Breaking

तराईका जिल्लाहरूमा आजदेखि तीन दिन तातो हावा चल्ने


काठमाडौँ – जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म पश्चिमी तराईका भू-भागहरूमा अत्यधिक गर्मीको सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ।

महाशाखाले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा आजदेखि तीन दिनसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको जनाएको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम् तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको र सो क्रम कायम रहने जानकारी गराउँदै महाशाखाले सतर्क रहन भनेको हो।

महाशाखाले आज धनगढीको अधिकतम तापक्रम ४२ डिग्री सेल्सिय पुग्ने आकलन गरेको छ। त्यस्तै नेपालगञ्जको ४१।७, दिपायल र जनकपुरमा ३९ डिग्री सेल्सियस पुग्ने अनुमान गरेको छ। पश्चिमको तुलनामा पूर्वी तराईमा केही कम गर्मी छ। विराटनगरमा आज ३५।४ डिग्री सेल्सियस तापक्रम पुग्ने महाशाखाको पूर्वानुमान छ। त्यहाँको न्यूनतम तापक्रम भने २८।८ डिग्री मापन भएको छ।