देश

शान्ति प्रक्रियाको बाँकी काम अबिलम्ब टुंग्याउनुपर्छ :सांसद सिटौला


काठमाडौँ— नेपाली काँग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले शान्ति प्रक्रियाका बाँकी कामहरु अविलम्व टुंग्याउनुपर्ने बताएका छन् ।

आज राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद सिटौलाले शान्ति प्रक्रियाको बाँकी कामहरु अविलम्व टुंग्याउनुपर्ने बताएका हुन् ।

उनले भने, ‘ म सरकारको ध्यान आकृष्ट गराउन चाहान्छु, यो विषयलाई मूल प्राथमिकताको आधारमा सरकारले यसलाई टुंग्याउनका लागि प्रयास गरोस् । यसमा प्रतिपक्षमा रहेका जतिपनि हामीहरु छौँ, रचनात्मक सहयोग गर्न चाहन्छौँ । गहिराईमा पुगेर, फेरि पनि नबल्झिने गरी यसलाई टुंग्याउनुपर्छ । ‘

उनले तत्कालिन राज्य पक्ष र विद्रोही पक्षको चेपुवामा परेका नागरिकहरुले अझैपनि न्याय नपाएका भन्दै उनीहरुलाई न्याय दिनका लागि अरु ढिलो गर्नु नहुने बताए ।

‘माओवादीका लडाकुले सुराकीको शंकामा पक्रेर लगेका मान्छेको घटना होस् । चाहे सेनाले यसले माओवादीलाई सहयोग गर्‍यो है भनेर गाउँबाट पक्रेर लिएर गएको मान्छे होस्, ‘ सिटौंलाले भने, ‘यी विषयमा हामीले समयमै न्याय दिन सकेनौँ भने । विस्तृत शान्ति सम्झौताको एउटा मूल राजनीतिक पक्ष संविधानसभाबाट संविधान निर्माण गर्ने, अर्को द्वन्द्वपीडितहरुलाई न्याय दिने नै हो ।’

उनले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न नसके राजनीतिक दलहरु राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा विवादको घेराबाट मुक्त हुन नसक्ने बताए ।

उनले भने, ‘ सरकारले यसलाई प्राथमिकतामा राख्नुभएन भने, समयमै पुरा गर्न सकेनौँ भने क्रोनिक हुँदै जाने भयो । सिंगो नेपालका राजनीतिक दलहरु विवादको घेराबाट मुक्त हुन सक्दैनौं। राष्ट्रिय घेराबाट, अन्तर्राष्ट्रिय घेराबाट ।’ उनले यस विषयलाई टुंग्याउन नसकेमा दलहरु बिचको विश्वास संकटग्रस्त बन्दै जाने बताए । उनले शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न सरकारले प्राथमिकता दिनुपर्ने भन्दै प्रतिपक्ष दलहरु पनि रचनात्मक सहयोग गर्न तयार रहेको बताए ।