Breaking

सन्दीपमाथि अर्को संकट, विश्वकप खेल्ने सपना होला पूरा ?, निरास भए समर्थक


काठमाडौँ – वेष्ट इण्डिज र अमेरिकामा हुन लागेको आईसीसी टी–२० विश्वकप आउन अब नौ दिनको समय बाँकी छ । तर, नेपाली टिमका सबैभन्दा महत्वपूर्ण र भरपर्दा खेलाडी लेग स्पीनर सन्दीप लामिछाने भने अझै नेपालमा नै छन् । विश्वकप तयारीका लागि अन्य खेलाडीसँगै अभ्यासमा हुनुपर्ने लामिछानेलाई अमेरिकाले भिसा नदिँदा विश्वकप खेल्ने÷नखेल्ने अन्योलता बढेको छ ।


नेपाली लेग स्पीनर सन्दीप लामिछानेको आईसीसी टी–२० विश्वकप खेल्ने सपनामा कालो बाँदल मडारिन थालेको छ । आयोजक राष्ट्र मध्येको एक अमेरिकाले लामिछानेलाई भिसा दिन अस्वीकार गरेपछि विश्वकपका लागि उनले बुनेका हरेक सपना पानीको फोका जस्तै हुने डर सिर्जना हुँदैछ । अहिलेसम्म भिसा नदिनुको स्पष्ट कारण पनि अमेरिकाले खुलाएको छैन । यसमा अमेरिका नै बाधक बत्रे जस्तो देखिएपछि लामिछानेलाई विश्वकपमा सामेल गराउनतर्फ सम्बन्धित निकायहरू सक्रिय रुपमा लागिपरेका छन् ।
नेपाल क्रिकेट सङ्घ (क्यान) सन्दीपको भिसा खुलाउन निरन्तर लागिपरेको छ ।

बुधबार सन्दीपको भिसा अस्वीकृत भएको जानकारी पाएसँगै राष्ट्रिय खेलकुद परिषद्, खेलकुद मन्त्रालय, परराष्ट्र मन्त्रालयदेखि प्रधानमन्त्रीको सचिवालयसम्म अवगत गराएको क्यानले बिहीबार बिहानैदेखि खेलकुदमन्त्री बिराजभक्त श्रेष्ठसँग पनि छलफलमा जुटेको थियो । क्यान सचिव पारस खड्कासहित राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाही बिहानै सन्दीपलाई लिएर हरिहरभवनस्थित मन्त्री क्वार्टरमा पुगेका थिए । भेटपछि मन्त्री श्रेष्ठले परराष्ट्र मन्त्रालयलाई सन्दीपलाई भिसा उपलब्ध गराउन आवश्यक सहजीकरण गर्न अनुरोध गर्दै पत्र पठाएका छन् । सन्दीप टिममा सामेल हुँदा मनोबल बढ्ने र राष्ट्रिय टिमका पूर्वकप्तान समेत रहेकाले टिममा उनको महत्वपूर्ण भूमिका रहने क्यानका सचिव खड्का बताउँछन् ।

सन्दीपसँग यसअघि अमेरिकाको पाँच वर्षे मल्टिपल भिसा थियो । तर, उक्त भिसा दूतावासले एकपक्षीय निर्णय गरेर बीचमै रद्द गरिदिएको बुझिएको छ । त्यही भएर अहिले फेरि भिसाका लागि आवेदन दिनुपरेको हो । सन्दीपलाई यसअघि पनि अमेरिकाले भिसा दिन अस्वीकार गरेको थियो । २०१९ मा क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न अमेरिका हुँदै जान भिसाका लागि अमेरिकी दूतावासमा निवेदन दिएका थिए ।

भिसा नभएपछि सन्दीपले ट्विटरमा प्रधानमन्त्री कार्यालय र अमेरिकी दूतावासलाई मेन्सन गर्दै भिसा नपाएको कुरा पोस्ट गरेपछि व्यापक विरोध भएको थियो । क्रिकेट समर्थकहरुले चर्को आलोचनापछि दुतावासले फेरि बोलाएर भिसा दिएको थियो । त्यसैले अहिले पनि सामाजिक सञ्जालमा सन्दीपलाई भिसा दिन भन्दै अमेरिकी दूतावासमाथि दबाव दिने समर्थकहरुको ओइरो लागिरहेको छ । अमेरिकाले सन्दीपलाई भिसा दिन नमाने पछि विभित्र खालका असन्तुष्टि पोखिरहँदा दूतावासको आधिकारिक फेसबुक पेजमा भिसा दिन आग्रह गर्दै म्यासेज पठाउन समर्थकहरुले अभियान नै चलाइरहेका छन् । यता, क्यानले पनि सन्दीपलाई विश्वकपमा सामेल गराउनका लागि सम्बन्धित निकायहरुसँग आवश्यक समन्वयका साथै पहल गरिरहेको जनाएको छ ।

बलात्कारको मुद्दा खेप्दै आएका सन्दीपलाई उच्च अदालत पाटनले निर्दोष भनेर सफाइ दिएपछि उनको विश्वकपका लागि ढोका खुलेको थियो । क्यानले पनि अदालतको फैसलापछि टिममा समावेश गरेको थियो भने आईसीसीले पनि विश्वकप खेल्न अनुमति दिइसकेको छ । उच्च अदालतले दिएको क्लिन चिटले सन्दीपको विश्वकप खेल्ने सपना पूरा हुने सम्भावनाका बीच भिसा नपाउनु उनका लागि दुर्भाग्य बन्ने देखिएको छ । यद्यपि, क्यान र सम्बन्धित निकायले पहल गरिरहेकाले अझै पनि विश्वपक खल्ने आशा जीवितै छ । अहिले १५ सदस्यीय टोली अमेरिका र वेष्ट इण्डिजमा अभ्यास गरिरहँदा यता उनी भने निश्चित साधन÷स्रोतकाबीच एक्लै अभ्यास गरिरहेका छन् । खेलकुद मन्त्रालय र क्यानले विश्वकप खेल्न आवश्यक सबै प्रक्रिया पूरा गरिसकेको छ भने अब भिसाको विषय टुंगो लाउने जिम्मा परराष्ट्र मन्त्रालयले पाएको छ ।

अमेरिकासँगै वेष्ट इण्डिजमा पनि विश्वकप हुने हुँदा सन्दीपलाई वेष्ट इण्डिजमा हुने साउथ अफ्रिका र श्रीलंकाको खेलमा उपलब्ध गराउन सक्ने विकल्प त छ तर, सन्दीपलाई उक्त खेलमा स्थान दिँदा अमेरिकामा हुने खेलमा उनी उपलब्ध हुने छैनन् । जसले गर्दा अमेरिकामा खेलिने नेदरल्याण्डस् र बंगलादेशको खेलमा एक खेलाडीको अभाव खड्किने छ । शुक्रबारसम्म अन्तिम १५ सदस्यीय टोलीको घोषणा गरिसक्नु पर्ने आईसीसीले जनाएको छ । यदि शुक्रबारसम्म पनि सन्दीपको नाम टिममा परेन भने उनी विश्वकप खेल्नबाट बञ्चित हुनेछन् ।