Breaking

रविको दूत बन्दै मनिष, कांग्रेसका काण्ड सुनाए, चित्रबहादुर पनि जंगिए, एमालेको कडा व्यंग्य


काठमाडौँ – सहकारी ठगी प्रकरणमाथि छानविन गर्न संसदीय समिति गठनसँगै संसदको गतिरोध अन्त्य भएको छ । झन्डै तीन महिनापछि सदन नियमित सञ्चालनमा आए पनि सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरुको आरोप–प्रत्यारोपको शृङखला रोकिएको छैन । सदन अवरोध हुँदा आफ्नो आवाज कुन्ठित भएका सांसदहरुले आइतबार सदनमा आफ्नो भडास पोखे ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता उलटफेर गरेर सरकार बने यता झन्डै तीन महिना सदन पूर्णत बन्धक बन्यो । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानविन गर्न संसदीय समितिको माग राख्दै सदननै ठप्प पारेको थियो । सत्ता र प्रतिपक्षबीच राजनीतिक स्वार्थ मिलेपछि छानविन समिति बनाउन सहमति जुटेको थियो । दलीय अहमताले बन्धक सदन सुचारु त भयो तर आरोप–प्रत्यारोप र गालीगलौजको शृङ्खला भने अन्त्य हुन सकेको छैन ।

सत्ता र प्रतिपक्षी सांसदहरु एकले अर्कालाई नङ्ग्याउने नोकझोकको निरन्तरता चलिरहेको छ । कांग्रेस रविको पछि हात धोएरै लागेका कांग्रेस महामन्त्री गगन थापा संसदीय छानविन समिति पछि रविले जेठ ६ गते सदनमा दिएको अभिव्यक्तिलाई टेकेर प्रधानमन्त्रीसँग हिसाबकिताब माग्न भ्याए । लगत्तै सभापति लामिछानेको पिछलगु बनेका रास्वपा सांसद मनिष झा गगनविरुद्ध खनिने नै भए ।

सत्ता र प्रतिपक्षभन्दा पनि कांग्रेस भर्सेस रास्वपाबीचको टकराव तत्काल रोकिने देखिँदैन । सत्तापक्ष र प्रतिपक्षको सदन भिडन्त अब वाकयुद्धमा परिणत भएको छ । कांग्रेस सरकारविरुद्ध भन्दा रविविरुद्ध खनिँदा सत्तारुढ दल नेकपा एमालेका सांसदहरु व्यङग्यको शैलीमा प्रतिपक्ष कांग्रेसलाई खुइल्याउन उद्दत्त छन् । झन्डै तीन महिना प्रतिपक्षको चर्को नाराबाजी, वेल घराउ र मुडभेठका कारण सदनमा बोल्न नपाएका सांसदहरु सदन सुचारु भएपछि वाकयुद्धमा उत्रिएका छन् ।

निरन्तरको विरोधले सदन रणभूमि बन्दा रमिते बनेका सांसदहरु बल्लतल्ल बोल्ने मौका पाएपछि चुप लाग्ने कुरै भएन । सत्तापक्ष र प्रतिपक्ष मात्र नभइ अन्य दलका सांसदले पनि संसदमा आफ्नो भडास निकाले ।

संसदमा सांसदहरुको गतिविधि हेर्दा एकअर्कामाथि आरोप लगाउने र आफू चोखिने प्रपन्चमात्रै देखिन्छ । नीति निर्माण गर्ने थलो सदनमा सांसदहरु व्यक्तिगत आक्षेपमा उत्रिनुले संसदीय मर्यादाको समेत खिल्ली उडाइरहेको छ ।