काठमाडौँ— २०५८ जेठ १९ गते साँझ नारायणहिटी राजदरवारभित्र तत्कालीन राजा वीरेन्द्र विरविक्रम शाहको वंश विनास भएको आज २३ वर्ष पुगेको छ । इतिहासकै रहस्यमय र बीभत्स घटनाका रुपमा रहेको हत्याकाण्डको सत्यतत्थ्य बाहिर ल्याउन राजनीतिक नेतृत्वले चासो नदेखाउदाँ अझै यो हत्याकाण्ड रहस्यकै गर्भमा छ ।
२३ वर्ष अघि आजकै दिन तत्कालिन राजा वीरेन्द्रविरविक्रम शाहको वंश नै नाश हुने गरि नारायणहिटी राजदरबारभित्र बिभत्स हत्या भएको थियो । नियमित पारिवारिक जमघटको मौका पारी राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र र निराजन, राजकुमारी श्रुति, राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्कासहित राजपरिवारका अन्य सदस्यहरूले सो हत्याकाण्डमा ज्यान गुमाएका थिए । तर उच्च सुरक्षा घेराभित्र रहेको दरबार हत्याकाण्डको यतिका बर्ष बित्दा समेत जनताले चित्तबुझ्दो कारणसहितको जवाफ पाएका छैनन् ।
दरबार हत्याकाण्डको दोषी पत्ता लगाउँछु भनेकाले नै अहिले सरकारको नेतृत्व गरिरहेका छन् । तर, हत्याकाण्डको रहस्य रहस्यमै सीमित छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तीन पटक देशको कार्यकारी पदमा त पुगिसके तर नतीजा भने दिन सकेका छैनन् । बरु, नेपाली राजनीतिमा पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियताबाट भयभीत हुँदाका बखत भने हत्या काण्डको फाइल खोल्नु पर्ने धम्कीयुत्त चेतावनी दिदै आएकाछन् । दरबार हत्याकाण्डको सबै रहस्य थाहा पाएको झै गरि हत्यारालाई सवक सिकाउने शैलीमा उनको अभिव्यक्ति आईरहन्छ ।
दरबार हत्याकाण्डपछि तत्कालीन प्रधानन्यायाधीशको संयोजकत्वमा एक उच्चस्तरीय छानबिन समिति गठन गरिएको भएपनि धेरैले समितिले स्वतन्त्र अनुसन्धान गर्न नसकेको तर्क गरेकाछन् । प्रतिवेदन सार्वजनिक गर्ने तत्कालिन सभामुख तारनाथ रानाभाटले भने कार्यदेशबाट गठित समितिले सुरक्षाका निकाय लगायत व्यक्तिहरुले दिएको बयानका आधारमा युवराज दिपेन्द्र शाह नै घटनाको मूख्य जिम्मेवार रहेको ठहर गरेको छ । तर नागरिकले प्रतिवेदनको विश्वसनियतामाथिनै प्रश्न उठाएकाछन् । अर्थात दिपेन्द्रबाट यो तहको अपराध भएको नागरिकले स्विकारेका छैनन् ।
हत्यामा बाह्य शक्ति लगायत अन्यको पनि संलग्नता रहेको आशङ्काबीच युवराज दीपेन्द्रले नै सो हत्याकाण्ड मच्चाएको प्रतिवेदनमा उल्लेख छ ।
पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नै पनि राजनीतिक आधारमा बनेको आयोगले दिएको कार्यादेश अनुसार निकालिएको प्रतिवेदनबाट चित्त बुझाउन सकेका छैनन् ।
हत्याकाण्डपछि प्रमाण मेटाउने गरी गरिएका कार्यहरूले नै यो षडयन्त्रपूर्वक घटना भएको प्रष्ट हुने ओलीको बुझाई छ । पूर्वप्रधानमन्त्रीसँगै राष्ट्रिय राजनीतिको बलियो दलको अध्यक्षले नै प्रतिवेदन झुटो भएको बताईरहँदा यस घटनाको दोहोर्याएर कुनै स्वतन्त्र अनुसन्धान गर्ने तर्फ कसैको ध्यान जान सकेको छैन । लामो समय बितिसकेको र प्रमाण पनि मेटाउने काम भई सकेको हुँदा प्रमाणका दृष्टिले छानविन सम्भव नहोला । तर, तत्कालिन सत्तामा रहेका र दरबारियाको नजिक रहेर काम गरेकाहरूले कुनै दिन रहस्यलाई बाहिर ल्याउन सक्ने सम्भावनालाई भने नकार्न सकिदैँन । २६ वर्ष राजपरिवारको अङ्ग रक्षक भएर दरबारियासँग उठ बस गरेकाहरू घटना घट्नु नै दुखद् भएको भन्दै
व्यक्ति भन्दा पनि परिस्थिति दोषी भएको जिकीर गर्दै आएकाछन् ।
दरबार हत्याकाण्डबारे अनेक आशङ्का र अनुमान गरिए, तर अझै पनि यो रहस्यमय घटनाबाट पर्दा हट्न सकेको छैन । हत्या दीपेन्द्रले नै गरेको भएपनि किन गरे भत्रे विषय नखुलाउँदा हत्याकाण्डको छानविनका लागि गठित समितिमाथि नै प्रश्न उठिरहेको छ । सरकारमा रहेकाले छानविन गर्न चाहे सत्यतथ्यबाहिर आउने कुरामा शंसय छैन । सबै तथ्यप्रमाणहरू नष्ट नै भईसकेको भए पनि आफ्नो राजनीतिक स्वार्थकै लागि दरबार हत्या काण्डबारे छानविन गर्नु पर्ने ध्वास दिनेहरूबाट घटनाको रहस्य सार्वजनिक हुनेमा झिनो आश भने राख्न सकिएला । तर, झण्डै साढे दुई दशक बितिसक्दा समेत हत्याकाण्डलाई रहस्यकै गर्भमा थाति राख्दा अझै यो कति दशकसम्म लम्बिने हो यसै भन्न सक्ने अवस्था छैन ।
प्रतिक्रिया