भने उनले कमै ध्यान दिने गरेको आरोप लाग्ने गरेको छ । जसका कारण आगामी महाधिवेशनमा उनले चुनौतीको सामना गर्नु पर्नेदेखिन्छ । तर, नेतृत्व चयनको विषय हुने चुनावलाई सामान्य लिनु पर्ने विश्लेषकको तर्क छ ।

अध्यक्ष नेपालमाथि एमालेबाट छुट्टिएर नेकपा एकीकृत समाजवादी पार्टी गठन गर्नुको औचित्य नै अहिलेसम्म पुष्टि गर्न नसकेको भनेर आलोचना हुने गरेको छ । साथै, पार्टीको अस्तित्वमाथि नै संकट आउन लागेको विश्लेषण भइरहेको अवस्थामा हुने लागेको महाधिवेशनले कस्तो किसिमको भावी रणनीति र कार्यदिशा तय गर्छ ? त्यो भने कुर्नै पर्नेहुन्छ ।