Breaking

कसले फुटाउँदैछ माओवादी ? पार्टी फुट्मा पैसाको खेल ? समीकरण फेरिँदा नेतालाई दल जोगाउनै हम्मेहम्मे (भिडियोसहित)


काठमाडौँ— जनता समाजवादी पार्टी, नेपाल फुटको विषय अदालतको मुद्दा बनिसकेको छ । अर्बौंको चलखेलमा पार्टी फटाइएको विषय सार्वजनिक भइरहँदा अरु साना दलहरुसमेत ठूला पार्टीको सिकार बन्ने जोखिम झनै बढ्दै गएको छ ।
जनता समाजवादी पार्टीको विभाजनमा कैयन कानुनी प्रश्न बाँकी रहँदा यो अदालतको विषय बनिसकेको छ । निष्क्रिय अवस्थामा रहेको नियमावलीअनुसार दल फुटाइएकाले दल विभाजन गर्ने कानुनको रिक्तता छ । तर यस बिचमा विभाजित दुई समूह वारपारकै अवस्थामा पुगेका छन् । सत्ता समीकरण जोगाउन ठूला दलको सिकार बनेका उनीहरुले पार्टी फुटाउन ठूलै मोलमोलाई भएकोदेखि मन्त्री बन्न करोडौं बुझाएकोसम्म आरोप लगाइरहेका छन् । स्वयं उपेन्द्र यादवले पनि बोराका बोरा पंसा बाँडिएकाले छानविन गरिरहेको बताएका छन् । तर, यो फुट भने यत्तिमै नरोकिने संकेत देखिएको छ । यो फुटको आगो साना सबै दलहरुमा देखिने हुँदा एमाले अध्यक्ष केपी शर्मा ओलीकै अगुवाइमा चिनियाँ समर्थित गुटहरु एकजुट भइरहेको चर्चा भइरहेको छ । ओलीसँगै साना पार्टी फुटको मतियार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि बनिरहेका बेला उनकै दल माओवादीसमेत फुुटेमा अन्यथा मान्नुु नपर्नेसम्मका विषय चर्चामा आउन थालेका छन् ।

विगतमा पनि संविधान जोगाउने नाममा एमाले र जसपा फुटाउने गरी अध्यादेश ल्याइएको थियो । एमालेको माधव नेपाल र जसपाबाट महन्थ ठाकुर पक्ष चोइटिएर नयाँ दल दर्ता गरेका थिए । पछिल्लो समय जसपा पछि पार्टी फुटको तारो एकीकृत समाजवादी बनेको छ । पाँच सांसद विद्रोहका लागि तयार भए पनि कानुनी आधार नदेखिएपछि तत्कालका लागि फुट संकट टरेको छ । राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३३ (२) मा एकचोटि फुटेर बनेको दल पाँच वर्ष नपुगेसम्म जति प्रतिशत सांसद वा केन्द्रीय सदस्यले चाहे पनि विभाजन गर्न नपाउने उल्लेख छ । यसो हुँदा २०८३ सम्म एकीकृत समाजवादी फुटाउन पाइने छैन । तर राजनीतिक नेतृत्वले चाहेमा अध्यादेशमार्फत यो दफामासमेत संशोधन गरेर दल फुटाउन सक्ने बाटो भने खुलै छ ।
यसबाहेक यो आगो झोसिनबाट रास्वपा, नागरिक उन्मुक्ति कोही पनि बाँकी रहने छैनन् । सहकारी प्रकरणमा रवि लामिछानेमाथि छानविन समिति मात्रै बने पनि स्वर्णिम वाग्ले समूह हाबी बन्ने देखिन्छ । त्यसमाथि इलाममा खेप्नुपरेको हारले मिसन ०८४ मा प्रश्न उठेको भन्दै सरकारबाट बाहिरिनु पर्ने मत पार्टीभित्र बलियो बनेकाले बहुमतले यस्तो निर्णय गर्दा अहिलेको सरकार ढल्नेछ । अहिले रविलाई एमालेले काँध थाप्नुलाई पनि यसैको अर्थका रुपमा बुझ्ने गरिन्छ । यदि यस्तो निर्णय भइहाले अन्तिम अस्त्रका रुपमा ओलीले जसपाकै अवस्थामा रास्वपालाई प्रयोग नगर्लान भन्न सकिँदैन । माओवादीमा पनि जनार्दन शर्मा लगायतको समूह प्रचण्डविरुद्ध संघर्षकै चरणमा रहँदा गठबन्धनमा ओलीले भने जस्तो काम नभएमा चिनियाँ गुट एकजुट गराएर माओवादी फुटको तीतो प्रचण्डले भोग्नु पर्ने देखिन्छ ।

ठूला दलको स्वार्थका अघि कुनै पनि साना दलको अस्तित्व बाँकी रहने छैन । नागरिक उन्मुक्ति पार्टीको विवाद सत्ताकै कारण सर्वोच्च अदालत पुगिसकेको छ । प्रचण्ड र ओलीलाई साथ दिने वा शेरबहादुुर देउवालाई साथ दिने भन्ने विवाद रहेका बेला रास्वपाले सरकार छाडिहाले पनि नाउपाकै सानो संख्यालेसमेत समीकरणका लागि धेरै ठूलो अर्थ राख्ने भएकाले विभाजनको आगो झोसिने सम्भावना देखिन्छ । अहिले जनमत पार्टीलाई पनि मधेशबाट सरकारमा ल्याएर वैकल्पिक समीकरण निर्माणको प्रयास हुँदा ठूला दलको स्वार्थको चंगुलमा नपर्ला भन्न सकिँदैन । राप्रपा लगायत दलमा पनि सरकारमा जाने–नजानेबारे दुईधार रहेकाले त्यहाँ पनि फुटको बिज रोपिन सक्छ ।

२०७९ सालको स्थानीय तह निर्वाचनपछि असारमा जसपामा अर्को फुट ल्याएर बाबुराम भट्टराई वैचारिक बेमेल देखाउँदै छुट्टिए । त्यसबेलाको फुटमा प्रचण्डले भूमिका खेलेको चर्चाका बीच संघीय संसदको निर्वाचनमा बाबुरामले गोरखाको आफ्नो निर्वाचन क्षेत्र नै प्रचण्डलाई सुुम्पिनुले पनि मेल खाएको देखियो । जसपाबाट छुटेपछि बाबुरामले नेपाल समाजवादी पार्टी दर्ता गरे । तर, निर्वाचन जितेर सत्ताको बागडोर सम्हाल्न पुगेका प्रधानमन्त्री प्रचण्डले विप्लवसहितको चार कम्युनिस्ट पार्टीलाई समेट्दै समाजवादी मोर्चाको घोषणा गरे । उक्त समाजवादी मोर्चामा बाबुराम समेटिन सकेनन् । समाजवादी मोर्चा घोषणाका क्रममा बाबुरामभन्दा बढी फाइदा हुने पात्र विप्लवको इन्ट्री हुनु र सेफ जोनमा पुगेर चुनाव जित्ने प्रचण्डको स्वार्थ पूरा भएसँगै बाबुरामसँगको दूरी बढाए । नेसपाकै एक समूहलाई फकाउँदै अन्त्यमा पार्टी नै फुटाए । नेसपाबाट छुट्टिएको महेन्द्र राय यादव पक्षलाई माओवादीमा मिसाउँदै प्रचण्डले निलिसकेका छन् । सरकारको निरन्तरताका लागि पार्टी फुटाइँदा केही समयका लागि स्थायित्व देखिए पनि दूरगामी रुपमा अस्थीरता झनै झांगिदै जानेछ । साथै, आगामी निर्वाचनसम्म जाँदा अहिले पार्टी फुटाउन भूमिका खेल्नेहरुसमेत छिन्नभिन्न हुने अर्को खतरा निम्तिन सक्ने सम्भावना पनि उत्तिकै छ ।