Breaking

प्रचण्डसँग निहुँ खोज्दै ओली, रवि पनि टाढिए, काण्डको ढाकछोप गर्ने चौतारो बालुवाटार


काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफ्नै सत्ता सहयात्रीहरुको दलदलमा परेका छन् । काम गर्न नपाएकाले गठबन्धन फेर्न बाध्य बनेको बताउने प्रचण्ड अहिले कामै नगरी सहयात्रीका मुद्दा मिलाउनमै केन्द्रित देखिएका छन् । अर्थात चौतर्फी सकसमा प्रचण्ड परेका छन् ।

काम गर्न नपाएको भन्दै गठबन्धन फेरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तीन महिना अरुको गुनासो सुन्न र बिभिन्न काण्ड दबाउनमै बितेको छ । अपेक्षित काम गर्न नसकेको गुनासो त छँदै छ । यसबाहेक सत्ताघटक नेताहरुका दाग सफा गर्न न्यायाधीशकै भूमिका खेलेको आरोपसमेत लाग्ने गरेको छ । पछिल्लो समय एकीकृत समाजवादी लगायतका दलहरुको किचकिच सुनिरहेका प्रचण्ड बजेटमै प्रमुख सत्ता घटक एमालेको असन्तुष्टीले थप दबाबमा परेका छन् । त्यसमाथि सहकारी ठगी प्रकरणमा छानविन समिति बनाएकोमा रास्वपाको गुनासोसमेत सुन्नुु परेको छ । प्रचण्ड अहिले सत्ता गठबन्धनको प्वाल एकतर्फ टाले अर्को ठाउँमा भत्किने अवस्थामा छन् ।

गठबन्धन फेरेको तीन महिना बितेपछि तीन दल (नेपाली कांग्रेस, एमाले र माओवादी) सिंहदरबारमा तीन घण्टा घोत्लिए । प्रचण्डमाथि सबै दलहरुका आ–आफ्नै गुनासा छन् । जसले प्रचण्ड आफैँ अफ्ठ्यारोमा परेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको टाउको दुखाइ काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र गिरीबन्धु जग्गा प्रकरण बनेको छ । जग्गा सट्टाभर्ना गर्न कानुन संशोधन गर्ने निर्णयमा सर्वोच्च अदालतले नै बदनियत देखाइसकेपछि ओलीसहित उनी नेतृत्वको मन्त्रिमण्डललाई कारबाहीको दायरामा ल्याउनुपर्ने दबाब बढ्दो छ ।

सहकारीसँग गिरीबन्धु साटिँदासमेत कांग्रेस र रास्वपाले नै संसदबाटै गिरीबन्धमा छानविन हुनुपर्ने बताएपछि ओली तनावमा छन् । संसदीय छानविन समिति बन्नु पहिले एमालेले गिरीबन्धुबारे कांग्रेसका महामन्त्रीहरुले लिखित माफी नमागेसम्म एमाले–कांग्रेस सम्बन्ध नसुध्रिने चेतावनी दिएको थियो । समिति बनेसँगै कांग्रेससँग यसबारे एमालेले सम्झौता परेको प्रस्ट देखिन्छ । यसको ढाकछोप गर्नुपर्ने बाध्यतामा पनि प्रचण्ड छन् । बालेनको प्रतिकात्मक कदमहरु ओलीलाई मन परेका छैनन् । उनलाई पक्राउ नै गर्नुपर्ने लगायतका दबाब र माधव नेपालसँग प्रचण्डको उठबस पनि ओलीलाई मन परेको छैन ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफू सहकारी ठगीमा संलग्न रहेको कुनै प्रमाण नरहेको र उजुरबाजुुर समेत नरहेको बताइरहँदा कास्की प्रहरीमा उनको वतन खुलाएरै दिएको उजुरीसमेत सार्वजनिक भइसकेका छन् । यसले रविले प्रहरीलाई दबाब दिएर आफूविरुद्धका उजुरी रोक्न भूमिका खेलेको प्रस्ट हुँदै जाँदा गोर्खा मिडियाकोसमेत नाम उल्लेख गरेर छानबिन समिति बनाएको भन्दै रवि आफैँ प्रचण्डसँग चिढिइरहेका छन् । त्यसबाहेक प्रचण्डकै सरकारले ल्याएका महान्यायाधिवक्ता दिनमणी पोखरेललाई समेत विवादमा पारेर उनको न्यायाधीश बन्ने बाटो नै बन्द हुँदैछ । यी सबै मिलाउँदै सत्ता टिकाउने दबाबमा प्रचण्ड छन् ।

त्यसमाथि पार्टी नै फुटाइदिने, सुदूरपश्चिम प्रदेशमा एमालेकै कारण सरकारलाई पूर्णता दिन नसकेको दुःखेसो सुनाउँदै माधव नेपाल कहिले प्रचण्ड त कहिले देउवाको दैलो चहारिरहेका छन् । कि यही गठबन्धनमार्फत आफूलाई प्रधानमन्त्री बनाउन, नभए पुुरानो गठबन्धन ब्यूँत्याएर आफूलाई प्रधनमन्त्री बनाइदिन माधव बार्गेनिङमा छन् । त्यसमाथि कांग्रेसको संस्थापन पक्षले प्रचण्डलाई सहजता देखाए पनि इतर पक्षबाट प्रधानमन्त्री जेलिएका छन् । चौतर्फी दबाब र सबैका गल्ती छुपाएर प्रचण्डले कति दिन देशको नेतृत्व सम्हाल्छन् त्यसका लागि दिन गन्ती सुरु भइसकेको छ ।