काठमाडौँ— नेपाल तेस्रो टी २० खेलमा वेस्टइन्डिज ‘ए’सँग ७६ रनले पराजित भएको छ ।
योसँगै पाँच खेलको सिरिजमा वेस्टइन्डिजले २-१ को अग्रता लिएको छ । जोनसनको शतकमा २ सय २८ रनको लक्ष्य पछ्याएको नेपाल १९.२ ओभरमा १५१ रनमा अलआउट भयो । लोकेश बमले २९ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक २८ रन बनाए ।
त्यस्तै करण केसीले १७ बलमा ३ चौका र १ छक्कासहित २८ रन बनाए । विनोद भण्डारी १५ बलमा ४ चौकासहित १९, अनिल शाह १४, आरिफ शेख ३, कुशल मल्ल २०, गुलशन झा ६, विवेक यादव ३ र दीपेन्द्रसिंह ऐरी ७ रनमा आउट भए ।
वेस्टइन्डिजका लेग स्पिनर हायडन वाल्सले ४ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए । गुडाकेश मोतीले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । ओबेद म्याककोय, म्याथ्यु फर्ड र फबिएन एलेनले १.१ विकेट लिए ।
त्यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ रोजेको वेस्टइन्डिजले २० ओभरमा ३ विकेट गुमाउँदै २२७ रन बनाएको थियो । वेस्टइन्डिजका ओपनर जोनसन चार्ल्स ६१ बलमा १३ चौका र ७ छक्कासहित ११९ रनको अविजित शतकीय इनिङ खेलेका थिए ।
ओपनर एलिक एथानाजे १७ रनमा रन आउट भएका थिए । त्यो समय वेस्टइन्डिज ३.१ ओभरमा २७–१ को अवस्थामा थियो । त्यसपछि दोस्रो विकेटका लागि आन्द्रे फ्लेचर र जोनसन चार्ल्सले १४५ रनको शतकीय साझेदारी गर्दै विशाल योगफलमा पुर्याएका थिए । आन्द्रे फ्लेचर ३३ बलमा ४ चौका र ३ छक्कासहित ५३ रनमा आउट भए । स्पिनर सागर ढकालको बलमा टीयू एण्डको लङअनमा ठूलो सट खेल्ने धुनमा दीपेन्द्रबाट बाउन्ड्री नजिकै क्याच आउट हुन पुगे ।
फबिएन एलेन ९ बलमा २ चौका र १ छक्कासहित १९ रनमा आउट भए । किमो पल १३ रनमा नट आउट रहे । स्पिनर सागर ढकाल र करण केसीले १-१ विकेट लिए । पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो । दोस्रो खेलमा नेपाल १० रनले पराजित भएको थियो । चौथो खेल बिहीबार र अन्तिम खेल शनिबार हुनेछ ।
प्रतिक्रिया