संसदमा तटस्थ र निष्पक्ष कार्य सम्पादन गर्नुपर्ने भएकैले सभामुख निर्वाचित भएलगत्तै दलको आवद्धता त्याग्ने परम्परा छ । सभामुखले तटस्थ भूमिका खेल्न नसक्दा संसदमा भाँडफैलो हुन्छ । संसद चलाउदै मुस्किल पर्छ । सत्तापक्ष र प्रतिपक्ष दलहरूलाई सहमतिको विन्दुमा पु¥याउन भूमिका खेल्नुपर्ने सभामुखले पदीय मर्यादा भुलेर एकपक्षीय बन्दा समस्या झन बढ्छ । सभामुख देवराज घिमिरेमाथि गम्भीर प्रश्न उठेको छ ।
संसदीय व्यवस्था र संविधानको मर्म अनुरूप सदन सञ्चालन गर्नुपर्ने सभामुख नै दलको कार्यकर्ता जस्तो भएर सदनमा प्रस्तुत भएपछि प्रश्न उठेको छ । सुशासन, परिवर्तन र कानुन निर्माणको विषयमा बहस पैरवी गर्नुपर्ने सदन धकेलाधकेलको स्थितिमा छ । प्रतिपक्षको मागहरूलाई सुन्दै र प्रतिपक्ष र सत्तापक्षको बीचको दुरीलाई छुट्याउँदै सौहार्दपूर्ण वातावरण बनाउन सभामुखले भूमिका खेल्नुपर्छ । सत्तापक्ष र प्रतिपक्ष दुबै तर्फका सांसदले भरोसा गर्न सक्ने बनाउनु सभामुखको क्षमतामा भर पर्छ । तर, सभामुख घिमिरेले पदीय हैसियत भुलेर एमालेको कार्यकर्ताको हैसियतमा प्रस्तुत भएको आरोप लागेको छ ।
कुनै समय यस्तो थियो, जतिबेला विपक्षी सांसदहरूले सभामुखका कारण पेलानमा पर्नुपर्दैन भन्ने सोच्थे । दमननाथ ढुंगाना र सुवास नेम्वाङ यसका उदाहरण हुन् । ढुंगाना र नेम्वाङले सभा सञ्चालनमा खेलेको भूमिकाको अहिले पनि चर्चा हुन्छ । पछिल्लो समय सभामुख घिमिरेले निभाएको पक्षपातपूर्ण भूमिकापछि तटस्थ भूमिका निभाउने पूर्वसभामुखहरूको स्मरण हुनु स्वभाविक हो ।
प्रतिपक्ष, त्यसमाथि पनि संसदको सबैभन्दा ठूलो दलको विरोधका बीच प्रतिपक्षी सांसदहरूलाई वेलमा घेरेर प्रधानमन्त्रीलाई विश्वासको मत लिन लगाउनु सभामुखको महाभुल हो । सभामुखले सहमतिका लागि पहल गर्नुपथ्र्यो । तर, सहमति गराउन शीर्ष तहमा कुनै पहल नगरी सभामुख घिमिरेले विपक्षी सांसदलाई वेलमा घेराबन्दी गरेर अनौठो नजिर नै बनाइदिएका छन् । सत्तापक्षको भलमिचाई र सभामुखको भूमिकालाई प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले असंसदीय व्यवहारको रूपमा अथ्र्याएको छ । सभामुखको भूमिका पदीय गरिमाअनुकूल नभएको ठहर कांग्रेसको छ ।
लोकतन्त्रमा पक्ष विपक्षमा बहस हुनु स्वभाविक हो । कतिपय संवैधानिक दायित्व पूरा गर्न सहमतिको विकल्प हुँदैन । आफुअनुकुल संसद चलाउन सत्तापक्ष र प्रतिपक्षले दबाब दिनु स्वभाविक हो । यस्तो अवस्थामा सभामुखले विकेक प्रयोग गर्नुपर्छ । सत्तापक्षको चाहना अनुसार नै सभामुख अघि बढेपछि मन्त्री र सत्तापक्षका सांसदहरू सभामुखले संसदीय व्यवस्था अनुसार नै सभा सञ्चालन गरेको दाबी गरिरहेका छन् ।
सदनमा सत्तापक्ष र प्रतिपक्षको भिडमा मर्यादा पालकहरूले सभामुखको आदेश पालना गरेका हुन् । सभामुखले भने पदीय मर्यादा भुलेका छन् । सभामुखको पूर्वाग्रही सदन सञ्चालनकै कारण प्रतिपक्ष र सत्तापक्षका सांसदबीच झण्डै हात हालहालको स्थिति सिर्जना भएको थियो । राजनीतिक विश्लेषकहरू भने अहिलेको राजनीतिको कोर्स नै करेक्सन गर्नुपर्ने दाबी गरिरहेका छन् ।
प्रतिपक्ष र सत्तापक्षको तिक्ततापूर्ण सम्बन्धलाई सुधार गर्दै सभा सञ्चालन गरेर आफूलाई अब्बल साबित गर्नुपर्ने सभामुख नै सत्तापक्षमा उभिदा कलंकको टिका लाउन बाध्य भएका छन् । सभामुख घिमिरेले सदनमा उभिएर बोल्नेबाहेक प्रतिपक्ष र सत्तापक्ष बीचको विवादलाई समाधान गर्न कुनै पनि पहल गरेको देखिएन । कार्यव्यवस्था परामर्श समितिको औपचारिक छलफलमै उनी सीमित भए । राज्यका अंगहरूबीच शक्ति सन्तुलनमा सभामुखको महत्वपूर्ण भूमिका हुन्छ । त्यसलाई सभामुखले बोध गर्न सक्नुपर्छ । पृष्ठभूमि जे सुकै भए पनि सभामुख भएपछि पार्टीभन्दा माथि उठेर तटस्थ र स्वतन्त्र भूमिका निर्वाह गर्दा नै व्यक्तिगतका साथै देश र जनताको हितमा हुनेछ । विगतबाट पाठ सिक्दै सभामुख घिमिरेले आफुलाई सच्याएर अगाडि बढ्न जरूरी छ ।
प्रतिक्रिया