Breaking

फेरि एउटा नयाँ आन्दोलनको तयारीमा छौँ : प्रधानमन्त्री


काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्र, वर्ग र जनताको निम्ति फेरि एउटा नयाँ आन्दोलनको तयारीमा रहेको बताएका छन्। बिहीबार काठमाडौँमा जनसांस्कृतिक महासंघ नेपालको राष्ट्रिय सम्मेलनलाई उद्घाटन गर्दै उनले क्रान्तिको बाटो सरल रेखामा नजाने बताए।

सरकारको तर्फबाट सुशासन, सामाजिक न्याय र समृद्धिको मात्रै कुरा नगरिएको बताउँदै उनले सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटलाई गम्भीरताका साथ हेर्ने हो भने समाजवादको बीउ रोप्ने प्रयास गरिएको उल्लेख गरे।

‘हामीले अहिले समाजवादी मोर्चा बनाउने कुरा वा वामपन्थी ध्रुवीकरणको निम्ति पहल गर्नेकुरा समाजवादको आधार तयार पार्नेकुरासँग नै सम्बन्धित छ। हामी कोही द्वीविधामा बस्न हुँदैन। किनभने क्रान्तिको बाटो सरल रेखामा जाँदैन। रणनैतिक रुपमा कतातिर सोच्दैछौँ भन्नेबारेमा ध्यान दिनुपर्छ,’ उनले भने, ‘राष्ट्रको निम्ति, वर्ग र जनताको निम्ति फेरि पनि एउटा नयाँ आन्दोलनको तयारीका रुपमा हामी अघि बढिरहेका छौँ।

अहिले हेर्नुभयो भने सरकारको तर्फबाट पनि खालि सुशासन, सामाजिक न्याय र समृद्धिको मात्रै कुरा गरिएको छैन, भर्खरै अघि सारिएको नीति कार्यक्रमलाई गहिरो गरी हेर्नुभयो भने वा अस्तिमात्रै प्रस्तुत भएको बजेटलाई राम्रोसँग हेर्नुभयो भने समाजवादका भ्रुणहरु, समाजवादको बीउ रोप्ने प्रयास गरिएको छ। समाजवादको निम्ति एकता आवश्यक छ।’

समाजवादको निम्ति एकता आवश्यक रहेको पनि बताउँदै उनले सामाजिक न्याय, सुशासन र समृद्धिको कुरा गर्नुको तात्पर्य समाजवादको आधार तयार पार्नु रहेको पनि बताए।

कृषिलाई आधार बनाएर र आईटीलाई अगाडि बढाएर मात्रै समाजवादी यात्रामा अघि बढ्नसक्ने उनलेसमाजवादको सोच र रुपान्तरणको अभियान सांस्कृतिक रुपान्तरणको अभियान भएको बताए। अब समाजवादको एउटा नयाँ यात्रातिर हामी छौँ। त्यहाँ भनिएजस्तै समाजवादले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा पनि एउटा ठूलो शक्ति सञ्चयको अपेक्षा गर्दछ। आफ्नो देशभित्र मात्रै होइन, विश्वभरका श्रमीकहरुसँग, सबै न्यायप्रेमी जनसमुदायसँग एउटा ठूलो एकताको अपेक्षा राख्दछ,’ उनले भनेका छन्, ‘हामीले समाजवादी क्रान्तिको कुरा गर्दा हामलिे भनेका के छौँ भने अहिले आधार निर्माण गर्ने कुरालाई मुख्य भनेका छौँ। हामीले सामाजिक न्याय, सुशासन र समृद्धिको कुरा गर्नुको तात्पर्य समाजवादको आधार तयार पार्नु नै हो। हामी कोही कन्फ्युजनमा बस्नु हुँदैन।’

प्रधानमन्त्री प्रचण्डले सामन्तवादी संस्कृतिले खडा गरेको रूढीवाद, अन्धविश्वास, अन्धभक्तिलाई पाखा लगाएर समाजवादी संस्कृतिको जग बसाल्नुपर्नेमा जोड दिए।