Breaking

रोकिएन गगन र रवि भिडन्त, प्रचण्ड तानिए, व्यक्तिगत रिसिबी राजनीतिमा मिसियो, नछोड्ने संकल्प


काठमाडौँ – नेपाली राजनीतिकर्मीहरू आफ्नो राजनीतिक संस्कार नै बिर्सिएर व्यक्तिगत दुस्मनीमा उत्रन थालेका छन् । जनसेवा गर्न राजनीतिमा होमिएका नेताहरूमा वैरभाव सिर्जना हुँदै गएको छ । परिणामतः कांग्रेसका नेता र गृहमन्त्री रवि लामिछानेबीच व्यक्तिगत ईगो हाबी भएको छ ।

नेपाली कांग्रेस अहिले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध हात धोएर पछि परेको छ । सदनको सबैभन्दा ठूलो दल कांग्रेसले देखाउँने गतिविधि र दिने अभिव्यक्तिले पार्टीको राजनीतिक मुद्दा नै गृहमन्त्री रविको वरपरमात्रै घुमिरहेको स्पष्ट पार्छ । छानविन समिति नबन्दासम्म त्यसैमा टेकेर खेदिरहेको कांग्रेसले अहिले छानविन समिति बनिसकेपछि पनि उनको बोलाईदेखि हिडाई र काम गराईसम्मको खण्डनमा उत्रिएको छ । कांग्रेसका नेताहरूलाई न त रविले बोलेको चित्त बुझ्छ न त उनको गृह सञ्चालन गर्ने शैलीबाट सन्तुष्ट हुन सकेका छन् ।

गृहमन्त्रीले सडकमा मापसे गरेका व्यक्तिलाई सडक व्यवस्थापनमा स्वयम् सेवकको रुपमा खटाएको विषयमा आपत्ति जनाएको कांग्रेसले लामिछानेले कानुनी शासन छोडेर हुकुमी शैली अपनाएको भन्दै आक्रोश पोखेका छन् । कानुन बनाएर कार्यसम्पादन गर्नु पर्ने भए पनि गृहमन्त्री लामिछानेले ट्विट र बोलीको भरमा राज्य सञ्चालन गर्न खोजेको भन्दै रविविरुद्ध कांग्रेसले आगो ओकलिरहेको छ । त्यस्तै दुई महिनापछि सदनमा लगभग १९ मिनेट बोलेका कांग्रेस महामन्त्री गगन थापाको निसानामा पनि रविमात्रै पर्ने गरेका छन् । गगनको सबै अभिव्यक्ति रविमाथि नै लक्षित हुने गरेको छ । गृहमन्त्रीले बोलेका हरेक कुराको जवाफ दिनु पर्ने बताउँदै आएका थापाले बोलीको तीखो वाण रविमाथि प्रहार गर्ने क्रम अझै रोकिएको छैन ।

गृहमन्त्रीमाथि कांग्रेसको यति धेरै आक्रोश बढेको छ कि प्रत्येक कदममा बाधक जस्तै बत्रे गरेको छ । रविलाई नै केन्द्रमा राखेर कांग्रेसको निरन्तर सिधा प्रहार चलिरहँदा पार्टीका सांसदहरू भने राजनीतिमा व्यक्ति केन्द्रित हाबी भएको बताइरहेका छन् । कांग्रेसले रिस र प्रतिशोधको राजनीति गरिरहेको रास्वपाको बुझाई छ । नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनलाई त्यागेर कांग्रेससँग गठबन्धन नगर्दाको आवेग कांग्रेसमा देखिएको रास्वपाका नेताहरू बताउँछन् । कांग्रेसको प्रधानमन्त्री बत्रे अफरलाई पनि लत्याइदिएकै कारण रवि निसानामा परेको रास्वपा सांसदको टिप्पणी छ ।

यसअघि पनि सदन र सडकमा सत्ता र प्रतिपक्षीबीचको गालीगलौज चल्दै आएको थियो । एमाले, माओवादी, कांग्रेस जस्ता परम्परागत दलहरूले एक अर्कालाई खुइल्याउनुसम्म खुइल्याए पनि उनीहरूको व्यक्तिगत रिस र राग कही कतै देखिँदैन । यो संसदीय व्यवस्थामा हुने अभ्यास नै हो । ओली, प्रचण्ड र देउवा विगत दशकौंदेखि एक अर्काको विपक्षी भएरै राजनीति गरिरहे पनि उनीहरूबीचको व्यक्तिगत सम्बन्ध अझै सुमधुर नै छ । तर, कांग्रेसका केही नेताले भने रविमाथि वैरीभाव यतिसम्म देखाइरहेका छन् कि भविष्यमा पनि पानी बाराबारकै सम्बन्ध हुने खालको छ । रवि र कांग्रेसका नेताबीच देखिएको यो टसल राजनीतिकभन्दा पनि बढी व्यक्तिगत इगोको मात्रै भएको विश्लेषण भइरहेको छ ।

गृहमन्त्री रविको बोलाई, हिँडाई, गराई सबैमा कांग्रेसलाई चित्त बुझेको छैन । ‘मन नपरेको मान्छेको सास पनि गनाउँछ’ नेपाली उखान जस्तै भएको छ अहिले कांग्रेसका लागि रवि लामिछाने । प्रधानमन्त्री बन्न आफूहरुले गरेको अफरलाई लत्याई दिएपछि रुष्ट बनेका गगन–विश्वले रविलाई कुनै पनि हालतमा नछोड्ने सङ्कल्प नै गरे जस्तो देखिन्छ । पहिले छानविन समितिलाई लिएर अट्याएको कांग्रेसले अहिले शब्दैपिच्छे गृहमन्त्रीलाई अल्झाउन खोज्दै छ । माओवादीलाई उछितो काढेर नथाक्ने कांग्रेस अहिले रविलाई सत्तो सराप गर्ने र उनको काममा तगारो हाल्ने काममा तल्लिन छ ।