Breaking

मोदी प्रधानमन्त्री बन्ने प्रक्षेपण, कांग्रेसले नेतृत्व गर्ने राहुलको दाबी, कुन दलको कति सिट ?


भारतमा सातौँ र अन्तिम चरणको लोक सभा चुनाव सकिएको छ । चुनाव सकिएसँगै एक्जिट पोलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीले फेरि नेतृत्व गर्ने देखाएको छ । तर यसको अन्तिम निर्णय भने अबको केही दिनमा थाहा हुनेछ । यसैबीच कांग्रेस आईका नेता राहुल गान्धीले भने कांग्रेसको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् ।

भारतमा सातौँ तथा अन्तिम चरणको लोकसभा चुनाव समापन भएको छ । चुनाव समापन भएसँगै भारतमा अब कसको सत्ता आउला र कसको भाग्य चम्केला ? यो प्रश्नको अन्तिम निर्णय भने जुन ४ मा थाहा हुनेछ । यता प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि प्रधानमन्त्री हुन चुनावी मैदानमा होमिएका थिए । अन्तिम चरणको लोक सभा चुनाव सकिएसँगै एक्जिट पोलहरूले मोदीले नेतृत्व गरेको नेसनल डेमोक्राटिक अलायन्स (एनडीए) गठबन्धनले तेस्रोपटक चुनाव जित्ने प्रक्षेपण गरेका छन् । एक्जिट पोलहरूले भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको एनडिए गठबन्धनले ३५० भन्दामाथि सिट जित्ने प्रक्षेपण गरेका छन् ।

त्यस्तै कंग्रेस आईले नेतृत्व गरेको प्रतिपक्षी इन्डिया गठबन्धनले १३० सिट वरिपरि सिट जित्ने प्रक्षेपण गरिएको छ । ५४३ सदस्यीय लोक सभामा बहुमत पु¥याउन एनडीएलाई २७२ सिट चाहिन्छ । चुनावका यी प्रक्षेपण सही भएमा नरेन्द्र मोदी लगातार तीनपटक निर्वाचन जितेर भारतको प्रधानमन्त्री बन्नेछन् । यसअघि जवाहरलाल नेहरू सन् १९५२, सन् १९५७ र सन् १९६२ मा गरी तीनपटक प्रधानमन्त्री बनेका थिए ।


तर आम आदमी पार्टी (आप)का विधायक र नयाँ दिल्ली लोकसभा सिटका उम्मेदवार सोमनाथ भारतीले एक्जिट पोल सार्वजनिक भएपछि मोदी तेस्रो पटक भारतको प्रधानमन्त्री भएमा आफ्नो कपाल खौरिने चुनौती दिएका छन् । ‘मोदीजी तेस्रो पटक देशको प्रधानमन्त्री बन्ने छैनन् ।’ उनले भनेका छन् ।

मोदी नेतृत्वमा चन्द्रयानको सफलताले भारतको प्राविधिक तथा वैज्ञानिक विकासको पुष्टि गरेका थिए । अन्तर्राष्ट्रियस्तरमा भारतको विशिष्ट पहिचान बनेको छ । भारतले चीनसम्म मार हान्न सक्ने लामो दूरीको आणविक क्षमतायुक्त मिसाइलको सफल परीक्षण गरिसकेको छ । नयाँ जहाजबाहकको सफल परीक्षण, पनडुब्बी निर्माण र ड्रोनको विकासमा महत्वपूर्ण उपलब्धी हात परिसकेको छ । जसले गर्दा मोदीप्रति मतदाताको ठूलो आशा र भरोसा रहँदा उनको लोकप्रियता झनै बढेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । मोदी तेस्रो कार्यकालका लागि दोहोरिने छन् या छैनन् ? यसको टुंगो भने आगामी जुन ४ मा लाग्नेछ ।


यता सिक्किममा एक पटक फेरि ‘सिक्किम क्रान्तिकारी मोर्चा’ले सरकारको नेतृत्व गर्ने भएको छ । हालै सम्पन्न मत परिणामले ‘सिक्किम क्रान्तिकारी मोर्चा’ प्रचण्ड बहुमतका साथ सरकारको नेतृत्व गर्ने सुनिश्चित गरेको हो ।

३२ सदस्यीय विधानसभामा ‘सिक्किम क्रान्तिकारी मोर्चा’ले ३१ सिट कब्जा गरेको छ । सिक्किम विधानसभामा कांग्रेस आई र भारतीय जनता पार्टीको उपस्थिति शून्य छ । ‘सिक्किम क्रान्तिकारी मोर्चा’का नेता प्रेमसिंह तामाङ मुख्यमन्त्रीमा दोहोरिने भएका हुन् । आफ्नो पार्टीको प्रचण्ड जितपछि उनले दोस्रो कार्यकाल सुरु गर्ने सहज अवस्था प्राप्त गरेका छन् । योहो टेलिभिजनका लागि मिङमा शेर्पा काठमाडौँ ।