Breaking

गरिब जनताका धनाढ्य मन्त्री, सुन र जग्गाको भण्डार, रघुवीरपछिका धनी रवि,प्रचण्डको बढ्यो


सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित उनका मन्त्रिपरिषदका सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । प्रधानमन्त्री प्रचण्डसहित कुन मन्त्रीका कति छन् त सम्पत्ति ?

भ्रष्टाचार निवारण आयोग ऐन, २०५९ को दफा ५० मा ‘सार्वजनिक पद धारण गरेको ६० दिनभित्र र त्यसपछि हरेक नयाँ आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र सम्पत्ति विवरण नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको निकाय वा अधिकारीसमक्ष पेस गर्नुपर्ने’ व्यवस्था छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ मा उल्लेख भएर अनुसार अन्य व्यक्तिको प्राप्त सम्पत्ति विवरण गोप्य राख्ने व्यवस्था भए पनि प्रधानमन्त्री र मन्त्रीहरूका हकमा सार्वजनिक गर्ने अभ्यास चल्दै आएको छ । तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेको १७ महिनासम्म १८ पटक मन्त्रिपरिषद हेरफेर भयो । दर्जनौं मन्त्री भए ।

कसैको पनि सम्पत्ति विवरण सार्वजनिक गरिएको थिएन । पछिल्लो पटक मन्त्रिपरिषद विस्तार भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुको दवावपछि मन्त्रिपरिषदबाट नै निर्णय गरेर सरकारले प्रधानमन्त्री प्रचण्डसहित मन्त्रिपरिषदका सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको हो । सरकारले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार प्रधानमन्त्री प्रचण्डसँग भरतपुरमा १४ कठ्ठा पार्किङको जग्गासहित एउटा घर, भरतपुर १२ मा अंशबाट प्राप्त १ कट्ठा अचल सम्पत्ति र पाँच तोला पैतृक सुन, २५ लाख नगद छ । २०७३ मा सार्वजनिक सम्पत्ति विवरणभन्दा प्रचण्डको दुई तोला सुन र जग्गासमेत थप भएको देखिएको छ ।


उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ अहिलेको मन्त्रिपरिषदका सबैभन्दा धनी मन्त्रीमा पर्छन् । मन्त्री महासेठको नाममा जनकपुरमा १ बिघा १५ कट्ठा जग्गा रहेको छ भने २ करोड २५ लाख बैंकमा नगद रहेको उल्लेख छ ।
मन्त्री महासेठसँग ४३ तोला सुन र १.५ केजी चाँदी छ । उनकी श्रीमती जुलिकुमारीको नाममा फाइनान्स, लघुवित्त, बैंक गरी २ करोड ५० लाख नगद र ५ लाख सेयर रहेको सार्वजनिक सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

जुलिकुमारी महतोको नाममा जनकपुर उपमहानगरपालिकामा ३ कट्ठा, ललितपुरमा २ रोपनी १३ आना २ पैसा १ दाम, धनुषामा ७ बिघा ३ कट्ठा, सिन्धुलीमा ४ कट्ठा, ललितपुरमा १ रोपनी ७ आना, धनुषामा ३ कट्ठा ११ धुर जग्गा रहेको विवरणमा उल्लेख छ । श्रीमतीको नाममा विभिन्न कम्पनीको ३ करोड ५५ लाखको सेयर रहेको छ । उनले पैतृक सम्पत्ति बेचेर सम्पत्ति आर्जन गरेको विवरणमा उल्लेख गरिएको छ ।

वरीयतामा रघुवीरपछि रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री नारायाणकाजी श्रेष्ठसँग तलब सुविधाको १ लाख २२ हजार ९१८ रूपैयाँ मौज्दात रहेको उल्लेख छ । उनले चड्ने गरेको गाडी खरिद मूल्य उनलाई थाह नभएको र प्रधानमन्त्री प्रचण्डले प्रयोगका लागि आफूलाई उपलब्ध गराएको विवरणमा उल्लेख गरिएको छ । गोरखा सिरानचोक ८ मा करिब ३८ रोपनी पैतृक सम्पत्ति रहे पनि २०५८ सालमा पार्टीको नाममा सुम्पिएको र सो प्रक्रियामा रहेको जनाएका छन् । सम्पत्ति विवरण हेर्दा श्रेष्ठ मन्त्रिपरिषदमा सबैभन्दा कम सम्पत्ति भएका मन्त्री बनेका छन् ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको भक्तपुरमा एक रोपनी एक आना जग्गा र दुईवटा बैंकमा गरेर एक लाख १० हजार चल नगद रहेको उल्लेख छ । बाँकी अधिकांश सम्पत्ति उनकी श्रीमती निकिता पौडेल लामिछानेको नाममा रहेको उल्लेख गरिएको छ । ८० तोला सुन रहेको र अधिंकाश बुवा, आमा तथा केही श्रीमती पौडेलले खरिद गरेको लामिछानेले उल्लेख गरेका छन् ।


अर्थमन्त्री वर्षमान पुनको एनएमबी बैंकमा ३३ लाख ७० हजार नगद रहेको सम्पत्ति विवरण सार्वजनिक भएको छ । त्यस्तै रोल्पामा ८२० वर्गमिटर क्षेत्रफलको जमिन भएको र उक्त जमिन पैतृक सम्पत्ति भएको उल्लेख गरिएको छ ।
सरकारका प्रवक्ता सञ्चार मन्त्री रेखा शर्माको नाममा ३६ लाख रुपैयाँको गाडी रहेको विवरणमा भनिएको छ । विभिन्न बैंक तथा वित्तीय संस्थामा २१ लाख ७८ हजार रुपैयाँ मौज्दात रहेको देखिएको छ । ६ तोला सुन र २ तोला चाँदी साथै ३६ लाख रुपैयाँको गाडी रहेको विवरणमा उल्लेख छ ।


श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डीपी अर्यालले सार्वजनिक गरेको विवरण अनुसार १५० तोला सुन, १ सय तोला चाँदी र १० तोला हिरासहित सवा दुई करोड नगद रहेको उल्लेख छ ।
युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठसँग विभिन्न कम्पनीका १५ हजारभन्दा धेरै कित्ताको मूल्य एक करोड ९ लाख बराबरको शेयर रहेको उल्लेख छ । अचल सम्पत्तिमा १५ तोला सुन र ५० तोला चाँदी रहेको उल्लेख छ । विभिन्न आठ वटा बैंकमा ८३ लाख ७२ हजार ७५४ रुपैयाँ बचत रहेको उनको विवरणले देखाएको छ । श्रेष्ठले सो रकम स्वआर्जन भएको बताएका छन् ।
८५ लाखको टोयटाको ल्याण्ड क्रुजर र १९ लाख ७५ हजारको एमजी विद्युतीय गाडी रहेको पनि उल्लेख गरेका छन् भने एउटा ३ लाख ६४ हजारको स्कुटर रहेको छ । विभिन्न ब्राण्डको ३ लाखको घडी रहेको र २० लाख रुपैयाँ बुबासँग ऋण लिएको पनि मन्त्री श्रेष्ठले उल्लेख गरेका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठलको ११ तोला सुन, १ सय तोला चाँदी, ८ आना जमिन लगायत सम्पत्ति रहेको विवरण सार्वजनिक भएकोछ । काभ्रेमा ८ आना ६ पैसा जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख छ । सो जग्गा आफ्नो पारिश्रमिकबाट खरिद गरेको उल्लेख छ । साथै श्रीमानको नाममा ५ करोड र उनको २ करोड गरी सात करोड रुपैयाँ विभिन्न बैंकमा रहेको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ ।
वन मन्त्री नवलकिशोर साह सुडीको सुनमात्र १५८ तोला रहेको छ । करिब डेढ किलो अर्थात एक हजार ४२९ ग्राम चाँदी रहेको छ । सुडीले पेस गरेको सम्पत्ति विवरणमा अधिकांश सुन तथा चाँदीको स्रोत दाइजो राखिएको छ । महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री भगवती चौधरीको सम्पत्तिमा पाँच तोला सुन र २५ किलो चाँदी रहेको छ । त्यस्तै काठमाडौंमा १२ आना, एक पैसा र तीन दाममा बनेको घर रहेको उल्लेख छ । यस्तै, सुनसरीको दुहवीमा एक कठ्ठा एक धुर जग्गामा बनेको घर रहेको उल्लेख छ । सार्वजनिक मन्त्रीहरुको सम्पत्ति विवरणलाई हेर्दा अधिकांश मन्त्रीहरुमा अनुत्पादक जग्गा र सुनमा बढी मोह देखिएको छ ।