Breaking

एमालेलेनै प्रचण्डलाई विश्वासको मत दिनेमा शंका, के देउवाले फेरि प्रचण्ड बोक्दै छन् ? (भिडियोसहित)


काठमाडौँ— तीन पटक विश्वासको मत लिईसकेका प्रधानमन्त्री प्रचण्ड १७ महिनाको अवधिमा नै अब चौथो पटक विश्वासको मत लिने तयारीमा छन् । कसैले अनुमान लगाउन नै नसक्ने बन्दै गएको नेपाली राजनीतिमा समय अगावै विश्वासको मत लिन प्रचण्ड किन तम्सिरहेका छन् ।

तेस्रो पटक विश्वासको मत लिएको ३८ दिन नपुग्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुनः संसद्बाट चौथो पटक विश्वासको मत लिने तयारी गरेकाछन् ।गत फागुन ३० गते १ सय ५७ सांसदको साथसहित प्रधानमन्त्री बनेका प्रचण्डलाई अविश्वास गर्दै उपेन्द्र यावदको जनता समाजवादी पार्टीले बैशाख ३१ मा समर्थन फिर्ता लिएपछि फेरि विश्वासको मत लिनु पर्ने बाध्यता आईलागेको हो ।
यद्यपी उपेन्द्रले हात झिकेको हप्ता दिन नवित्दै प्रचण्डले हतारो गरेर विश्वासको मत लिन खोज्नुलाई पनि, भित्रभित्रै अर्को उथलपुथल हुन सक्ने संकेतका रुपमा हेरिएको छ । प्रचण्डले जेठ ७ गते सोमबार विश्वासको मत लिने तयारी गरेकाछन् । प्रचण्डका लागि यो सत्ताको अग्नी परीक्षा हो ।
प्रधानमन्त्री भएको १७ महिनामा चौथोपटक विश्वासको मत लिन खोजेका प्रचण्डसँग अहिले नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा नेपालबाट छुटिएको जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र तीन सांसदको साथ छ । एमालेबाट जम्मा ७९ जनाले सदनमा प्रतिनिधित्व गर्ने भए पनि टोपबहादुर रायमाझी निलम्बित र देवराज घिमिरे सभामुखको भूमिकामा हुँदा ७७ जना एमालेका सांसद सरकारको पक्षमा देखिन्छन् । त्यस्तै माओवादीबाट ३२, रास्वपा २१, एकीकृत समाजवादीका १०, अशोक राईको नेतृत्वमा रहेको जसपाका ७, नाउपाको ४ र स्वतन्त्रबाट प्रभु साह, अमेरश कुमार सिंह र योगेन्द्र मण्डलसहित ३ जोड्दा कुल १५४ सांसद हुने अंक गणित छ । सरकार बन्नका लागि १३८ सांसदको आवश्यकता पर्छ । अहिलेको गणितीय हिसावले प्रचण्ड लगभग सुरक्षित छन्

तर प्रचण्डकै भाषामा सत्ताघटक दलबीचनै धेरै दरार आएको र उथलपुथल देखिएकाले प्रचण्डले सहजै अनुमान लगाएको जस्तो अंकगणित आफ्नै हिसावमा नअडीन पनि सक्छ ।
समर्थन फिर्ता लिएको महिना दिनसम्म विश्वासको मत लिने अवधि प्रचण्डसँग भए पनि प्रचण्ड विकसित राजनीतिक घटनाक्रमलाई मध्येनजर गर्दै त्यसभन्दा पूर्व नै विश्वासको मत लिन चाहन्छन् । सहकारी ठगी प्रकरणको मुद्दाले सङ्घीय संसदको दुवै बैठक अवरोध भईरहेको बेला प्रचण्डले देखाएको यो हतारो कदम राजनीतिकवृत्तमा अर्थपूर्ण ढङ्गबाट हेरिएको छ । एक त कांग्रेसले संसद् चल्न दिनेमा नै आशङ्का छ भने अर्काे उपेन्द्रले सर्वोच्चमा दायर गरेको रिट र माधवले खेल्ने राजनीतिक चालले प्रचण्डलाई सकस पार्न सक्छ ।
जसपा नेपालबाट विभाजन भएको अशोक राईको पार्टीलाई निर्वाचन आयोगले मान्यता दिएपछि त्यसविरुद्ध सर्वाेच्च पुगेका उपेन्द्रको पेशी जेठ ८ गते मंगलबारलाई तोकिएको छ । यो प्रचण्डले विश्वासको मत लिने ठिक एक दिन पछि भएको हुँदा यसले विश्वासको मतमा तात्विक फरक नपर्ने देखिन्छ । यदी माधवले मान खोजेर प्रचण्डलाई विश्वाको मत नदिए पनि अहिलेको अंक गणितले प्रचण्ड सरकार ढल्ने देखिदैन । औलामा गन्दा १५४ सासद लिएर बसेका प्रचण्डलाई समाजवादीले धोकेबाज करार गरेर १० मत नदिएपनि उनको पक्षमा १४४ मत सुरक्षित छ । यदी यसमा ३ स्वतन्त्र कड्किएर भड्किए भने पनि १३९ हुन्छ । जुन संख्या सरकार संचालनको लागि पर्याप्त हो ।

उपेन्द्रपछि माधवको पार्टीलाई पनि दुई टुक्रा बनाउन खोजेको चर्चा चुलिरहँदा प्रचण्डसँग १० सिटको माधव विश्वस्त हुन सकेका छैनन् । जुन माधवले दिने अभिव्यक्तिमा झल्किन्छ । राष्ट्रिय राजनीतिमा आफूहरु केवल सत्तामा भईरहेको खिचातानीको तमासा हेरेर बस्ने अवस्थामा मात्र आईपुगेको उनको तर्कले पनि अब प्रचण्डको सत्ता यात्रामा फरक नपर्ने छाट देखिएको छ ।

त्यस्तै, यसअघि प्रचण्डको विपक्षमा देखिएको जनमत उपेन्द्र यादवको बहिर्गमनसँगै सरकरामा सामेल हुने सम्भावना पनि छ । यस्तो अवस्थामा सरकार टिकाउन जस्तो सुकै उथलपुथल नै गर्न तयार भएका प्रचण्ड जतिखेर जुनसुकै अवस्थामा पनि ‘कित्ता चेञ्ज’ गर्न सक्ने एमाले नेताहरूकै बुझाई छ ।

यसअघि सरकारको नेतृत्व गर्दा २०७९ सालको २६ पुसमा पहिलोपटक प्रचण्डले त्यसबेला प्रतिनिधिसभा बैठकमा उपस्थित २७० सांसदमध्ये चित्रबहादुर केसी र प्रेम सुवाल बाहेक २६८ जनाबाट विश्वासको मत प्राप्त गरेका थिए । दोस्रोपटक २०८० सालको चैत ६ गते २६२ सांसद सहभागी मतदानमा १७२ प्रतिनिधिसभा सदस्यले उनलाई विश्वासको मत दिँदा ८९ विपक्षमा र एक जना तटस्थ बसेका थिए । त्यस्तै तेस्रो पटक गत फागुन ३० मा लिएको विश्वासको मतमा पनि सामेल २६८ सांसदमध्ये एक सांसदले मत नखसाल्दा १५७ पक्ष र ११० मत विपक्षमा खसेको थियो । प्रचण्ड सरकारप्रति निरन्तर सदनमा खस्किदै गएको विश्वासप्रति प्रचण्ड पनि सजग छन् । ‘रात रहे अग्राख पलाउँछ’ भत्रे बुझेका प्रचण्ड जतिसक्दो चाँडो विश्वासको मत लिने मनस्थीतीमा छन् ।