Breaking

नारायणगढ-मुग्लिन सडकमा कसरी ठोक्किए चारवटा गाडी


काठमाडौँ – नारायणगढ मुग्लिन सडक खण्डमा चारवटा गाडी ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

गएराति साढे १२ बजे चितवनको भरतपुर नगरपालिका-२९ स्थित नारायणगढ-मुग्लिन सडकको सत्र किलो भन्ने ठाउँमा काठमाडौंबाट प्यूठान जाँदै गरेको बा ४ ख ९०८६ नम्बरको बस, नारायगढबाट मुग्लिन जाँदै गरेको ना ३ ख ७९१५ नम्बरको डिब्बा ट्रक, काठमाडौंबाट महोत्तरीको बर्दिबास जाँदै गरेको ना ७ ख ३२४८ नम्बरको बस र वीरगन्जबाट काठमाडौं आउँदै गरेको ना ६ ख ८९६८ नम्बरको बस आपसमा ठोक्किएको थियो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालका अनुसार दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ। मृतक अन्दाजी १६/१७ वर्षका किशोर छन् । उनको उपचारका क्रममा नयाँ मेडिकल कलेजमा मृत्यु भएको हो। मृतक किशोरको परिचय खुलिसकेको छैन।

दुर्घटनामा चार वटै गाडीका चालकसहित २३ जना घाइते भएको डिएसपी रिजालले जानकारी दिए। घाइते २३ जनामध्ये १८ जनाको इच्छाकामना आधारभुत अस्पताल कुरिन्टार र ४ जनाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।

उनीहरूमध्ये ५ जनाको अवस्था गम्भीर रहेको डिएसपी रिजालले जानकारी दिए। ्ट्रकका चालक सिन्धुपाल्चको भोटेकोशी गाउँपालिका-५ का २६ वर्षीय सुवास कार्की डिस्चार्ज भइसकेका छन्। उनी जिल्ला प्रहरी चितवनको नियन्त्रणमा छन्। डिएसपी रिजालका अनुसार ओभरटेक गर्ने क्रममा सो दुर्घटना भएको हो। यसबारेमा थप अनुसन्धान भइरहेको पनि उनले बताए।

चारवटा गाडी ठोक्किँदा नारायणगढ-मुग्लिन सडक राति साढे २ बजेसम्म अवरूद्ध भएको थियो। त्यसपछि एकतर्फी सञ्चालनमा आएको उक्त सडकखण्ड बिहानसम्म दुवैतर्फ सञ्चालनमा रहेको डिएसपी रिजालले जानकारी दिए।