Breaking

चीनले ताइवानको सातो लिने गरी देखायो सैन्य शक्ति, युद्धको संकेत


काठमाडौँ – चीनले ताइवान नजिकै बृहत् स्तरमा सैन्य अभ्यास गरिरहेको छ । चीनले ताइवानलाई पाँच तिरबाट घेरेर सो अभ्यास गरेको हो ।
चीन र ताइवानको सम्बन्धमा खटपट आउनु कुनै नौलो कुरा भने होइन । अमेरिकाको तल्लो सदनकी सभामुख न्यान्सी पलोसीले ताइवान भ्रमण गरेलगत्तै चीनले ताइवान वरपर सैन्य अभ्यास गरेपछि यसले विश्वभर हलचल नै मच्चाएको थियो । त्यति मात्रै हैन ताइवानका राष्ट्रपति साई इङ्ग–वेन र अमेरिकी सदनका सभामुख केभिन म्याकार्थीबीचको भेटलाई लिएर चीनले सैन्य अभ्यास गरेको थियो ।

चीनको चेतावनीबीच ताइवानका राष्ट्रपति साईले अमेरिकाका सभामुख केभिन म्याकार्थीलाई भेटेका थिए । चीनले ताइवानका राष्ट्रपति साईले अमेरिका भ्रमणका क्रममा त्यहाँको तल्लो सदनका सभामुखलाई भेटेमा त्यसविरुद्ध लड्ने चेतावनी दिएको थियो ।
यसैबीच चीनले फेरि पनि ताइवानलाई आफ्नो क्षेत्र बनाउन जोडबलका साथ ताइवान नजिकै बृहत् स्तरमा सैन्य अभ्यास गरिरहेको छ । चीनले ताइवानलाई पाँच तिरबाट घेरेर सो अभ्यास गरेको हो । पूर्ण रुपमा चीनले ताइवानमाथि आक्रमणको अभ्यास गरेको यो पहिलोपटक भएको बताइएको छ ।

यसअघि सन् २०२२ मा भने चीनले ताइवानमाथि आर्थिक नाकाबन्दी लगाएको थियो । यसअघि चीनले थाहै नदिई सैन्य अभ्यास गर्ने गरेको थियो । तर सन् २०२२ यता चेतावनी दिँदै सैन्य अभ्यास गर्न थालेको छ । गएको ७० वर्षदेखि ताइवान र चीनबीच ‘मेडियन लाइन’ ले दुई देशबीच अनधिकृत रूपमा सीमाको काम गरिरहेको थियो । तर चीनले बारम्बार सो रेखा पार गरेर ताइवान नजिक सैन्य अभ्यास गरिरहेको छ ।
सन् २०२२ मा अमेरिकाको तल्लो सदनकी सभामुख नेन्सी पोलेसीले ताइवानको भ्रमण गरेयता यो क्रम बढेको छ ।

त्यतिबेला नै चीनले मेडियन लाइनलाई नमान्ने भनेको थियो । चीनले ताइवान आफूबाट छुट्टिएको एउटा प्रान्त भएको दाबी गर्दै अन्ततः फिर्ता ल्याइने बताउने गरेको छ । तर आफ्नै संविधान र प्रजातान्त्रिक निर्वाचन प्रणाली भएको स्वशासित टापु ताइवानले आफूलाई चीनभन्दा भिन्न ठान्छ । अहिले चलिरहेको सैन्य अभ्यासले ताइवान टापुलाई चीनले जुनसुकै बेला कब्जा गर्न सक्ने सामथ्र्य देखाउन खोजेको छ । चिनियाँ सेनाले ताइवान वरपर लामो दूरीका रकेट, मिसाइल, लडाकु विमान, बमवर्षक लगायतका अत्याधुनिक हतियार तैनाथ गरेको छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्ना भाषणहरूमा ताइवानसँगको एकीकरण पूरा हुने बताउने गरेका छन् । उनले यो हासिल गर्न बल प्रयोग गर्न सक्ने पनि बताएका छन् । ताइवानले आफूलाई एउटा सार्वभौम राष्ट्र मान्ने गरे पनि लामो समयदेखि चीनले त्यसलाई आफ्नो भूभाग भएको दाबी गर्दै आएको छ ।