Breaking

सभामुखले निष्पक्षता कायम नगरेको कांग्रेसको ठहर, छानबिन समितिमा अडिग रहने


काठमाडौँ – प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको मागमा अडिग रहने निर्णय गरेको छ।

आज बसेको कांग्रेस संसदीय दल बैठकले हिजोको संसद बैठकमा सभामुखको भूमिका तटस्थ र निष्पक्ष नरहेको ठहर गरेको प्रमुख सचेतक रमेश लेखले जानकारी दिए।

बैठकपछि पत्रकारसँग बोल्दै कांग्रेस प्रमुख सचेतक लेखकले सहकारीको रकम ठगीमा गृहमन्त्री लामिछाने संलग्न रहेको पर्याप्त प्रमाण सार्वजनिक भएकोले उनीमाथि छानबिनको माग पुन जोडदार रुपमा राखिएको बताए।

सरकार नै सहकारी ठगीमा लागेकालाई बचाउन लागिपरेको ठहर कांग्रेसले गरेको उनले जानकारी दिए। कांग्रेसले हिजो बैठक सञ्चालनको विषयलाई लिएर पनि ध्यानाकर्षण भएको जनाएको छ।

‘विपक्षी दल उभियो भने मात्रै पनि संसद अवरोध मानिन्छ। एकजना मात्रै उभिए पनि अवरोध मानिन्छ भनेर सभामुखबाट रुलिङ भएका छन्। तर सिंगो प्रतिपक्षी दल वेलमा नारा लगाउँदै गर्दा बैठक सञ्चालन गर्नु उचित भएन भन्ने ठहर गरिएको छ।’ लेखकले भने, ‘सम्माननीय सभामुखको पद तटस्थता र निस्पक्षताको पद हो। तर, त्यस्तो भूमिका उहाँबाट भएन। हामीले सभामुखलाई तटस्थता र निस्पक्षता कायम राख्न आग्रह गरेका छौं।’