Breaking

ओलीको धोकाले चेपुवामा शेखर, प्रचण्ड तह लगाउने देउवाको अस्त्र, नयाँ समीकरणका लागि दौडधुप


काठमाडौँ – सत्तामा हुँदा गठबन्धनको विरोध गरेर माओवादी भड्काएका कांग्रेस नेता डा. शेखर कोइराला वर्तमान गठबन्धन फुटाउने दौडमा छन् । आफूलाई उकासेका केपी ओलीले बाटो मोडेर प्रचण्ड बोकेपछि झस्किाएका उनी बालकोटकै बाटोबाट सत्तामा फर्कने विश्वासमा देखिन्छन् । त्यसो भए पार्टीभित्र दबाब बढ्ने र विगतमा गरेको विद्रोहको औचित्य पुष्टि हुने बुझाइमा देखिएका उनको यो दौडधुपमा एमालेले भने मज्जा लिइरहेको छ ।

सत्तामा हुँदा सभापति शेरबहादुर देउवासँगको रिस माओवादीसँग साधेर माहोल बिगारेका कांग्रेस नेता डा.शेखर कोइरालाको पछिल्लो समय दौडधुप बढेको छ । देउवाले एमाले अध्यक्ष केपी शर्मा ओली फकाउने उनलाई अस्त्र बनाउँदा वर्तमान समीकरण फुटाउनुपर्ने दबाबसमेत छ । इलाम २ को प्रतिनिधिसभा र बझाङ प्रदेशसभाको हारले गठबन्धनविरुद्धको उनीहरुको बहसमा प्रश्न छ ।

जसले लालकिल्ला तोड्ने कांग्रेसको अवसर गुमेको छ भने माओवादी निर्णायक शक्ति भएको देखाएको छ । जसले विगतमा गठबन्धन चाहिँदैन भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भड्काएका कोइरालालाई देउवालाई के जवाफ दिने भन्ने सकस छ । त्यस्तै ओलीकै उक्साहटमा यस्ता गतिविधि गर्नेले अहिलेको गठबन्धन फुटाउन किन नसकेको भन्ने अर्को प्रश्नसमेत उनीतिर तेर्सिदा उनले देखाएको लोकतन्त्रमा चुनावअघि गठबन्धन गर्नु लोकतान्त्रिक होइन भन्ने सैद्धान्तिक बहानालाई उनकै नेताहरुले मान्न सकिरहेका छैनन् ।

उनको यो कदमबाट तत्कालीन गठबन्धनमा भाग पाएर मन्त्री र पद पाएका उनी पक्षीय नेताहरु नै पनि खुसी छैनन् । त्यो भन्दा मुख्य कुरा त आफँैले साथ दिएर कोशीमा शेखर पक्षलाई जिम्मा लगाएको मुख्यमन्त्री हटाउन एमाले नेताहरु लागि परेका छन् । अर्थात जसको साथमा विद्रोह गरेको लाभ प्राप्त भएको हो त्यहि शक्ति सो लाभ लुट्न लागि पर्दा यही विद्रोहले कांग्रेस प्रतिपक्षमा पुग्नुपरेको दोहोरो मारमा कोइराला छन् ।

फलतः प्रतिपक्षमा हुँदा ओलीले नै देखाएको आशा ठूला दल मिले स्थिरता आउने बहसलाई अघि सारेका उनी त्यसैको लबिङमा लागि परेका छन् । त्यसका लागि एमालेका उपाध्यक्ष विष्णु पौडेल भेट्ेका उनले बुधबार साँझ बालकोट नै पुगेर ओलीलाई नयाँ समीकरणको प्रस्ताव गरेका थिए । भेटमा प्रदेश यथावत राखाँै भन्दै कोशी जोगाउन कोइरालाले प्रस्ताव गरेको बताइदा एमालेका नेताहरु तत्काल प्रचण्डलाई धोका दिन नसकिने बताइरहेका छन् । जहाँ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसम्म सम्भावित क्षति रोक्न बालकोट धाइरहेका छन् ।

हुन त रविमाथि छानविन गर्न समिति बनाउनु पर्ने दवाब बढ्दै जादाँ उत्पन्न हुने अवस्थाको पर्खाइमासमेत कांग्रेस छ । यसले वर्तमान सरकार अल्पतमा पर्न सक्ने अवस्था आउने खतराले कांग्रेसलाई बेवास्ता नै गर्न सकिहाल्ने अवस्थामा ओली पनि छैनन् । संगै यसले एकले अर्कालाई देखाएर तर्साउने र फाइदा लिने अवसरसमेत उनलाई मिलिरहेको छ । अर्कातर्फ राष्ट्रिय प्रजातन्त्र पार्टीले माधवकुमार नेपाल प्रधानमन्त्री हुने अवस्थामा वैकल्पिक समीकरणमा साथ नदिने बताउँदा देउवा पनि ओली फकाउन बाहेक अर्को विकल्प नभएको निष्कर्षमा पुगिसकेका छन् ।

कि प्रचण्ड नै बोक्नु पर्ने अवस्था आइपर्दा त्यो अवस्थाले क्षति पुग्ने विश्लेषणमा रहेका माधव गोलचक्करको वातावरण बनाइरहेका छन् । यसले समेत बालकोट जानु नै सबैभन्दा महत्वपूर्ण अस्त्र रहेको देउवाले बुझेका छन् भने यही कारण नै कोइरालालाई गाली गर्नेभन्दा ओलीसँग विगतमा उनको साइनो प्रयोग गर्ने बाटोमा देउवा देखिन्छन् । तर आफू केन्द्रित हुँदै गएको शक्तिको उन्मादमा रहेको एमालेलाई इलाम र बझाङको क्लिन स्वीपले अर्को अहमता थपिसकेको छ । जसले वर्तमान गठबन्धन फुटाउने र प्रचण्डलाई पाठ पढाउने कांग्रेसको सपनामा सकस थपिरहेको छ ।

अहिले रविमाथिको छानबिन र माधव उचाल्ने दोहोरो अस्त्र चलाइरहेको कांग्रेसका लागि घटना परिपक्व नबन्दासम्म पर्खिनुको विकल्प छैन । त्यस्तै आफ्नै कारण गठबन्धन फुटे अस्थिरताको ट्याग लाग्ने डरले आफँै अघि सर्ने अवस्थामा एमाले पनि छैन । जहाँ कम्युनिस्ट एकता नभए गठबन्धनमात्रै पनि फाइदाजनक हुने अवस्थामा एमाले रहँदा घेराबन्दीमा रहेका प्रचण्डले बिगार गर्न सकिहाल्न नसक्ने अर्को फाइदामा पनि छ । फलतः कांग्रेसका नेताको दौड ओलीका लागि बार्गेनिङको अस्त्र बन्ने सम्भावना बलियो हँुदा आफ्ना एजेण्डा स्थापित हुँदै गएको तथा देउवामाथि दवाब बढाउने दिन आएको कोइरालाको सपना पनि संगै सती जाने छ । जसको पटाक्षेप कसरी हुन्छ ? त्यसका लागि भने अहिले देखिएको राजनीतिक तरलता केही कम हुन जरुरी छ ।