Breaking

हैसियत बिर्सिएर इज्जत गुमाउँदै VIP , विद्या र रामवरणकै राजनीतिक रुप, राज्य स्रोतको दोहन


राज्यको सेवा सुविधा प्रयोग गरिरहेका भीआईपी र भीभीआईपी व्यक्ति पार्टीको स्वार्थभन्दा माथि नउठ्दा त्यो पदमै गरिमा कम हुन थालेको छ । अर्थात एकातर्फ राज्यको स्रोतसाधनमा मोज गर्ने अर्कातर्फ सीमामा बस्न नसक्ने उनीहरुको शैली आलोचनाको सिकार बन्न थालेको छ । जसमा वहालवालामात्र नएर पूर्वसमेत लपेटिदा उनीहरुको नैतिकता माथि नै प्रश्न उठ्न थालेको छ ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा पुरागमन गर्न लागेको व्यापक चर्चा छ । एमालेको सदस्यता त्यागेको करिब १० वर्षपछि एमालेकै औपचारिक कार्यक्रममा सक्रिय हुन थालेकी उनी वाम एकताका लागि साझा नेतृत्वकै रुपमा हेरिने गरेको छ । यही कारण अध्यक्ष केपी शर्मा ओलीसँग रस्साकस्सी बढ्दा उनले कहिले पूर्वराष्ट्रपतिले राजनीतिमा आउन नमिल्ने तर्क गर्छन् भने कहिले सम्मान गरेरै रोक्न लागि परेको चर्चासमेत हुन्छ । जे होस भण्डारीलाई अझै पनि एमालेको चस्काले नछोडेको पक्का हँुदा उनी पूर्वराष्ट्रपतिका हैसियतमा राज्यबाट सेवा सुविधा लिइरहेकी व्यक्ति पनि हुन् ।

पदमै हुँदा समेत एमालेको रबरस्ट्याम्प भएको आक्षेप खेपेकी उनका लागि अहिले पनि राज्यले लाखौँ रुपैया खर्चिरहेको छ । मासिक भत्ता, इन्धन, सचिवालय, सुरक्षाकर्मी र सुरक्षाकर्मीको घरभाडा, पत्रपत्रिका, टेलिफोन, बिजुलीको बिल गरेर उनले घरभाडा र आवास सुविधा नलिए पनि १ लाख रुपैयाँ त भत्ता नै बुझ्ने गरेकी छन् । तर उनी राज्यको नभई एमालेको नेता हुने दौडमा रहेको चर्चा बढो गज्जब छ । उनका पछिल्ला कदम पूर्वराष्ट्रपतिभन्दा एमाले नेताको जस्तो बन्दा पदीय मर्यादाकै धज्जी उढाइरहेको छ ।

यता कांग्रेसबाट गणतन्त्र नेपालको प्रथम राष्ट्रपति बनेका डा.रामवरण यादवको खर्च पनि कम छैन । अवकाशदेखि नै घरभाडासहित मासिक करिब चार लाख रुपैयाँ बराबरको सुविधा बुझ्दै आएका उनी पनि संविधानले दिने पूर्वराष्ट्रपतिको हैसियत गुमाउँदै छन् । पदमै हुँदा नै उनी पनि विवादरहित रहेनन् भने अहिले पनि बेलाबेला उनका अभिव्यक्ति विवादमा आउने गरेका छन् । पछिल्लो समय कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ पर्दा चिप्लिएका उनले छानबिन भइरहेको काण्डमै न्यायाधीश बने । सिरोहियाको परिवार नेपालकै नागरिक रहेको दाबी गरेका पूर्वराष्ट्रपति यादवले आफ्नो हैसियत नै बिर्सिएर बचाउमा उत्रिएको भन्दै आक्षेप नै खेपे ।

वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल पनि उपचार खर्च विवादमा परेकै व्यक्ति हुन् । भलै सवारीका नाममा उनले अपनाएको मितव्ययीताले केही चर्चा पाए पनि उनलाई सादगी छवीबाट बचाउन बेलाबेला गाह्रो पर्ने गरेको छ । जसले साझा र सम्मानित पदमा पुग्दा पनि पुरानो धङधङगीले छोड्न नसकेको प्रष्ट हुँदा सभामुख देवराज घिमिरेले एमालेको नेता भन्दामाथि उठ्न नसकेको पात्रको आक्षेप खेपे ।

सहकारी ठगी प्रकरणमा छानविन समितिको माग गर्दैै कांग्रेसले संसद अवरोध गर्दा उनको कदम पेलेरै जाने तथा वातावरण बिथोल्ने देखिएको भन्दै कांग्रेसले नेताहरुले सार्वजनिक रुपमै आलोचना गर्दा पहिला रवि लामिछानेले बोल्न नपाए कांग्रेसको बकबास नसुन्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको टिप्पणीमै उनी लपेटिए । उनकै कारण गृहमन्त्री लामिछानेलाई रोष्ट्रम जान बाटो खाली गर्न लागेका ओली र नाराबाजी गरिरहेका कांग्रेस उपसभापति धनराज गुरुङबीच झन्डै कुटाकुटको स्थितिसमेत बन्यो ।

केही पार नलागेपछि सभामुखले बैठक स्थगित गरे पनि त्यसको भोलिपल्ट कांग्रेसको बैठकले निष्कर्ष निकाल्यो, सभामुख अमुक पार्टीको कार्यकर्ताको रूपमा प्रस्तुत भए । अहिले यो समस्या समाधान भए पनि एमाले, कांग्रेस एकै ठाँउमा उभिए पनि उनीमाथि लागेको दाग भने जाने छैन । जसले सीमामा बस्न नसकेका भीभीआईपीको अर्को उदाहरण प्रस्तुत गरेको छ ।

यी त देखिने र सुनिने केही नाम मात्रै हुन् । यस्ता धेरै पात्र छन्, जो पदीय मर्यादा र सीमामा बस्न सकेका छैनन् । जुन पार्टी विशेषभन्दा पनि सबैको साझा समस्याकै रुपमा रहँदा यस्ता व्यक्तित्वलाई कसरी राज्यको सेवा सुविधा प्रयोग गर्ने नैतिकता रहन्छ भन्ने प्रश्न नै उब्जिन थालेको छ । जसलाई व्यक्ति नै राजनीतिबाट आउने हुँदा शून्य निरपेक्षता अपेक्षा गर्न नसकिने तर्कले छोप्न खोजिए पनि भीभीआईपीका यस्ता गतिविधि प्रणालीमाथि कै खतराको कारण समेत नबन्लान भन्न सकिँदैन ।