Breaking

गणतन्त्रको नांगो नाचले राजावादी मख्ख, पूर्वराजा ज्ञानेन्द्रको फर्किने तयारी, व्यवस्था धरापमा परेकै हो ? (भिडियोसहित)


काठमाडौँ— सत्तापक्ष र प्रतिपक्षको भिडन्तले राष्ट्रिय राजनीति रणभुल्लमा छ । सत्ता स्वार्थमा सडक र सदनमा दलहरुले प्रर्दशन गरेको गाईजात्राले संसदीय व्यवस्थाको धज्जी उडाएको छ । संसदीय व्यवस्थामा देखिएको लज्जास्पद दृश्यले अहिले राजावादी र व्यवस्था विरोधी पक्षहरु भने थप हौसिएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वयम् सदनमा असुरक्षित महसुस गर्छन् । मर्यादापालकको रेकीमा रोष्ट्रमसम्म पुग्ने र रोष्ट्रममा समेत चार चार जना मर्यादापालकको सुरक्षा घेराभित्र रहँदै आएका छन् । संसद सुरु हुँदा नहुँदै दौडेर वेल घेराउ, चर्को नाराबाजी सामान्य बनिसकेको छ । माननीयहरुले सामान्य संसदीय मर्यादाकोसमेत ख्याल नगरी मर्यादापालकमाथि नै झम्टिनेदेखि भौतिक आक्रमणमै उत्रिएका दृश्यले सबैलाई लज्जित तुल्याएको छ । सदनमा माननीय ज्यूहरुको तछाडमछाड, धक्कामुक्कीको निर्लज्ज हर्कतले आफ्नो व्यक्तिगत छवि मात्र धमिल्याएको छैन संसदीय गरिमाकै धज्जी उडाएको छ ।

सदनको यो कुरुप दृश्यले व्यवस्था विरोध र प्रतिक्रियावादीहरु हौसिएका छन् । नीति निर्माण गर्ने थलो सदन दलहरुको भिडन्तले रणभूमि बनिरहेको छ । सदनको निकास खोज्नेभन्दा एकले अर्कालाई पेलेरै जाने नीतिका कारण सदन बन्धक त भएकै छ, संसद विघटनदेखि मध्यावधिसम्मको टिकाटिप्पणीले राष्ट्रिय राजनीतिक तरंगित बनेको छ । राजावादी दलको रुपमा परिचित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) हौसिनु स्वभाविक हो । २ सय वर्ष लामो राजतन्त्रको अन्त्य गर्दै गणतन्त्र ल्याउन एक साथ लडेका दलहरु नै अहिले यही व्यवस्थामा सदनभित्रै कुटाकुट र एकअर्काविरुद्ध भिडिरहेका छन् । दलहरुका यी नाङ्गो नाचले अहिलेको व्यवस्थाविरुद्ध सलबलाइ रहेका प्रतिक्रियावादी शक्तिहरुको भने आत्मबल बढ्न थालेको छ ।

प्रतिपक्षविरुद्ध निषेधको नीति लिएर अघि बढेको सरकार निरंकुश बनेको आवाज थप चर्को बन्ने पक्का छ । सडकदेखि सदनसम्म राजनीतिक गाईजात्रा मञ्चन हुँदा यता पूर्वराजा ज्ञानेन्द्र शाह सडकमै पुगेर जात्रामा रमाउन भ्याएका छन् । राजनीतिक परिस्थिति र पूर्वराजाको सक्रियताले अहिलेको व्यवस्था विरोधी शक्तिहरु थप सल्बलाउने सम्भावना झनै बढेर गएको छ ।

संघीय लोकतान्त्रिक गणतन्त्रको हिमायती भन्नेहरुले नै सदन र सडकमा देखाएको रमिताले आम नागरिक वाक्क बन्दै गएका छन् भने प्रतिक्रियावादीहरुले शिर उठाउन थालेको स्पष्ट हुँदै गएको छ । पछिल्लो समय निरन्तर सडक संघर्षदेखि सदनमा खुलेआम चुनौती नै दिँदै आएका व्यवस्था विरोधीलाई हौसिने वातावरण गणतन्त्रको पक्षपातीहरुबाटै प्रस्तुत हुनु चिन्ताको विषय बनेको छ । दलहरुले सत्ता र शक्तिका लागि एक अर्कालाई गिराउने र आफू उठ्ने खेल बारम्बार दोहो¥याउनु देशको उज्वल भविष्यको सपना देखिरहेका नागरिकका लागि भने दुर्भाग्य मान्नु पर्छ ।।