Breaking

सत्तामा फर्कदै देउवा, माधव र अदालतको भर, प्रचण्डको निधारमा कांग्रेसको तीर


विपक्षी दलहरुको बुढानीलकण्ठ छलफलमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसमेत सहभागी भएपछि सत्तारुढ दल सशंकित बनेका छन् । यसलाई कांग्रेस नेतृत्वमा वैकल्पिक सरकार बनाउने प्रयास फेरि मुर्झाएको रुपमा धेरैले टिप्पणी गर्दा सरकारमा फर्किने कांग्रेसको सक्रियताको जग के हो भन्ने जिज्ञासासमेत बढेको छ ।

आफैँ बिरामी परेका शेरबहादुर देउवाले के मधेशमा जसपाको सरकार टिकाइ दिन मात्रै सक्रियता देखाएका होलान् ? पटक्कै होइन । आफ्नो स्वार्थबिना उनी हठात् रुपमा मधेशवादी दलहरुलाई निम्तो दिँदैनन् । बुधबार साँझ गण्डकीमा कांग्रेसका सुरेन्द्रराज पाण्डेले मुख्यमन्त्रीको शपथ लिए लगत्तै देउवाले लोसपा र जसपालाई छलफलका लागि बुढानीलकण्ठ डाँके । नेता भेट्नासाथ सत्ता फेरिने हल्ला चल्ने देशमा प्रतिपक्षीहरु भेट्नुलाई स्वभाविक मान्न सकिए पनि अपरझट माधव नेपालको इन्ट्रीले भने विभिन्न प्रश्नहरु जन्माइदिएको छ ।

यसले कांग्रेस नेतृत्वमै वैकल्पिक गठबन्धन जुर्मु¥याउन खोजेको लगायत विश्लेषण भइरहेका छन् । आखिर तीन महिनाका लागि कांग्रेसको सत्तारोहणको ढोका बन्दा हुँदा पनि देउवाले के सपना देखिरहेका छन् । जसले उनलाई फेरि सक्रिय बन्ने उर्जा दिइरहेको छ ? विशेषगरी गण्डकी प्रदेशमा अदालतको परमादेशबाटै भए पनि सत्तामा फर्किएको कांग्रेस अहिले उत्साही देखिएको छ ।

मधेशमा सरकार टिकाउनभन्दै जसपा फकाउन र माधव नेपाललाई फकाए मधेश, गण्डकी सुुदूरपश्चिममा पनि सत्तारोहरण गर्न सजिलो हुने बुझेको कांग्रेसको शरणमा मानसिक रोगी भइसके भन्दै माधव पुगेपछि प्रचण्डसमेत सशंकित बनेका छन् । फलतः प्रधानमन्त्री प्रचण्ड माधवको यताउता गरी रहने स्वभावै भएकाले गठबन्धनमा केही फरक नपर्ने प्रष्टीकरण दिँदै हिँडेका छन् ।

आखिर के कारण छन् जसले कांग्रेस फेरि सत्तामा फर्किने सपना देख्दैछ । सरकार ढाल्ने रवि अस्त्र फेल भएसँगै देउवाको अर्को अस्त्र हुन्, प्रधानमन्त्री प्रचण्ड । उनलाई हरेक हिसाबले अफ्ठ्यारो पार्दै आफूतिर तान्ने रणनीतिमा देउवा देखिएका छन् । उपेन्द्र यादव तान्न सफल भएका देउवा माधवलाई पनि गलाउने र प्रचण्डको टाउको दुखाउने रणनीतिमा देखिएका छन् ।

नत्र माधवले देउवासँग छलफल गरेलगत्तै प्रचण्डले बिहान झलनाथ खनाललाई बोलाएर सत्ता नढाल्ने कसम खुवाउनुको अन्तर्य के ? यसले पनि प्रचण्डको डर कतिसम्म बढेको छ भन्ने बुझ्न सकिन्छ । किनभने पार्टीका नेताहरुले समेत एमाले–माओवादीको समीकरणमा पेलिएको विश्लेषण पार्टीका अरु नेताहरुलेसमेत गरेका छन् ।

देउवा हौसिनुको अर्को कारण हो– सर्वोच्च अदालतबाट मिलिरहेको लाभ । गण्डकीमा परमादेशबाट सत्ता फिर्ता गरेको कांग्रेस अब कोशीमा पनि सर्वोच्चकै आदेशबाट सरकारमा पुर्नवहाली हुने ठूलो आशामा देखिन्छ । त्यसबाहेक रवि लामिछानेलाई बर्हिगमित गराउने बाहना सकिँदा सर्वोच्च अदालतमा परेको मुद्दाबाट राहत पाउने विश्वासमा देउवा देखिएका छन् । त्यसमाथि माधवलाई तान्न सके केन्द्रकै नेतृत्वमा जान नसके पनि सत्ताबिहीन भएर बसेको समयमा प्रदेशमा भने नेतृत्व गर्ने अवसर मिल्नेछ ।

अरुलाई काम नलागेको प्रदेश कांग्रेसका लागि काम लाग्ने बनाउनमा देउवा सक्रिय भएको देखिन्छ । एमालेले नेतृत्व गरेका धेरै मन्त्रालयहरुले पर्याप्त बजेट नपाएको भन्दै मन्त्रीहरु सार्वजनिक रुपमै अभिव्यक्ति दिइरहेका छन् । उसो त संसदमा संयुक्त रणनीति बनाउने भन्दै राप्रपालाई समेत आफ्नो कित्तामा तानेको कांग्रेसले भविष्यमा समीकरणमा समेत राप्रपालाई सहयोग माग्ने मनसायले नै त्यो योजनासमेत बनाएको पुष्टि हुन थालेको छ । यद्यपि राप्रपा बुढानीलकण्ठ बैठकमा भने सहभागी भएन । एमालेबाट प्रचण्ड कतिञ्जेल पेलिन्छन् भन्ने प्रश्नका बिच देउवा पनि प्रचण्डलाई कसरी गलाउन सकिन्छ भन्ने योजना बुन्न थालेका छन् ।

बुधबारको बैठकमा छानविन समिति, बजेटबारे कसरी प्रस्तुत हुने र मधेशमा के गर्ने भन्नेबारे नै छलफल भएको बुझिएको छ । मधेशमा एमाले र माओवादीले सरकार छाडे पनि जसपालाई एकीकृत समाजवादीको समर्थन कायमै रहेकाले माधवलाई डाँकिएको हो । प्रचण्डले कांग्रेससँग काम गर्न असहज भएर गठबन्धन फेरेको बताए पनि एमालेसँग गएर उल्कै नयाँ भयो भन्न सक्ने अवस्था छैन ।

त्यसमाथि सहकारी प्रकरणमा संसदीय छानविन समिति बनाउन नहुने लाइनमा रहेको रास्वपा समिति बनेदेखि मौन छ । ओली–प्रचण्डकै सिकार बनेको रास्वपाको आन्तरिक विश्लेषण र अर्को कदम के हुन्छ भन्ने पर्खाइमा देउवा छन् । यीनै विषयलाई समेत कारण देखाएर कांग्रेसले वैकल्पिक समीकरणको प्रयास गर्नुलाई अस्वभाविक मान्न पनि सकिँदैन । तर कांग्रेसको यो प्रयासलाई सफल बनाउने शक्ति भने फेरि रास्वपा र एकीकृत समाजवादी नै हुन् ।