Breaking

बालुवाटार भन्दा शक्तिशाली बालकोट, ओली–रविको दबदवाले प्रचण्ड हैरान, सत्तामा माधव रमिते (भिडियोसहित)


काठमाडौँ— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको सत्ताको बागडोर सम्हालेको १७ महिना बितेको छ । प्रधानमन्त्रीको तेस्रो इनिङमा सुशासन र समृद्धिमा उथलपुथल नै ल्याउने उद्घोष गरेका थिए । तर सत्तारोहणसँगै सत्ता राजनीतिको सकसले प्रचण्ड थिलथिलो बनेका छन् । सत्तामा शक्तिशाली हुँदाहुँदै राजनीतिक दाउपेचको चेपुवामा परेका प्रधानमन्त्री प्रचण्डको निरीहताले भने सीमा नाघेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जति भावुक देखिन्छन् उत्तिकै कठोर उनको स्वभाव छ । मुलुकको व्यवस्था बदल्न जनयुद्ध छेडेका प्रचण्डसँग जनयुद्धको नेतृत्व र जनयुद्धलाई निकास दिनेदेखि मूलधारको राजनीतिकमा जति पकड छ उत्तिकै उतारचढाव र भोगाईको अनुभव छ । उनै प्रचण्ड विगत १७ महिनादेखि सत्ताको बागडोर सम्हाली रहेका छन । संसदको तेस्रो शक्ति भएर पनि पटक पटक सत्ता उलटफेर गर्दै गठबन्धनको नेतृत्वदायी भूमिकामा रहेर सत्ताको रजगजमा रमाई रहेका प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीको ओत लागे यता राजनीतिक हिसाबले भने निरीह बनेका छन । प्रधानमन्त्रीको कुर्सी जोगाउन एमाले अध्यक्ष ओलीको इसारामा सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको रक्षाकवच नै बनेपछि प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको किचलोमा प्रचण्ड नमज्जाले फसेका छन् । कमजोर संसदीय अंकगणित तर सत्ता लिप्सामा लिप्त प्रचण्ड आफ्नो कुर्सी जोगाउनकै लागि निरीहतालाई सहनु पर्ने बाध्यतामा छन् । १७ महिनामा तीन तीन पटक सत्ता उलटफेर गरेका प्रचण्डलाई तत्काल चाहेर वा नचाहेर ओली–रविसँगै सम्बन्ध कसिलो बनाएर जानुको विकल्प छैन ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति गठन हुनु पर्ने कांग्रेसको हठमा टसमस हुन मानिरहेका छैनन् । कांग्रेसले लामिछानेको नामै किटान गरेर संसदीय छानबिन समिति गठन हुनु पर्ने अडान नछोडपछि यो विषय थप गिजोलिँदै गएको छ । सत्ता गुमेको रनाहामा रहेको कांग्रेस झनै कठोर रुपमा प्रस्तुत हुन थालेको छ । प्रधानमन्त्रीको तेस्रो कार्यकालमा उथलपुथल गर्ने बताएका प्रचण्डलाई आफ्नै गृहमन्त्री गलपासो बनेपछि उनी अहिले रमिते बनेका छन् । ‘मै हुँ’ भन्नेलाई घुमाउँदै आएका प्रचण्ड अहिले कांग्रेसको घेराबन्दीले निरीह बनिरहेका छन् । सत्ताको लोभले रवि च्यापेका उनले न त रवि फकाउन सकेका छन्, न त प्रमुख प्रतिपक्षी कांग्रेससँग सहमति जुटाउने कुनै विकल्प नै भेट्टाउन सकेका छन् ।

कुर्सीको लोभमा चौघेरामा थुनिएको बाघझै भएका प्रचण्ड अब पर्खाल तोड्ने वा निरीह बनेर सीमित चौघेरामै रमाएर बस्छन् ? अर्थात ओली–रविसँगै रहेर कांग्रेसको रमिता हेर्ने वा निकास दिन पहल गर्ने उनी द्विविधामा छन् । साथै सहकारी समस्यासम्बन्धी संसदीय छानविन समिति गठनमा प्रधानमन्त्रीकै कुरामा अटेर गर्ने गृहमन्त्री लामिछानेलाई प्रचण्डले कतिन्जेल बोक्छन् ? कांग्रेस फकाउन उनले के के अस्त्र फाल्छन् ? सबैको चासोको विषय बनेको छ ।