काठमाडौँ— २०८० साललाई बिदाई गर्दै आज नयाँ वर्ष २०८१ लाई स्वागत गरिएको छ । सबैले आफ्नोे तौरतरिकाबाट नयाँ जोश, जाँगरका साथ नयाँ वर्ष मनाएकाछन् ।
नेपाल मात्र एउटा यस्तो देश हो, जसले विक्रम सम्वत्लाई आधार मानेर नयाँ वर्ष मनाउने गर्छ । बाह्र राशी मध्यको अन्तिम राशी मीनमा रहेको सूर्य, पहिलो मेष राशीमा आगमन गरेसँगै विक्रम संवत्को प्रारम्भ हुन्छ । चैतको ३० गते मीन राशीमा रहेको सूर्य वैशाख १ मा मेष राशीमा प्रवेश गरेपछि नेपाली नयाँ वर्ष अर्थात् विक्रम सम्वत् २०८१ साल सुरु भएको छ ।
नयाँ वर्षको अवसरमा राष्ट्रपति देखि प्रधानमन्त्री हुँदै सम्पूर्ण राजनीतिक दलका शीर्षस्थ नेताहरूले शुभकामना दिएका छन् । गृहमन्त्री रवि लामिछानेले त सडकमा नै निस्किएर लड्डु वितरण गर्दै नयाँ वर्षको शुभकामना आदानप्रदान गरेका छन् ।
नयाँ वर्षका दिन जे सुरु गर्याे त्यही कार्य वर्षभरि हुने जन विश्वास रहेकाले हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता र असफलताको मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं सङ्कल्प गर्दछन् । बिहानै मन्दिरमा गएर पूजा पाठ र वर्षभरी गर्ने आफ्नो कार्य सफलताको अपेक्षा गरिन्छ ।
त्यसैले आज पशुपतिनाथको मन्दिरलगायत देशैभरको मठमन्दिरमा दर्शनार्थीको ठूलो घुईचो लागेको थियो । नयाँ वर्ष यस वर्ष भने भव्य रुपमा मनाइएको काठमाडौँको हरेक स्थानमा देखिएको भिडभाडले प्रस्ट पार्छ ।सपीङ महल, चलचित्र हल, बाल उद्यान र मनोरञ्जन स्थलहरुमा देखिएको उल्लेख्य चापले पनि नयाँ वर्ष सुरु भएको सन्देश दिएको छ । लामो समयपछि यसरी नयाँ वर्ष मनाउन पाउँदा सर्वसाधारण पनि खुशी देखिएकाछन् ।
यद्यपी नयाँ वर्षको अवसरमा पूर्व राजादेखि हाल देशका उच्च ओहोदामा बसेका र शीर्षस्थ नेताहरुले नयाँ वर्षको शुुभकामना दिइरहदा राजनीति दल र नेताहरु प्रति भने नागरिकको असन्तुष्टि कायमै छ ।
नेपाली राजनीति देखि निराश बनेका जनताले नयाँ वर्षसंगै नेताहरुको सदबुद्धि फिर्ने आसासहित स्वार्थ त्यागी जनताको हितमा काम गर्न सुझाव दिन्छन् ।
समय अनुसार नै नयाँ वर्ष मनाउने तौरतरिका पनि फेरिदैँ गएको छ । पहिलो पहिले मठमन्दिरमा गएर पूजाआरधना गरेर मनाउने गरे पनि अहिले भने आफ्नै परिवारसँग महल पिकनिक वा कतै गएर मनाउने गरेको पाइएको छ, नयाँ वर्षले नयाँ सङ्कल्प गर्नुका साथै उत्साह र उमङ्ग छर्ने भए पनि पारिवारिक जमघट गर्ने अवसरका रुपमा पनि यसलाई सदुपयोग गर्न थालिएको छ।
धार्मिक होस् वा प्राकृति सबै हिसाबले नयाँपनको महसुस गराउने यो समयले साच्चै नै केही नयाँ दिएको भान हुन्छ । सुख्खा र उजाड देखिने पाखा पखेरोमा नयाँ पालुवा पलाएसँगै देखिने मनोरम दृश्यले पनि नयाँपनको आभाष दिलाउछ । विगतका वर्षमा झै यस वर्ष पनि क्यालेण्डर मात्र नफेरियोस्, देश र आम नेपालीको दैनिक जीवन पनि सकारात्मक तवरले फेरियोस् हाम्रो पनि नयाँ वर्ष २०८१ को हार्दिक शुभकामाना ।


प्रतिक्रिया