Breaking

विकल्पको मुद्दा सत्ताको सतीमा, ठूला मिल्न नसक्दा भागकै रोइलो, अस्थिरताले बलियो बन्दै बार्गेनिङ पावर (भिडियोसहित)


काठमाडौँ— २०७९ सालको निर्वाचनमा कुनै पनि दलले बहुमत ल्याउन नसकेपछि संघ र प्रदेशका संसद त्रिशंकु बनेका छन् । जसकारण साना दल हाबी भएका छन् । ठूला दल कांग्रेस र एमाले पालैपालो सत्ता र प्रतिपक्षमा पुग्दा तेस्रो दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा यथावत छन् । साना दलको बार्गेनिङले राजनीति नै बिकृत बनेको छ ।
भनिन्छ युद्ध र प्रेममा सबै कुरा जायज हुन्छ । नेपाली नेताहरूका लागि राजनीतिमा पनि सबै कुरा जायज हुन थालेको छ । ३२ सिटको माओवादीले सरकारको नेतृत्व गर्ने जनमत होइन । तर, त्यही ३२ सिटे माओवादीले ९० र ८० सिट हाराहारीका कांग्रेस र एमालेलाई फनफनी घुमाएको छ । कांग्रेस र एमाले माओवादीसँग मिल्न पाएकोमा दंग छन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कहिले कांग्रेस र त कहिले एमालेको काँधमा चढेर डेढ वर्षदेखि प्रधानमन्त्रीमा टिकिरहेका छन् । चारित्रिक कमजोरी, आर्थिक घोटाला, विचौलियाहरूसितको साँठगाँठ, विलासी जीवनशैलीका कारण नेताहरूमा सैद्धान्तिक विचलन आएको छ । सादा जीवन र जनताको सुख–दुःखमा साथ दिने कुरा हराइसक्यो । परिवार, नातागोता र पार्टीभित्रका झुण्डलाई मात्र संरक्षण गर्ने नेतृत्वको कारण भ्रष्टाचार मौलाएको छ । सत्ताका लागि अपराध पनि क्षम्य हुन थालेको छ । दलहरूमा संरक्षणवाद विकास हुनाले बदनाम बनेका छन् । दलमा असल मानिसहरू शिला खोज्नुपर्ने अवस्था सिर्जना भएको छ । दलका कार्यालय र भेला राजनीतिक विमर्श र सैद्धान्तिक बहस शून्य बराबर भइसकेका छन् । दलका कार्यालयहरू प्राणविनाका साइनबोर्ड झुन्डिएका दरबारमात्र भएका छन् । जनताको मतबाट अझै पाँच वर्ष सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने जिम्मेवारी प्राप्त भएपनि विकल्प भनेका साना दलहरू सत्ता मोहकै कारण बदनामित बनिरहेका छन् । प्रतिपक्षमा बसेर देश र जनताको आवाज घन्काउनुपर्ने दलहरु सत्ताको बार्गेनिङमा रमाइरहेका छन् ।

सत्ताको चास्नीले नयाँ र साना दललाई मात लागेको छ । त्यसैले उनीहरूले जनतासँग गरेका प्रतिवद्धता सबै भुलेका छन् । उनीहरूको एउटै लक्ष्य बनेको छ–सत्ता । माओवादी मात्रै होइन, रास्वपा, नागरिक उन्मुक्ति पार्टी, जसपा, एकीकृत समाजवादी लगायतका सबै दल सत्ताविना बस्नै नसक्ने बनेका छन् । जनताको मुद्धाको उनीहरूलाई कुनै प्रवाह नै छैन । बार्गेनिङ गरेकै कारण एकीकृत समाजवादीले सुदूरपश्चिमको मुख्यमन्त्री हत्याउन सफल भयो ।

सुदूरपश्चिमबाट उदाएको नागरिक उन्मुक्ति पार्टी सत्ता मोहकै कारण पार्टी मात्र होइन परिवारिक सम्बन्ध नै बिग्रिने अवस्थामा पुगेको छ । मधेसको आवाज सदनमा बुलन्द पार्ने अठोटका साथ उदाएको सीके राउत नेतृत्वको जनमत पार्टी पनि अहिले सत्ताकै लागि मरिहत्ते गरिरहेका छन् । जनमत पार्टी मन्त्रीको राजीनामा माग्दै हिडेको छ । सहकारी ठगी प्रकरणमा मुद्धिएका मन्त्रीको बचाउ गर्दै हिड्नुपर्ने बाध्यता छ । साना दल निर्णायक बन्दा ठूला दल कांग्रेस र एमाले पालैपालो किनाराका साक्षी बन्ने अवस्था छ । कांग्रेस र एमाले मिल्ने हो भने सरकार गठन र संचालनमा अन्य कुनै पनि दलको आवश्यकता पर्दैन । कांग्रेस र एमाले मिलेभने अन्य दलको बार्गेनिङको सटर स्वतः बन्द हुने छ ।

ठूलादेखि साना दलसमेत सत्ता मोहमा चुर्लुम्म डुबुल्की मार्दा देश र जनताको आवाज सडकदेखि सदनसम्म शुन्य प्रायः छ । राजनीति सत्ता र शक्तिमा केन्द्रित हुँदा बेथिति, भ्रष्टाचार र अस्थिरता दिन दुई गुणा रात चौगुणाले बढिरहेको छ । देशको मुहार र जनताको जीवनस्तर परिवर्तन गर्ने अभिभारा बोकेका दलहरू नै सत्ता हत्ताउने खेलमा लागिरहँदा आम सर्वसाधारण सधैँ महङ्गी र बेरोजगारीको चेपोमा परेका छन् ।