Breaking

देउवाले सत्ता खोज्दा माधव–झलनाथ झगडा, ओलीले पार्टी फुटाइदिने डर, प्रचण्डले फकाए


काठमाडौँ – सत्तारुढ गठबन्धन दल नेकपा एकीकृत समाजवादीभित्र संकटको बादल मडारिन थालेको छ । नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल बुढानीलकण्ठ र सम्मानित नेता झलनाथ खनालको बालुवाटार दौडधुपले राष्ट्रिय राजनीति तरंगित बनेको छ । सत्तारुढ गठबन्धनको पेलान र बेवास्ताले बिरक्तिएका अध्यक्ष माधव नेपाल र सत्ता गठबन्धनको पक्षमा उभिएका झलनाथ खनालबीचको टकरावले पार्टी नै टुक्रिन लागेको चर्चाले खैलाबैला मच्चिन थालेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सत्ता गठबन्धनभित्र ‘मान’ खोज्ने माधवकुमार नेपाल नै सबैभन्दा बढी अपमानित छन् । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी सत्तारुढ दल भए पनि व्यवहारमा सत्तारुढ दलको हैसियतमा छैन । अर्थात सरकारमा बसेको दलको उठबस प्रतिपक्षी दलसँग बढ्न थालेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको इसारामा प्रधानमन्त्री प्रचण्ड वा अन्य नेताहरुको समेत व्यवहारले माधव आजित छन् ।

अझ सत्ता गठबन्धनले संसदको अवरोधदेखि सहमतिको बिन्दुसम्म माधवलाई कतै उपस्थित गराउन आवश्यक नठानेपछि माधव थप रुष्ट बनेका छन । केन्द्रमा मात्र नभई प्रदेशमासमेत गठबन्धनको पेलानले पिस्सिएका माधव ओली–प्रचण्डसँगको सहकार्य निल्नु न ओकल्नु भएपछि सुदूरपश्चिममा अड्को थाप्न पुगेका थिए । माधवको घुर्कीपछि एमालेले विश्वासको मत दिए पनि सरकार गठनमा माधव समूहले सहयोग गरिरहेको छैन ।

आफू निर्णायक रहेका अन्य प्रदेशहरुमा पनि माधव विकल्प खोजिरहेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको प्रतिपक्षी दलहरुको बैठकमा उनी सहभागी भए । बिरामी देउवालाई भेटेर उनले ‘तपाई त शारीरिक रुपमा मात्र बिरामी हुनुहुन्छ । म त सत्तापक्ष भएर मानसिक रुपमा नै बिरामी परेको छु’ भन्दै दुखेसो नै पोखे । नपोखुन् पनि किन सत्ता गठबन्धनभित्रको हेपाई सही नसक्नु छ उनलाई । सत्ता परिवर्तन गरौँ भर्खरै बन्दै गरेको पार्टी नै दुई चिरा हुने चिन्ता छ । आफ्नो सत्ता जोगाउन उपेन्द्र यादव नेतृत्वको जसपा दुई चिरा पारेका ओली प्रचण्डले माधवको पार्टी फुटाई दिने पीर छ ।

ओली–प्रचण्डले सत्ता गठबन्धन छाडे पार्टी फुटाई दिने संकेत पहिल्यै गरिसकेका छन् । पार्टीभित्र नै किसान श्रेष्ठ, प्रेम आले लगायतका नेताहरु एमालेमै फर्किन आन्तरिक संवादमा जुटेको चर्चा नयाँ होइन । माधव बुढानीलकण्ठ गएको भोलिपल्टै प्रचण्डले झलनाथ खनाल बालुवाटार बोलाएर काउन्टर दिएपछि उनलाई थप झट्का लागेको छ । प्रचण्डले भेटेपछि गठबन्धन दायाँबायाँ नहुने भन्दै दिएको अभिव्यक्ति आफैँमा चासोपूर्ण छ । त्यसैले तत्काल नेकपा एस सत्ताको कित्ता परिवर्तन गरेर जोखिम मोल्ने पक्षमा नरहेको नेताहरुको दाबी छ ।

फागुन २१ गते प्रचण्डले बिना सल्लाह सत्ता उलटफेर गरेपछि असन्तुष्ट बनेका माधवले नयाँ समीकरणमा सहभागी हुने केही मान खोजेका थिए । सरकार टिकाउन माधवको साथ नभई नहुने अवस्थाका कारण प्रचण्ड–ओली दुवै जना नेपाल निवासमै आएर फकाएपछि उनी सात बुँदे सहमति गर्दै सरकारमा सहभागी हुन तयार भएका थिए । ओली प्रचण्डसँग सहकार्य गरेका उनी अहिले भने संकटमा छन् । अध्यक्ष नेपालमा देखिएको विरोधाभासको सिकार पार्टी भएको भन्दै पार्टीभित्रका नेताहरु असन्तुष्ट बनिरहका छन् । कहिले यता, कहिले उता गरिरहने उनको चरित्रले फेरि उनी कुन कित्तामा पुग्छन् र कस्तो नतिजा आउने हो ? त्यो हेर्न भने अझै कुनै पर्नेछ ।