Breaking

VIP ले खेपेको नागरिकता सास्ती, तपाईंको नागरिकतामा पनि कैफियत हुन सक्छ, केमा ध्यान दिने ?


काठमाडौँ – तपाईँ–हामीसँग भएको सबैभन्दा ठूलो कानुनी हतियार नागरिकतामा यदि केही कैफियत भयो भने के–के हुन्छ भन्ने बुझ्न बहालवाला गृहमन्त्री रवि लामिछाने र सञ्चारउद्यमी कैलाश सिरोहियालाई हेरेपुग्छ । पहिलोपटक गृहमन्त्री बन्दा नागरिकता मुद्दाकै कारण रविले पद गुमाए । नागरिकतामा कैफियत भएकै कारण देशकै प्रतिष्ठित सञ्चारगृहका मालिक पक्राउ परे । यी दुवै घटनामा नागरिकता लिने र दिनेको भूमिका गैरजिम्मेवार र बदनियतपूर्ण देखिएको थियो । के नागरिकता लिने मामिलामा आम नागरिक संवेदनशिल छन् त ? एक रिपोर्ट ।

कतिका जन्ममिति फरक परेका छन्, कतिका नागरिकता नम्बर नै फरक छन् । जिल्ला प्रशासन कार्यालयमा सच्चाउन पुग्नेहरुको लाम छ । पछिल्लो समय किर्ते नागरिकता प्रयोगको विषयले तरंग ल्याएपछि नागरिकमा पनि एकखाले त्रास छ । कतै मैले प्रयोग गरिरहेको नागरिकता फर्जी त होइन ? कतै मेरै जस्तो नम्बर अरु कसैले प्रयोग पो गरिरहेका छन् कि ? त्यसमा पनि नागरिकता नम्बरदेखि जारी मितिसम्मै केहीका फरक परेका छन् । जो सच्याउनका लागि जिल्ला प्रशासन कार्यालयमा धाइरहेका छन् । किनकि यो देशभित्र बस्ने र नागरिकको दर्जा पाउने पहिलो र शक्तिशाली हतियार नै नागरिकता हो । नागरिकता छैन त लगभग केही छैन ।

टोखाका ऋषिराम दुलाल आइतबार बिहान करिब ११ बजेको समयमा जिल्ला प्रशासन कार्यालय काठमाडौंको लाइनमै भेटिए । सरकारी ढ्डडा र नागरिकतामा जारी मिति फरक परेपछि अहिले उनी सच्याउन धाइरहेका छन् ।

झण्डै ९० पुग्न थालेकी वृद्धा हजुरआमाको नागरिकता सच्याउन आएकी अञ्जु बस्नेतको समस्या पनि उस्तै छ । ९४ सालमा जन्मिँदा उनकी हजुरआमा महिनाको ३२ गते जन्मिएको नागरिकतामा उल्लेख छ । तर अहिले त्यो महिना ३१ सम्मको मात्रै थियो भन्दै सच्याउन लगाएपछि अञ्जु प्रशासनको चक्कर काट्न हैरान छन् भने हजुरआमा समेत बुढेशकालमा नागरिकता सच्याउँदै छिन् । किनकि यहीकारण कुनै सरकारी कामकाजमा बाधा पुगिरहेको छ ।

उनीहरु जस्ता आम मानिसहरु सरकारी कर्मचारीको लापरबाहीले मिति र नम्बर फरक पर्दा दुःख भोगिरहेका छन् । सच्याउन खोज्दा अनेक अड्डा धाउनुपर्ने र सजिल्यै सुनुवाई पनि नहुने भएपछि झनै समस्यामा परेका छन् ।

अधिकांश भने नेपाली कागजमा उपलब्ध पुरानो नागरिकता त्यागेर नयाँ लिन प्रशासन पुगिरहेका छन् । जहाँ नयाँ नागरिकता लिनेहरुको समेत लाइन छ ।

नागरिकताको समस्या लिएर आउनेहरु बढीरहेका छन् । तर विगत केही बर्ष यता नयाँ जारी गर्नेदेखि प्रतिलिपि लिनेसम्मका विषयमा सुधार भइरहेको प्रशासनको भनाइ छ ।

रवि लामिछानेको नागरिकता प्रकरण र कैलाश सिरोहियाको किर्ते नागरिकताको आरोपले समेत नागरिकताप्रति संवेदनशिल नहुँदा जुनसुकै बेला जस्तो सुकै मूल्य चुकाउनु तयार हुनुपर्छ भन्ने पाठ सिकाएको छ । किनकि हामीले बोकिरहेको नागरिकता कति सरकारी कर्मचारीको लापरबाही र कति आफ्नै कारण फर्जीका रुपमा प्रयोग भइरहेको हुनसक्छ । फलतः यति गम्भीर विषयमा आमनागरिक सचेत हुन आवश्यक छ । त्यसमा पनि यस्तो विषयमा विशेष गरि सरकारी निकायहरु जिम्मेवार बन्न आवश्यक छ । कसैको लोभप्रलोभ वा दबाबमा परि कोही कसैको बद्नियतलाई साथ दिएर नागरिकता जारी गर्दा पनि समस्या आइरहेका छन् ।