Breaking

सयको नोटमा चुच्चे नक्सा, फेरि भारतको धम्की, नेपालका नेता चुपचाप, सत्ता फेरिने संकेत


नेपाल सरकारले कालापानी, लिपुलेक, लिम्पियाधुरासहितको नयाँ चुच्चे नक्सा एक सय रुपैयाँको नोटमा राख्ने निर्णय गरेपछि भारत झस्किएको छ । विगतमा नक्सा पास गर्दा नै फरक मत राख्दै आएको भारतले अहिलेको निर्णयले एकतर्फीको संज्ञा दिँदा नेपालमै पनि फरक फरक तर्क सुनिन थालेको छ । तर एकाएक किन यो निर्णयमा पुग्यो त सरकार ? किन झस्कियो भारत ?

२०७७ साल जेठ ५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नेपालको नयाँ चुच्चे नक्सा पारित गरेपछि झस्किएको भारत फेरि निद्राबाट ब्युझिएको छ । तत्कालीन समयमा सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालको नयाँ नक्सा पारित गरेको थियो । जसले त्यो क्षेत्र कसको भन्ने चर्चा चुलिँदा उक्त भूमि आफ्नो भएको प्रशस्त प्रमाणहरु नेपालले प्रस्तुत गरेको थियो । तर वर्षौंदेखि यो क्षेत्र आफ्नो कब्जामा रहेको भन्दै नेपालको नक्सा नमान्ने बताएको भारतले नेपालले बलमिच्याईं गरेको आरोप नै लगाएको थियो ।

जसलाई तत्कालीन प्रधानमन्त्री ओलीको चीनपरस्त शैलीका रुपमा भारतीय मिडियाले औल्याउँदा भिडेर भन्दा वार्तामार्फत अघि बढ्नुपर्ने नेपाली कुटनीतिज्ञकोसमेत सुझाव थियो । पछि यो क्षेत्रको चर्चा विस्तारै सेलाँउदै गयो भने आफूप्रतिपक्षमा पुग्नुको कारण ओलीले त्यसैलाई बनाए । तर चीनले २०८० भदौमा जारी गरेको आफ्नो नयाँ नक्सामा समेत यो भागलाई गायब पारेको थियो ।

जसलाई चुच्चे नक्साबारे अनौपचारिक रूपमा चीन जानकार भए पनि नेपाल सरकारले कूटनीतिक र औपचारिक रूपमा जानकारी नगराउँदा उसले बेवास्ता गरेको विश्लेषण गरिएको थियो । प्रत्युत्तरमा त्यस समयमा परराष्ट्रमन्त्री एनपी साउँदले नयाँ नक्साबारे ओली सरकारले सम्बन्धित देशलाई जानकारी नगराएको खुलासा गरेका थिए । फलतः उक्त क्षेत्र नेपालमा समेट्नेभन्दा राजनीतिक स्टण्ड गर्ने बाटो मात्रै भएको भन्दै आलोचना हँुदा अहिले फेरि यो विषय चर्चामा आएको छ । एक सय रुपैयाँ दरको नेपाली नोटको अग्रभागको पृष्ठभूमिमा रहेको पुरानो नक्साको सट्टामा लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरिएको चुच्चे नक्सा राख्न सरकारले नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिइसकेको छ । जुन अहिले भारतमा चुनाव चलिरहेको बेलामै पर्नु, धर्म र राष्ट्रियताकै भरमा सत्तामा कायम रहने सत्तारुढ भारतीय जनता पार्टीको मर्मविरुद्ध हुँदा भारत झस्किएको हो ।

हुन त यो कदमले नेपालको अर्थतन्त्रमा प्रभाव पर्ने भन्दै पूर्वगर्भनर डा. चिरञ्जीवी नेपाललेसमेत आपत्ति जनाएका छन् । भारतसँग सीमा विवाद रहेकै अवस्थामा अन्तर्राष्ट्रिय मान्यताभन्दा बाहिर गएर नोटमा नक्सा छाप्नु अविवेकी निर्णय भएको उनले बताउँदा भारतलाई उत्तर दिन सक्ने तर्क भने नेपाल सरकारसँग छ । एक त त्यो भूमि नेपालको भएको प्रमाणहरु छन् भने त्यसलाई निशाना छापदेखि अन्य सरकारी कागजातमा प्रयोग गर्न नेपालले थालिसकेको छ ।

पैसाकै सवालमासमेत नोटमा नेपालको नक्सा राख्ने चलन त पुरानै हो भने यसमा सरकारले नै पारित गरिसकेको नयाँ नक्सा राख्न मात्रै राष्ट्र बैंकले खोजेको हो । मुख्य कुरा त चुच्चे नक्सा सार्वजनिक भइ प्रयोगमा आउन थालेपछि नयाँ नक्सा अङ्कित रु. एक र रु. दुई मूल्यका सिक्का पनि चलनचल्तीमा आइसकेको छ । नेपाल राष्ट्र बैंकले २०७८ पुस ३० देखि चलनचल्तीमा ल्याएको रु. दुई मूल्यको सिक्का र २०७८ फागुन २५ देखि चलनचल्तीमा ल्याएको रु. एक मूल्यको सिक्कामा चुच्चे नक्सा नै प्रयोग भएको छ । तर त्यसबेला चुपचाप बसेको भारत अहिले बढी उद्धेलित बनिरहेको छ ।

चुच्चे नक्सा नेपालमा इज्जत र प्रतिष्ठाको विषय बनिरहँदा त्यसको प्राप्ती भने कुटनीतिक वार्ता र छलफलबाटै प्राप्त हुनेमा दुईमत छैन । फलतः यस्ता विषयको समाधान गर्न वार्ताबाट तर्किरहेको भारतलका लागि अर्लाम हुने धेरैको बुझाईकाबीच सम्बन्धमै दरारको खतरा आउने तर्क गर्नेहरुसमेत छन् । जहाँ यो क्षेत्रमा नेपालबाट कुनै विकास र पूर्वाधार नबन्दा यस्ता कार्य त्यस क्षेत्रका स्थानीयलाई भारतले दुःख दिने आधारसमेत बनिरहेको छ । जसले बेलाबेला भिन्नभिन्न निर्णय गरेर यो विषय तताउने भन्दा दीर्घकालीन समाधानतर्फ नै सरकार अघि बढ्न आवश्यक छ । साथै भारतको मौसमी चरित्र र प्रतिक्रियालाईसमेत उत्तर दिने बाटो बन्दा सरकारले यो मुद्दा स्टण्डका लागि मात्रै नउठाएकोसमेत प्रष्ट हुनेछ ।