Breaking

रातो मच्छिन्द्रनाथको जात्रा, वर्षा र सहकालको महत्व, महिला र बालबालिका तान्ने अद्भुत जात्रा


काठमाडौँ – जमिन, जंगल र जगत्कै देवीको रुपमा पूजिने रातो मच्छिन्द्रनाथलाई वर्षा र सहकालका देवताको रुपमा पनि आस्थाको साथ लिइन्छ । जात्रालाई धार्मिक आस्थासँग मात्रै जोडेर हेरिने भए पनि यस्ता जात्रा संस्कृति र सभ्यताको चिनारी बनेको छ ।
काठमाडौंमा इन्द्रजात्रा र भक्तपुरमा बिस्काः जात्राको जति ठूलो महत्व छ, पाटनमा त्यति नै ठूलो उत्सवका रूपमा रातो मच्छिन्द्रनाथको जात्रा मनाइन्छ । काठमाडौँ उपत्यकाकै महत्वपूर्ण र लामो जात्रा, वर्षा तथा सहकालका देवता रातो मच्छिन्द्रनाथ अर्थात् करुणामयलाई ३२ हात अग्लो रथमा रथारोहण गराएसँगै बिहीबारदेखि विधिवत् रुपमा जात्रा सुरु भएको छ ।

रातो मच्छिन्द्रनाथ जात्राको रथमा अहिले सजावट र परम्परागत विधिबाट पूजाआजा चलिरहेको छ । दुई महिनासम्म चल्ने जात्रा वैशाख शुक्ल पूर्णिमाको दिनमा करुणामयलाई रथमा विराजमान गराएको ४ दिन पछि बल्ल रथ यात्रा सुरु गरिने भए पनि यस वर्ष भने मलमास परेकाले रथारोहणको दुईदिनमा नै रथ यात्रा हुने भएको छ ।

यसबीचमा द्वितीयाको दिन बलि दिई यजमानले सिद्धि कार्य गरेपछि पञ्चसूत्रले रथमा बाध्ने काम र अक्षय तृतीयाका दिन जैशी ब्राह्मणहरुलाई गोदान दिइने, खड्ग पूजा गर्ने जस्ता पूजाका विधिहरू शुक्रबार नै सम्पत्र भइसकेको छ । पुरुषोत्तम मासका कारण द्वितीया र तृतीया एकै दिन पर्दा २९ गते शनिबार नै रथ तात्रे साइत परेको हो । चतुर्थीको दिन करुणामय विराजमान पुल्चोकमा रहेको रथलाई तानेर गाबाहल, सुन्धारा, लगनखेल हुँदै अन्त्यमा जावलाखेल लगेर जात्रा देखाउने चलन छ ।

पुल्चोकबाट सुरु भएको रातो मच्छिन्द्रनाथको रथ यात्राले विभिन्न ठाउँमा पुगेर पनि फरक फरक पूजा र जात्रा देखाउने गरेको छ । तबहालमा भएको करुणामयलाई काठमाडौँ र ललितपुरका विभिन्न टोलमा गरि लगभग दुई महिना रथयात्रा गराइसकेपछि बुङ्मतीमा लगेर विराजमान गराइन्छ । करिब छ महिना बुङ्मतीमा रहने रातो मच्छिन्द्रनाथलाई बाजागाजासहित खटमा राखेर पुनः तबहालमा प्राणप्रतिष्ठा गराइएको थियो ।

करुणामय देवताले सबै ठाउँमा पुगी रक्षा गर्ने जनविश्वास रहिआएको छ । एउटै रथ यात्राले नरिवल खसाल्ने जात्रादेखि महिलाहरूले मात्रै रथ तान्ने जात्रा मनाउने यो परम्परा अद्भूत रहेको छ । यसको आध्यामिक पाटो त छँदैछ, साथै यस्ता परम्पराले समाजमा मैत्रीपूर्ण वातावरण पनि निर्माण गरेको छ । जात्रालाई धार्मिक आस्थासँग मात्रै जोडेर हेरिने भए पनि यस्ता जात्रा संस्कृति र सभ्यताको चिनारी बनेको छ ।

किंवदन्तीअनुसार लिच्छवी राजा नरेन्द्रदेवका पालामा भारतको कामरूप कामाख्या गई ‘बुङ्गद्य’ अर्थात् रातो मच्छिन्द्रनाथलाई काठमाडौं उपत्यकामा ल्याइएको थियो । गुरु गोरखनाथले नव नागको आसन बनाई बसिदिएका कारण बाह्र वर्षसम्म पानी नपरी अनिकाल लागेपछि राजा नरेन्द्रदेव, तान्त्रिक बन्धुदत्त आचाजु, ललित ज्यापु तथा कर्कोटक नागराजासमेत कामरूप कामाख्या गई रातो मच्छिन्द्रनाथलाई काठमाडौं उपत्यकामा ल्याएका थिए । आफ्ना गुरु मच्छिन्द्रनाथ देखेपश्चात् गोरखनाथ गुरुको दर्शनका लागि जाने क्रममा नव नाग मुक्त भई वर्षा भएको र सहकाल लागेको विश्वास छ । उत्तरायणको बेला तबाहाल र दक्षिणायणमा बुङ्मती गरि छ÷छ महिना उक्त स्थानमा विराजमान हुने बुङ्गद्यको जात्रा कुनै विषेश समुदायको मात्रै नभई सारा नेपालीले गर्व गर्ने जात्राको रुपमा परिचित हुँदै गएको छ ।