Breaking

इरानी राष्ट्रपतिको निधन : विश्वभर तरंग, युद्धरत देशमा आरोप–प्रत्यारोप, इजरायलले नै हेलिकोप्टर खसाल्यो ?


हेलिकप्टर दुर्घटनामा इरानका राष्ट्रपति इब्राहिम रईसीको निधन भएपछि विश्वभर हलचल मच्चिएको छ । इब्राहिम रइसीको ज्यान गएसँगै दुर्घटनामा अन्य देशको संलग्नता त छैन भन्ने प्रश्नहरुसमेत उठ्न थालेको छ ।

इरानी राष्ट्रपति इब्राहिम रईसी चढेको हेलिकप्टर दुर्घटनाग्रस्त भएको खबरले यतिबेला विश्वभर हलचल मच्चाएको छ । दुर्घटनामा रईसी, विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियान र अन्य ७ सहित कुल ९ जनाको मृत्यु भएको इरानी अधिकारीहरुले जनाएका छन् । बाक्लो कुहिरोका कारण दुर्घटना भएको बताइएको छ । राष्ट्रपति इब्राहिम रईसीलाई इरानका सर्वोच्च नेता आयतोल्लाह अली खोमेनीको उत्तराधिकारी मानिँदै आइएको थियो । उनी सवार हेलिकप्टर दुर्घटनामा परेपछि चौतर्फी रूपमा अनेकौँ प्रश्न उठिरहेका छन् । राष्ट्रपतिको उदयसंगै अमेरिका, इजरायल जस्ता देशले उनलाई मन पराएका थिएनन् । इजरायलले इरानमा रईसी नयाँ राष्ट्रपतिमा निर्वाचित भएको चुनावलाई अन्तर्राष्ट्रिय समुदायले गम्भीर चासो दिनुपर्ने बताएको थियो ।

रईसीलाई इरानको अहिलेसम्मकै कट्टरपन्थी राष्ट्रपतिका रुपमा चित्रण गरिएको थियो । इब्राहिमको उदयले इरानको परमाणु हतियार विकासमा थप बल पुग्ने गरेको इजरायले यस अघि नै उद्घोष गरिसकेको थियो । केही महिना अघिमात्रै इरानले इजरायलमा हमला गरेको थियो । अहिले गाजामा इजरायलले हमला गरिरहेको छ । गाजामा हमला नगर्न इरानले बारम्बार इजरायललाई चेतावनी दिँदै आएको थियो । रईसीको मृत्युको पछाडि के इजरायलको हात त छैन भन्ने प्रश्नहरु पनि उठ्न थालेको छ । यता अमेरिकी सांसद चक शुमरले रईसी चढेको हेलिकप्टर दुर्घटनामा षडयन्त्र भएको आशंकाप्रति प्रतिक्रिया दिएका छन् ।

सिनेटका वरिष्ठ डेमोक्र्याट सांसद शुमरले हेलिकप्टर दुर्घटनाको पछाडि कुनै षड्यन्त्र छ भनेर अहिले नै भन्न नसकिने बताएका छन् । रईसी सन् १९८९ देखि १९९४ सम्म तेहरानका अभियोजक जनरल र त्यसपछि सन् २००४ देखि अर्को दशकसम्म न्यायिक प्राधिकरणका उपप्रमुख थिए । सन् २०१४ मा उनी इरानको अभियोजक जनरल बने । इरानी न्यायपालिकाको प्रमुख रहेका रईसीको राजनीतिक विचारलाई ‘चरम कट्टरपन्थी’ मानिन्छ । उनी इरानका कट्टरपन्थी नेता र देशका सर्वोच्च धार्मिक नेता आयतोल्लाह अली खोमेनीको नजिक मानिन्छन् ।

रईसी सन् २०२१ को जुनमा उदारवादी हसन रुहानीको ठाउँमा इरानको राष्ट्रपति निर्वाचित भएका थिए । इरानी राष्ट्रपति रईसीको मृत्युपछि हमासले आधिकारिक विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा हमासले इरान सरकार र इरानका जनताप्रति समवेदना व्यक्त गरेको छ । दुःख र अफ्ठ्यारो परिस्थितिमा आफूहरू इरानको साथमा रहेको विज्ञप्तिमा भनिएको छ ।

‘दुर्घटनामा इरानका त्यस्ता नेताहरूको ज्यान गएको छ जसले इरानको हितका लागि लामो लडाइँ लडे र हाम्रो लडाईलाई पूर्ण समर्थन गरे । उनको मृत्युमा हमास समूहलाई ठूलो क्षति भएको छ ।’ हमासले जारी गरेको विज्ञप्तिमा भनिएको छ । इरानका राष्ट्रपतिको मृत्युले यतिबेला विभिन्न प्रश्नहरु खडा गरेको छ । यदि इजरायलले यो घटना घटाएको पुष्टि भएमा इरानले कुनै हालतमा छोड्ने छैन । इजरायलले त्यसको मूल्य चुकाउनु पर्ने अवस्था आउँदा दुई देशबीच युद्धकै अवस्था सिर्जना हुन सक्ने विश्लेषण पनि भइरहेको छ । साथै मध्यपूर्व क्षेत्र पुनः एकपटक बारुदको धुवाँले डकमक्क आकाश ढाकिने र अशान्त बन्ने छ ।