Breaking

स्टार बालेनको पावरफुल कदम,जरिवानाको धम्की र आतंकित न्युरोडको वास्तविकता


काठमाडौँ – न्यूरोडमा फुटपाथ विस्तारका लागि सडक साँघुरो बनाउने काठमाडौं महानगरको कदमले मेयर बालेन शाहको विरोध भइरहेको छ । एकातर्फ सडक विभागले निरन्तर वक्तव्यबाजी गर्दै चेतावनी दिइरहेको छ भने, अर्काेतर्फ स्थानीयले आन्दोलन छेडेका छन् । खास विषय के हो ?

काठमाडौंको मुटुमा झप्प गालामा दारी भएको मानिस छन् ।

जसले स्टाईलिस कालो चश्मा लगाउँछन् ।

पावरफुल भाषण गर्छन् र स्टाटस लेखेकै भरमा सरकारलाई आतंकित बनाउँछन् ।

जसलाई यहाँको संस्कृति र सम्पदासँग अगाद माया छ ।

तर त्यही व्यक्ति अहिले एउटा झमेलामा फसेका छन् । हुनत् प्रत्येकपटक यस्ता झमेलामा फस्दै, जित्दै र उन्मुक्ति पाउँदै आउनु उनको दैनिकीजस्तै बनेको छ । कहिले अधिकार धेरै प्रयोग गर्दा, वा कहिले अधिकार नपाएको झोकमा राज्यका निकायलाई खुलमखुल्ला चुनौती दिएर भिड्ने ती पात्र अरु कोही नभएर बालेन्द्र शाह हुन् । जसविरुद्ध अहिले एकातर्फ सरकारकै एउटा निकाय भिडिरहेको छ, भने अर्काेतर्फ स्थानीय भिडिरहेका छन् ।

काठमाडौं महानगरका मेयर बालेन्द्र शाह बालेनले पछिल्लो पटक सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई निशाना ताकेर प्रहार गरे । जनतालाई धुँलो खुवाएको भन्दै मन्त्रीकै सरकारी अड्डामा फोहोरको टिपर खन्याईदिए ।

मेयरले उठाएको विषय खासमा चक्रपथ विस्तारमा सरकारले गरेको ढीलासुस्ती र लापरबाहीको थियो । जसले अहिले पनि काठमाडौंलाई नर्क समान बनाएको छ । तर बालेनले आलोचनाबाट बच्न विषयान्तर गर्दै न्युरोडको विषयलाई चक्रपथ विस्तारसँग जोडेको भन्दै सडक विभागले निरन्तर पत्रमार्फत प्रतिवाद गरिरहेको छ । बालेनको एक्सनमा विभागको विज्ञप्ती वारले नयाँ उचाई हासिल गरेको छ । अर्थात् बुधबार बेलुका फेरि विज्ञप्ती जारी गर्दै सडक विभागले भन्यो, ‘दुईदिनभित्र सडक जस्ताको त्यस्तै नबनाए प्रचलित कानुन अनुसार कारबाही गर्छौ ।’

खासमा काठमाडौं महानगर र सडक विभाग हिजोसम्म एकअर्कासँग समन्वय गर्दै आएका सरकारी अड्डा हुन् । एउटा स्थानीय सरकार हो भने अर्काे केन्द्रीय सरकारको एक निकाय हो । तर काठमाडौं महानगरले न्यूरोडको जुद्ध शालिकदेखि इन्द्रचोकसम्मको दूरीमा सडकलाई साँधुरो बनाएर फुटपाथलाई ठूलो बनाउन बाटो कटान गरेपछि सडक विभागले तत्काल पुगेर काम रोकिदिएको थियो । जुन विषयले मेयरले फोहोरको टिपर विभागको गेटमै लगेर खन्याईदिएपछि सतहमा आयो । किनकि त्यो काम मन्त्रीकै आदेशमा विभागले रोकेको बालेनको भनाइ छ । उनले स्टाटसमै स्पष्ट उल्लेख गरेका छन् कि, ‘विगत १५ बर्षदेखि काठमाडौंका जनताले कलंकीदेखि महाराजगन्जसम्म रिङरोड विस्तारको नाममा धेरै धुलो र कष्ट बेहोर्नु परेको छ । यो धुलो जनताले मात्र खाँदा राम्रो देखिदैन । जबसम्म तपाईं काम अगाडि बढाउनु हुन्न, हरेक दिन तपाईलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने छु, माया सम्झेर स्विकार्नु होला ।’

तर सडक विभाग शनिबारै भएपनि हस्याङ फस्याङ गर्दै तत्काल पुगेर बालेनले खन्याएको फोहोर उठायो र तत्काल विज्ञप्ती जारी गर्दै भन्यो, ‘मेयरले झुक्याउन खोजे । न्यूरोडमा अधिकार क्षेत्रभन्दा बाहिर गएर सडक मास्न खोज्दा रोकिएको साँचो हो, त्यसलाई विषयान्तर गर्न चक्रपथको कुरा उठाए ।’ विभागका अनुसार गत माघ १८ मा शर्तअनुसार काम गर्नुपर्ने भन्दै सडक डिभिजनले पत्र पठाएको थियो । जेठ ३ मा फेरि सहमति बिना कुनै काम नगर्नु पनि पत्र पठाएको थियो । तर जेठ १३ मा सहमति बिनै सडक खनेको भन्दै प्रतिवाद गरेको उसको भनाइ छ ।

हुनत यो महानगरभित्रकै सडक हो । सडक ऐन २०३१ ले यसको जिम्मा सडक विभागलाई दिएको छ । अर्थात् विभागको अनुमति बिना महानगरले यो सडक खन्न वा भत्काउन पाउँदैन । तर ऐनले सडकसम्बन्धी अधिकार विभागलाई दिएपनि संघीयता आएपछि त्यसलाई परिमार्जन गरेर स्थानीय तहलाई समेत उत्तिकै जिम्मेवार ढंगले हेरेपछि केही कानुनी अलमल रहेको देखिन्छ । फलतः यही अलमलमै काठमाडौं महानगरले फुटपाथ बढाउन सडक भत्काएपछि अहिले स्थानीय पनि विरोधमा उत्रिएका छन् ।

मुलुककै मुख्य व्यापारिक केन्द्रमध्ये एक न्यूरोडमा जतिबेला पनि मानिसको भीड हुन्छ । पैदलयात्री मात्र नभई त्यहाँ सवारी साधनको पनि उत्तिकै चाप हुने गरेको छ । यसअघि नै महानगरले न्यूरोड क्षेत्रको धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोकतर्फको सडकखण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको कालोपत्रे सडकमा सवारी साधन पार्किङ हटाएको थियो । सोही स्थानमा अहिले फुटपाथ विस्तार गर्न लागिएको हो । तर महानगरको कदमविरुद्ध महानगर वडाध्यक्षहरु विरोधमा उत्रिएका छन् ।

२२ नम्बरका वडाध्यक्ष चिनिकाजी महर्जन सडकमा उत्रिएका छन् । मन्त्रीलाई उजुरी लिएर पुग्ने पनि उनी नै थिए । उनकै नेतृत्वमा केही दिनदेखि निरन्तर विरोध प्रदर्शन भइरहेको छ । २१ नम्बरका वडाध्यक्ष उदय चिनियमान बज्राचार्यले पनि उनलाई साथ दिएका छन् । हिजो उनीहरुले मानव साङ्लो बनाएर फुटपाथ विस्तार गरिएको ठाउँसम्म घेरेका थिए । यो विषयमा काठमाडौं महानगरको प्रवक्ताको जिम्मेवारी सम्हालेका नविन मानन्धरको साथ समेत बालेनलाई छैन । विभाग ताकेतामै उत्रिएपछि महानगरको धारणा बुझ्न हामीले सम्पर्क गर्दा, उनले फेसबुके मेयरले स्टाटसमै लेख्ने, आफुले नबोल्ने बताए । सहप्रवक्ताको जिम्मेवारी सम्हालेका दीपक अधिकारीले समेत मेयरले लिएको पंगामा आफु नबोल्ने भन्दै अस्वीकार गरे । मुलतः बालेन चालेका कदममा महानगरकै कर्मचारी र जनप्रतिनिधिसमेत विपक्षीमा उभिदै आएका छन् ।