Breaking

सडकको बास, प्रहरीसँगको दोस्ती हत्यामा बदलियो, भूत बंगलामा पानी पनि नदिई कुटीकुटी मारे


काठमाडौंको मनमैजुस्थित हरियोचौरमा प्रहरी जवानको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा ७ जना पक्राउ परेका छन् । दरबारमार्ग ट्राफिक प्रहरीमा कार्यरत प्रहरी जवान युवराज घिमिरेको हत्या भएको अवस्थामा निर्माणधीन दुईतले घरमा शव भेटिएको थियो । आखिर काठमाडौंमै ट्राफिक जवानको हत्या हुने अवस्था कसरी आयो ?

काठमाडौं उपत्यकमै ट्राफिक प्रहरीको हत्या । हत्यारामध्ये धेरैजसो उमेरले १८ वर्ष पनि कटेका छैनन् । अनुहारमा जुंगाको रेखीसमेत बसिसकेको छैन । तर, यीनै ७ मध्येका दुई जनाको माया जालले ट्राफिक प्रहरी वृत्त दरबारमार्गका जवान युवराज घिमिरेको हत्या भयो । यो समूहमा एक नाबालक पनि छन् । पेशा व्यवसाय केही पनि छैन । काम पाइहाले गर्छन् पनि, तर यिनीहरुको बास सडक पेटी र निर्माणधीन घरहरुमै हुन्छ । सचिन परियार, अञ्जली श्रेष्ठ, बसुन्धारा कार्की, नुनमाया कार्की, बुद्ध लामा तामाङ, अमृत तामाङको समूहले घिमिरेको ज्यान लिएको प्रहरीको दाबी छ । यसमध्ये ४ जनालाई तारकेश्वर जंगलमा सुतिरहेको अवस्थामा र अरुलाई पक्रन हवाइ फायर गर्नसमेत प्रहरी बाध्य बन्यो ।

गोंगबुको गणेस्थान बस्दै आएका प्रहरी जवान घिमिरे जेठ चार गते साँझ तारकेश्वरस्थित एक होटलमा खाजा खान गएका थिए । त्यही होटेलमा बालाजुको सडक पेटी र निर्माणाधीन घरमा आश्रय लिएर बस्ने सचिन परियार र अञ्जली श्रेष्ठ आइपुग्छन् । प्रहरीका अनुसार युवराज र सचिनको पहिल्यैदेखि चिनजान थियो । तर अञ्जलीसँग थिएन । प्रहरीका अनुसार उनीहरु लिभिङ टुगेदरमा थिए । उनीहरु सँगै खाजा पनि खान्छन् । तर युवराजले अञ्जलीलाई आँखा झिम्क्याउँ छन् । जुन सचिनलाई पटक्कै मन पर्दैन । युवराजलाई यो कुरा सामान्य लागे पनि सचिनले भने त्यही बेलादेखि उनीसँग रिसिइबी लिइसकेका हुन्छन् । खाजाको मिठासमै युवराजमाथि हदैसम्मको बदला लिने क्रुर योजना सचिनले बुनेका थिए ।

त्यसपछि सचिनले अञ्जलीलाई बिसञ्चो भएको बाहना बनाउँछन् । युवराजले पनि होला त नि ! भन्दै आफ्नै मोटरसाइकलमा एक निर्माणाधीन घरमा पु¥याई दिन्छन् । यो घरको निर्माण अहिले रोकिएको छ । घर सुनसान तर, आश्रय लिन यो घरमा मानिसहरु आउजाउ गरिरहन्छन् । यसरी आश्रय लिने त्यही समूहका युवाहरु हुन् । विपना, नुनमाया, बुद्ध, अमृत र एक नाबालक पनि । प्रहरी जवान युवराजले निर्माणाधीन घरसम्म अञ्जली र सचिनलाई पु¥याई दिन्छन् । तर सबै मिलेर युवराजमाथि रड र इट्टा प्रहार गर्छन् । अकस्मातको आक्रमणको भेउ युवराजले पाउँदै सक्दैनन् । सचिनको समूहका सात जनाको आक्रमणमा परेका युवराज त्यही ढल्छन् । यसक्रममा युवराजकै बेल्ट फुकालेरसमेत यातना दिइन्छ । चरम यातनाले उनी मरणासन्न अवस्थामा पुग्छन् । पानी–पानी भन्दै चिच्याइ रहन्छन् । उक्त समूहमा रहेकी विपनाले पानी पनि दिन्छिन् । तर सचिनले थप चिच्याए मारिदिने धम्की दिँदै विपनाले दिएको पानी पनि पिउन दिएनन् । हत्या गरिसकेपछि शवलाई केही पर घिसारेर उनको जुत्ता, कपडा सबै जलाउँछन् । शवलाई म्याट्रेसले ढाकेर त्यही छाड्छन् र पुरै समूह जरंखुस्थित सडक पेटी पुगेर सुत्छ ।

त्यही दिन शुक्रबार बेलुका एक किशोर त्यो घरमा पुुग्छन् । त्यो घरको भुइँ तलामै उनले मानिसको खुट्टा देखे, शरीर म्याट्रेसले ढाकेको अवस्थामा देखेपछि अरु मानिसहरुलाई पनि यसबारे सुनाएपछि प्रहरी घटनास्थल पुगेको थियो । प्रहरीलाई हत्यारासम्म पु¥याउने महत्वपूर्ण माध्यम भने सीसीटीभी फुटेज बन्यो । सीसीटीभीकै सहयतामा प्रहरीले सबैभन्दा पहिले १३ वर्षीय बालकलाई नियन्त्रणमा लिएको थियो । ‘मेरै अगाडि मारेका हुन्, मलाई कसैलाई नभन्नु भनेका छन् ।’ उनले प्रहरीसँगको बयानमा भनेका थिए । उनकै बयानको आधारमा प्रहरीले हत्यामा संलग्न अरुलाई पक्राउ गर्न सफल भएको थियो । प्रहरीका अनुसार ट्राफिक प्रहरी जवान युवराजसँग रहेको २ हजार रुपैयाँ पनि उनीहरुले लगेका थिए । घिमिरेको हत्या हुनुमा लुटपाट, महिलासँगको विवाद लगायतका कारण हुनसक्नेतर्फ प्रहरीले अनुसन्धान अघि बढाएको छ । प्रहरी स्रोतका अनुसार हत्या सलंग्नहरु लागुऔषध प्रयोगकर्ता रहेको पनि खुलेको छ ।