Breaking

कृषकका लागी प्राण त्याग्दै श्रीराम, प्रचण्ड–रविलाई निकोलसको चुनौती, कहाँ छन् कृषीमन्त्री ?


६० प्रतिशत कृषक भएको कृषि प्रधान देश नेपाल अझै पनि कृषिमा आत्मनिर्भर हुन सकेको छैन । राज्यले कृषिलाई हेर्ने पुरातनवादी शैली र कृषकको समस्यालाई बेवास्ता गर्दा किसानका समस्या ज्यूँकात्यूँ छन् ।

२०८१ सालको नयाँ नयाँ जोश, जाँगर, उर्जा र उमङ्गमा सबै नेपाली रमाइरहँदा नुवाकोट ककनी– २ का श्रीराम घिमिरे भने आमरण अनशसनमा बसे । शान्तिवाटिकालाई नै आफ्नो माग पूर्ति गर्ने मुख्य थलोको रुपमा हेरेका घिमिरेले सात दिनदेखि पानी समेत पिएका छैनन् । शौचालय जान पनि अन्य व्यक्तिको साहारा लिनु परिरहेको छ । बिस्तारै स्वास्थ्य अवस्था नाजुक बन्दैछ । बोल्नै नसक्ने अवस्थामा पुगेका छन् । कृषि क्षेत्रमा भएको समस्या समाधान र किसानको हक हितका लागि पाँच सङ्कल्पसहित अनसन थालेका घिमिरेको माग भने कृषि क्षेत्रमा लाग्नेले मेहनतको फल खान पाईयोस् भत्रे मात्र छ । कुल बजेटको १० प्रतिशत कृषिमा विनियोज गर्नु पर्ने, बिउबीजक, मल लगायत आवश्यक औजारमा पूर्ण अनुदान दिनुपर्ने, प्रोजेक्टको आधारमा ५० लाखसम्म एक प्रतिशतमा सहुलियत ऋणको व्यवस्था गर्नु पर्ने, किसान कार्ड र पूर्वपश्चिम नहर निर्माण गर्नुपर्ने उनको माग छ । वास्तविक किसानले पाउनु पर्ने राहत राजनीतिको भरमा आफ्ना मान्छेले पाउने परिपाटीलाई अन्त्य गर्न पनि घिमिरेको अनशन रहेको उनलाई साथ दिन आएकाहरु बताउँछन् ।

कृषि मन्त्रालयबाट उपसचिवको नेतृत्वमा वार्ता समिति बनाएर टोली पुगे पनि आश्वासन मात्रै पाएको अनशनमा ऐक्यबद्धता जनाउनेहरूको गुनासो छ । यसअघि पनि चारपटक कृषिकै मुद्दालाई लिएर अनशन बसिसकेको र सहमति अनुसार कार्यान्वयन नभएको उनीहरूको दुःखेसो छ । मुख्य सडकको छेवैमा सबैले देख्ने गरि सरकार समक्ष आवाज पु¥याउन खोजे पनि सरकारले नजरअन्दाज गरेको उनीहरुको गुनासो छ । सरकारले कृषि मन्त्रालयलाई भागबण्डाका लागि मात्रै सीमित राख्दा कृषकहरूको दयनीय अवस्था भएको ५९ साल देखि च्याउ खेतीमा संलग्न राष्ट्रपतिबाट पुरस्कारसमेत पाएका केशव कार्कीको अनुभव छ । कृषिसम्बन्धि राम्रो नीति मात्रै ल्याईदिए मात्रै पनि कृषकले राहत महसुस गर्ने उनको बुझाई छ ।

अहिलेका गन्नेमान्ने सबै पार्टीका अधिकांश नेताहरुको उदय किसान वा मजदुर पृष्ठभूमिबाटै भएको हो । बहुसंख्यक किसान रहेको देशमा समस्या पनि बहुसंख्यक नै छन् । मल अभावको गलपासोमा शहिद हुने सम्भावना सधैँ रहन्छ । किसान समस्याको जगबाट जन्मिएको पार्टी र तिनका नेताहरु कृषिलाई उत्रत र कृषकको स्तरवृद्धि गर्नभन्दा पनि बढी आफ्नै स्वार्थ र दुनो सोझ्याउन तर्फ लाग्ने हो भने देशको अगाडी कृषि प्रधान लेख्ने र कृषि सामाग्री भने विदेशबाटै ल्याउनु पर्ने बिडम्बनालाई रोक्न शान्तिपूर्ण माग राखिरहेका छन् । तर, सरकारले त्यसलाई बेवास्ता गरे यसले भयावह स्थिति सिर्जना सक्ने देखिन्छ ।

देश समृद्धिको एक महत्वपूर्ण आधार स्तम्भ कृषि नै हो भन्ने सबैको ओठे रटान सुन्दै आएको पनि दशकौं बितिसक्यो । तर, कृषिमै आफ्नो जीवनयापन सम्भव छ भन्ने आशा पनि सरकारले देखाउन सकेको छैन । बरु नेपाली कृषकले उत्पादन गरेको दुःध, तरकारी जस्ता कृषि उपजको मुल्य नपाएर सडकमा फाल्नु पर्ने बिडम्बनापूर्ण अवस्थामा भारतबाट आयातित विशाक्तयुत्त तरकारी खानुपर्ने बाध्यता पनि छ । कृषि प्रधान देशका युवाहरू कृषि गर्नकै लागि इजरायलजस्तो द्वन्द्वग्रस्त मुलुकमा विदेशीरहँदा स्वदेशमा नै कृषिकर्मका लागेका घिमिरेजस्ता युवा किसानको यो दुर्दशा हुनु दुर्भाग्य नै हो । यति हुँदासम्म पनि किसानको पीडाले देश हाक्नेहरुको मन पोलेको कहिल्यै देखिएन ।