काठमाडौँ— आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस । सगरमाथाको चुचुरोमा मानव पाइला टेकिएको आज ७१ वर्ष पूरा भएको छ । सन् १९५३ मे २९ मा नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एड्मन्ड हिलारीले पहिलो पटक सगरमाथामा मानव पाइला टेकेको दिनको सम्झनामा प्रत्येक वर्ष मे २९ मा यो दिवस मनाइँदै आइएको छ । सगरमाथा दिवसको अवसरमा सरकारले हिमाल आरोहीहरुको सुरक्षाका लागि आरोही कल्याणकारी कोषको स्थापना गर्ने घोषणा गरेको छ । यद्यपि, यो घोषणा कार्यान्वयन हुनेमा शंका रहे पनि जोखिमपूर्ण हिमाल आरोहणलाई नै पेसा बनाएका आरोहीहरु भने उत्साहित बनेका छन् ।
सन् १९५३ मे २९ मा नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एड्मन्ड हिलारीले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरे । सगरमाथाको चुचुरोमा मानव पाइला पुगेको ७१ वर्ष पूरा भएको छ ।
अति जोखिमपूर्ण र सहासिक हिमाल आरोहण सुरु भएको सात दशक बित्दै गर्दा सगरमाथाको चुचुरो चुम्ने सपना देख्नेहरुको संख्या ह्वात्तै बढेको छ । सगरमाथा र अन्य हिमालहरु साहसिक पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेका छन् । आरोहण धेरैको आकर्षण बनेको छ । स्वदेशी तथा विदेशी आरोहीहरुको संख्या बढ्दो छ । हरेक वर्ष कीर्तिमान कायम गर्नेहरुको लर्को नै लाग्ने गरेको छ । तर यो क्षेत्र जति आकर्षक देखिन्छ उत्तिकै जोखिमपूर्ण छ । आरोहीहरुको बढ्दो पलायनले यो पेशा नै जोखिममा धकेली रहेका बेला सरकारले अब भने हिमाल आरोहीहरुको सुरक्षाका लागि आरोही कल्याणकारी कोष स्थापना गर्ने प्रतिबद्धता जनाएको छ । सगरमाथा दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालले हिमाल आरोहीहरुको सुरक्षाका लागि कोष स्थापना गर्ने बताएका हुन् ।
ओरोहीहरुको भविष्यको सुरक्षा र खास गरी शेर्पा जातिको जीविकासँग सम्बन्धित विषयमा आरोही कल्याणकारी कोषको सुरुवात गर्ने प्रधानमन्त्रीको घोषणाले आरोही शेर्पाहरु पनि उत्साहित भएका छन् । यद्यपि, यो घोषणा कार्यान्वयन हुनेमा शंका भए पनि आरोहण कार्य पेसामा परिणत भएको दशकौँपछि सरकारले आरोहीहरुबारे यति सोच्नु आफँैमा महत्वपूर्ण भएको आरोहीहरुको बुझाइ छ । कल्याणकारी कोष छिटो भन्दा छिटो कार्यान्वयनमा ल्याउनु पर्ने उनीहरुको जोड छ । कल्याणकारी कोषसँगै हिमालको जोखिम न्यूनीकरण गर्न हिमाल उद्धारमा सरकारको ध्यान जान आवश्यक रहेको पनि उनीहरुको सुझाव छ ।
प्रत्येक वर्ष विभिन्न हिमालमा ज्यान गुमाएका आरोही र आरोही गाइडहरुको संख्या आफैँमा अत्यास लाग्दो छ । यही वसन्त क्रृतुमा मात्र विभिन्न हिमालमा स्वेदशी तथा विदेशी गरी ६ जना जनाको मुत्यु भयो भने तीन जना बेपत्ता छन् । आरोही गाइड शेर्पाहरु सबैभन्दा बढी जोखिममा छन् । सयौँको संख्यामा आरोही गाइडहरु अगभंग भएका छन् । आरोहण पेसामै आफ्नो जीवन बिताएका विश्व कीर्तिमानी आरोहीहरु अलपत्र अवस्थामा हुन्छन् । राज्यले ध्यान नदिँदा थुप्रै समस्याको सामना गर्न बाध्य छन् आरोहीहरु । जसले गर्दा उनीहरु पेशासँगै देशैबाट पलायन हुने क्रम बढ्दो छ भने यो संख्या आगामी दिनहरुमा अझ नबढ्ला भन्न सकिन्न ।
प्रतिक्रिया