Breaking

युवालाई सीप सिकाउँदै बालेन, सर्वसाधारणको उत्साह, ‘सीप सिके पनि जाने विदेश नै हो’


काठमाडौँ – देशको संघीय राजधानी काठमाडांैको टुँडिखेलमा सीप सिक्नेहरुको मेला लागेको छ । मेलामा आम सर्वसाधरणको घुँइचो नै लागेको छ । काठमाडौं महानगरपालिकाले आयोजना गरेको सीप मेलामा प्लम्बिङ, मेकानिक्स, टेक्निसियन, ब्युटिसियन, डिजाइनिङदेखि ज्योतिष विद्याकोसमेत तालिम सञ्चालन भइरहेको छ ।

बिहीबार दिउँसो हामी टुँडिखेल पुग्दा कोही फारम भर्न व्यस्त थिए । अनलाइनमा फारम भरेकाहरु आफ्नो नामको कार्ड लिन र तालिमबारे बुझ्न भ्याईनभ्याइ देखिन्थ्यो । कतिपय भने तालिम हलमा बसेर तालिम कक्षाबारे जानकारी लिइरहेका थिए । तालिमको पहिलो दिन सबै कक्षामा ओरिन्टेसन चलिरहेको थियो । विभिन्न १२ वटा क्षेत्रमा झन्डै ४० पेसागत तालिम उपलब्ध छ । हस्पिटालिटी एण्ड म्यानेजमेन्ट, अटो मोबाइल्स, निर्माण क्षेत्र, सूचना प्रविधि, मेकानिकलमा वेल्डिङ र रेफ्रिजेरेटर एण्ड एसी टेक्निसियन, आर्ट एण्ड कल्चरमा आर्ट एण्ड स्कप्चर, गार्मेन्ट्स, ब्युटिसियन, डिजाइनिङ, पुरोहित विषयसमेत समेटिएको छ ।

सहभागीहरुले आफ्नो इच्छाअनुसार जुनसुकै तालिम लिन पाउँछन् । महानगरले आयोजना गरेको निःशुल्क तालिममा विद्यार्थी, गृहणीदेखि वर्षौं विदेश बसेर स्वदेश फर्किएका व्यक्तिहरु समेत सहभागी छन् ।
झन्डै एक दशक युरोप बसेर फर्किएका चाबहिल गौरीघाटका ५२ वर्षीय विष्णुप्रसाद तिमल्सिना महानगरको निःशुल्क तालिम लिन पुगेका छन् । विदेश बसेर आएकाले अब विदेश जाने उनको सोच छैन । त्यसैले डिजिटल मार्केटिङ र विद्युतीय गाडीको तालिम लिएर महानगरले रोजगारी दिए पनि, नदिए पनि सीप सिकेर आफैँ केही गर्ने सोचसहित तालिममा सहभागी भएको उनले सुनाए ।

स्नातक तहमा अध्ययनरत काँडाघारीका सन्दीप पाण्डे ज्योतिष विद्या सिक्न तालिममा सहभागी भएका छन् । आफ्नो बाउ, बाजेले गर्दै आएको काममा अलि अलि ज्ञान पनि भएको र आफ्नो संस्कार परम्परालाई पनि निरन्तर दिन चाहेकाले तालिम लिन आएको उनी बताउँछन् ।

डोटीका कृति भण्डारी अध्ययनका लागि काठमाडौं बस्दै आएकी छन् । विदेश जाने सोचसहित जापानिज भाषासमेत सिक्दै छिन् । महानगरले आयोजना गरेको तालिममा हेयर कट तथा स्टाइलिङको तालिम लिन उनी सहभागी भएकी हुन् । विदेश नै गए पनि सीपले सहयोग गर्ने भएकाले महानगरको तालिममा उपयोगी हुने उनको विश्वास छ ।


तालिमबाट २ हजार ८१ जनालाई निःशुल्क सीपमूलक तालिम दिने र तालिम लिएकाहरुलाई रोजगार, स्वरोजगार र अन द जब ट्रेनिङ उपलब्ध गराउने लक्ष्यसहित महिना दिनसम्म सञ्चालन हुने तालिमको अन्तिम दिन महानगरले रोजगार मेलासमेत गर्नेछ । महानगरसँग समन्वय गरेर तालिम प्रदान गरिरहेको तालिम प्रदायक कम्पनीहरुले तालिम पछि आफ्ना विद्यार्थीहरुलाई आफैँले रोजगारदातासँग जोडिदिने बताएका छन् । रोजगारीका लागि सहजीकरण गर्ने र बेरोजगार व्यक्तिहरुलाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने तालिम प्रदायकहरुको दाबी छ ।

उच्चशिक्षा हासिल गरे पनि हातमा सीप नुहँदा कयौं मानिस रोजगारीका लागि भौतारिन बाध्य छन् । देशमा रोजगारीको अवसर नहुँदा अधिकांशले वैदेशिक रोजगारीलाई विकल्प बनाउँदै आएका छन् । सीप भएकालाई रोजगार तथा स्वरोजगार बनाउने र सीप नभएकाहरुको व्यावसायिक स्तरवृद्धि गराएर आयमा वृद्धि गराउने महानगरको लक्ष्य कति परिणाममुखी बन्न सक्छ ? त्यो भने प्रतिक्षाकै विषय हो । यद्यपि, विगतका अभ्यासलाई सुधार गर्दै यसपटकको कार्यक्रमलाई प्रभावकारी बनाउने काठमाडौं महानगरले जनाएको छ । तालिम लिएका व्यक्ति रोजगार वा स्वरोजगार बन्ने वातावरण निर्माणका लागि महानगरको पहलकदमी तारिफ योग्य छ । सीप सिकेकाहरुलाई आफ्नो व्यवसाय सञ्चालनका लागि पनि महानगरले सहयोगी भूमिका खेलिदिने हो भने यो कार्यक्रमको सार्थकता अझ बढ्ने थियो कि ?