Breaking

विद्याको विरासतको खोजी, एमालेमा ओलीको अवरोध, माधव–प्रचण्डले स्वीकार्लान् ?


सात वर्ष शीतल निवासमा रहेर मुलुकको अभिभावकिय भूमिका निभाई सकेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेले ‘गणतन्त्र गौरव’ पदकले सम्मान ग¥यो । भण्डारी सक्रिय राजनीतिमा आउने संकेत दिईरहेका बेला एमालेले गरेको यो सम्मानलाई विभिन्न तवरबाट बहसका साथै विश्लेषणले राष्ट्रिय राजनीति तरंगित बनेको छ ।

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी मुलुकको पहिलो महिला राष्ट्रपतिको रुपमा इतिहासमा नाम दर्ज छ । भण्डारी लगातार दुई कार्यकाल, सात वर्ष मुलुकको राष्ट्राध्यक्षको जिम्मेवारीमा रहिन् । यसै कारण भण्डारीलाई नेकपा एमालेले आफ्नो हिरक जयन्तीको अवसरमा ‘गणतन्त्र गौरव’ पदकबाट सम्मान गरेको छ । भण्डारीले पार्टीे दिएको सम्मानलाई सहजै स्वीकार गरिन् । सम्मान अघि मन्तव्यका क्रममा भण्डारी नेपाली कम्युनिष्ट आन्दोलनका सुत्राधार आफ्ना श्रीमान जननेता मदन भण्डारीलाई सम्झिँदै भक्कानिइन् । मदनको सपना साकार नभएकोप्रति चिन्ता समेत व्यक्त गरेकी उनले मदनकै सपना साकार पार्न राजनीतिमा आएको बताइन् ।

नेपालको कम्युनिष्ट आन्दोलनमा होमिएकी महिला नेतृ अझ जननेता मदन भण्डारीको सपना पूर गर्ने एजेण्डा लिएर सक्रिय राजनीतिमा र्फिन चाहेको चर्चा पटक पटक चलिरहन्छ । राष्ट्रिपति बन्नुपूर्व नेकपा एमालेको उपाध्यक्ष बनिसकेकी उनी एमाले हाँक्ने हकदारको हैसियतमा थिइन् । पहिलो महिला राष्ट्रपति बनाउँदै एमाले अध्यक्ष के.पी शर्मा ओलीले भण्डारीलाई राष्ट्रपति पद दिएर आफ्नो बाटो सहज बनाए । मूलधारको राजीतिबाट विद्यालाई पाखा लगाइदिए । तथापी देशको अभिभावक भएर शीतल निवासमा रहे पनि भण्डारीले एमालेभित्र आफनो हक दावी कहिल्यै छाडिन्न । राष्ट्रपति रहेर पनि पार्टी राजनीतिभित्र सक्रिय रहेर आफु निकटहरुलाई पदको उपहार दिईरहिन् । तर २०७९ फागुनमा शीतल निवासबाट विदा भए पछि भने केहि औपचारिक गतिविधि बाहेक सक्रिय राजनीतिमा छैनन् ।


संविधानले सक्रिय राजनीतिमा आउन नछेके पनि गलत नजीर बस्ने भएकाले पूर्वराष्ट्रपतिलाई सक्रिय राजनीतिमा ल्याउन नहुने मत बलियो छ । यसका बाबजुत केही नेताहरु भने उनलाई सक्रिय राजनीतिमा ल्याउन चाहन्छन् ।

यसो गर्दा एकले अर्काको अस्तित्व स्वीकार गर्न नसक्ने कम्युनिष्टहरुको एकताको सुत्रधार विद्या बन्न सक्ने बुझाई धेरैको छ । विद्या पनि यो कुरालाई नकार्न सक्ने अवस्थामै छिन् पनि भन्न सकिदैन । तर विद्याको यो योजनामा स्वयं अध्यक्ष ओली नै तगारो बनेका छन् । ओलीको आदेशमा एमालेले विद्या भण्डारीलाई प्रदान गरेको सर्वोच्च सम्मानको अर्थ पनि यही हो । ओलीले विद्यालाई सक्रिय राजनीतिको रिङबाट आराम दिनै सम्मान दिएको विश्लेशकहरुको बुझाइ छ ।

एमाले भनेकै ओली र ओली भनेकै एमाले जस्तो बनेका बेला विद्यालाई रोक्न ओली सफल देखिन्छन् । अझै २० वर्ष राजनीतिमा सक्रिय रहने उद्घोष गरेका ओली विद्यालाई एमालेको सक्रिय राजनीतिमा ल्याएर चुनौती मोलिहाल्ने पक्षमा छैनन् । तथापी राजनीतिमा असम्भव केहि छैन । भण्डारी के चाहन्छिन् र उनले भनेजस्तै मदन भण्डारीका सपना पूरा गर्न कति सम्म जोखिम मोल्न सक्छिन् त्यो पाटोले नै उनको रजनीतिको विश्राम वा सक्रियताको बाटो निर्धारण गर्नेछ ।