Breaking

टी-२० विश्वकप : नेदरल्यान्ड्सलाई हराउँदै सानदार सुरुवातको सोचमा नेपाल


काठमाडौँ – नेपालले आईसीसी टी-२० विश्वकप २०२४ मा आज नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार राति अमेरिकाको डालसमा रहेको ९ : १५ मा ग्राड प्रेरी क्रिकेट रंगशालामा सुरु हुनेछ ।

सुपर-८ को लक्ष्य राखेको नेपाललाई पहिलो खेलमा जित निकै आवश्यक छ । समूह डी मा नेपाल, नेदरल्यान्ड्स, श्रीलंका, बंगलादेश र दक्षिण अफ्रिका छन् । समूह डी को पहिलो खेलमा श्रीलंकालाई दक्षिण अफ्रिकाले ६ विकेटले हराएको छ ।

ग्राण्ड प्रेरीमा जारी टी-२० विश्वकपमा नेपाल र नेदरल्यान्ड्सबीच दोस्रो खेल हुँदैछ । यसअघि क्यानडा र अमेरिकाबीचको पहिलो खेल भएको थियो । क्यानडाले दिएको १९५ रनको लक्ष्य पछ्याएको अमेरिकाले १७.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको थियो । अमेरिकाका आरोन जोन्सले ४० बलमा १० छक्कासहित ९४ रनको विष्फोटक इनिङ खेलेका थिए । नेपालले वार्मअप खेल क्यानडासँग १८४ रनको लक्ष्य पछ्याउनेक्रममा १२० रनमा अल आउट भएको थियो ।

ग्राण्ड प्रेरी ब्याटिङ सहयोगी हुँदा नेपाल लक्ष्य पछ्याउन खोज्नेछ । नेपालका दीपेन्द्रसिंह ऐरी प्रमुख अलराउण्डर हुन् । दीपेन्द्रले ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा सानदार प्रदर्शन गर्दै आएका छन् । दीपेन्द्रलाई अन्य खेलाडीले साथ दिनुपर्ने हुन्छ । शीर्षक्रमको ब्याटिङ नचल्नु नेपालको कमजोरी देखिदै आएको छ ।

ओपनर कुशल भुर्तेल र आसिफ शेखले राम्रो सुरुवात दिन आवश्यक छ । लगातार खराब प्रदर्शनमा पनि टोलीले यी दुई ओपनरमा नेपालले साथ दिएको छ । त्यो विश्वास विश्वकपमा प्रमाणित गर्ने अवसर र चुनौती दुवै छ ।

दीपेन्द्रसिंह ऐरी टोलीमा फर्किदा सन्दीप जोरा र अनिल कुमार साह मध्ये एक बाहिर हुनुपर्छ । अनिलले अभ्यास खेलमा राम्रो गर्दै आएका छन् । अर्कोतर्फ ओपनरको राम्रो लय नहुँदा तेस्रो नम्बरमा अनिलले खेल्ने सम्भावना बलियो छ ।