Breaking

देउवाले पेल्दा गगन रिसाए, सत्तामा फर्किने सपना सकियो, गण्डकी र मधेशमा खिचडी पाक्दै (भिडियोसहित)


काठमाडौँ— सहकारी ठगीमा आफ्नै माग बमोजिमको छानविन समिति बनेको भन्दै उत्साही कांग्रेस राजनीतिक रुपमा हारेको छ । सहकारी पीडितका समस्याभन्दा सत्ता हत्याउन उठाएको मुद्दा त्यसैमा विफल बन्यो । यसै मुद्दालाई लिएर जनतामा पुुग्ने र संगठन तिखार्ने मौका कांग्रेसलाई रहे पनि ती सबै विकल्प अब सकिएका छन् ।
सत्ता पक्षसँग दुई महिना भिड्दै एमालेसँगसमेत मुकाबिला गरेको कांग्रेसले सहकारी ठगीमा छानविन समिति बनाउनुलाई जित भनेको छ । तर, यही मुद्दाका कारण जनतामा जाने, संगठन तिखार्ने तथा सत्तारोहण लगातका सबै अस्त्रमा फेल भएको छ । सहकारी ठगी बारेको संसदीय छानविनमा सुरुमा लामिछानेको नामै किट्नुपर्ने अडानमा रहेको कांग्रेस केही पछि सर्नुप¥यो । यद्यपि बुँदा नम्बर चारमा लामिछानेमाथि पनि सोधपुछ र छानविन गर्नसक्ने पूर्ण अधिकार दिएकाले कांग्रेस हौसिएको देखिन्छ । तर राजनीतिक रुपमा समिति बनाउनुभन्दा रविको राजीनामा नै कांग्रेसका लागि फाइदाजनक थियो जुन अवसरबाट कांग्रेस अब टाढिएको छ ।

योसँगै कांग्रेसले मुख्य रुपमा आफ्नो अभिष्ट पूरा गर्न चाहेको सत्तामा उक्लिने भ¥याङ तीन महिनाका लागि भत्किएको छ । सर्वोच्च अदालतले लामिछानेलाई पदमुक्त गरेको बाहेक अवस्थामा कांग्रेससँग सरकार ढाल्ने अस्त्र बाँकी छैन । यदि लामिछानेको नामै किटेर छानविन भएको भए राजीनामा दिन दबाब पार्ने अश्त्र बाँकी रहने भए पनि उनको नामै नआए पछि विश्वप्रकाशले भनेजस्तो सिम्बोल नम्बरलाई आधार मानेर गृहमन्त्रीको राजीनामा माग्ने बाटो समेत अब काँग्रेससँग बाँकी रहेन । कांग्रेसले आफ्ना माग पूरा गराउन सरकारलाई बाध्य पार्नका लागि संसद अवरोधदेखि सडक आन्दोलनसम्म गर्न पाएको थियो । जसले जनतासँग पुग्ने र संगठन तिखार्ने मौका पनि कांग्रेसलाई थियो । तर अब त्यो बाहना पनि बन्द भएको छ । तर रविलाई असफल पार्न र फेरि सडक रोज्न फेरि गिरीबन्धुको मुद्दा उचाल्ने सम्भावना भने कांग्रेसका लागि जीवितै छ । तर रविसँग भिडे सत्तायात्रा लम्बिदै जाने निश्कर्ष निकालेको बुढानीलकण्ठ यत्तिको हिम्मत गर्ला भन्ने प्रश्न चाहिँ छ ।

समिति गठन भएपछि एक महामन्त्री विश्वप्रकाशले उत्साह मनाइरहदा अर्का महामन्त्री गगन थापा भने सार्वजनिक रुपमा बोलेका समेत छैनन् । यदि समिति बन्दा कांग्रेस हौसिनुपर्ने थियो भने सबैभन्दा बढी उत्साह थापामै हुनुपर्ने हो तर त्यस्तो देखिएको छैन । बुढानीलकण्ठमा पदाधिकारी बैठक बसिरहेकै समय देउवालाई प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्ले टेलिफोन गरेर एमालेलाई मिलाइसकेको र गोर्खा मिडिया नेटवर्कको मात्रै नाम राख्ने बिषयमा सहमति जुटाउन आग्रह गर्दा देउवाले सहमति जनाए पछि गगन बैठक छाडेरै हिँडेकोसम्मको चर्चा छ । यसले कांग्रेसको आन्तरिक राजनीतिसमेत गर्माउने निश्चित देखिन्छ ।

सात सदस्यीय छानविन समितिमा कांग्रेस अल्पमतमा छ । बहुमतको निर्णय नै लादिने र विगतका अभ्यास हेर्दासमेत सामसुम समितिको ट्याग भिराइएका समितिहरुबाट रवि निर्दोष ठहरिने र कांग्रेस चिसै पानीमा नुहाउने पक्का छ । त्यसमाथि गण्डकीबाट सत्तारोहणको सुरुवातलाई सकारात्मक मान्न सकिए पनि एक महिनाभित्र विश्वासको मत पाउने अवस्था तत्काल देखिँदैन । सत्तामा फर्किन अदालतले परमादेश दिने र कसैको पद खाइदिएर समीकरण खल्बल्याउने बाहेक कांग्रेसका सबै विकल्प सकिएका छन् ।