Breaking

वर्ष २०८० मा राजनीति : उत्साहप्रद ‘ओपनिङ’, निराशाजनक ‘इन्डिङ’

सुशासनमा बार्गेनिङ, हटेन अस्थिरता


धर्मराज भट्ट, काठमाडाैं। नयाँ जनादेश, नयाँ जोश, जाँगर र नयाँ आशासँगै सुरु भएको २०८० साललाई फर्केर हेर्दा औषत रह्यो । नयाँ दल रास्वपाको अनपेक्षित फड्को, हाइप्रोफाइलहरुको जेलयात्रा, ठूला प्रकरणहरुको फाइल उत्खनन्देखि सुशासनको जग बसाल्ने प्रयास भए पनि कोर टिम र ठूला माछासम्म पुग्न नसक्दा जनतामा पलाएको आशा धेरै समय टिक्न सकेन ।

राजनीतिक रुपमा अस्थिरता कायम रहिरह्यो । २०८० प्रदेशका सरकार उथलपुथलमै बित्यो, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तामा आफ्नो रेकर्ड बनाउन सकेपनि जनताको पक्षमा खासै रेकर्ड बनाउन सकेनन् । बरु विकल्प भनिएका दलका नेताहरु नै ठगी प्रकरणमा मुछिए । केही प्राकृतिक विपत्तिकोसमेत सामना गर्नुपर्‍यो । समग्रमा कस्तो रह्यो वर्ष २०८० ?

वैशाख :
वर्ष २०८० लाई उपनिवर्नचनले स्वागत गर्‍यो । वैशाख १० गते भएको उपनिर्वाचनमा रवि लामिछाने लोकप्रिय मतका साथ फेरि सांसद पदमा निर्वाचित भए । स्वर्णिम वाग्ले कांग्रेस छाडेर रास्वपामा लागेपछि तनहुँबाट सांसद उपहार पाए । हारेका उपेन्द्र यादवलेसमेत बाराबाट बाँजी मारे । यो वर्ष राष्ट्रिय स्वतन्त्र पार्टी लगायत वैकल्पिक शक्तिहरुको उदयले पुराना दलहरुमा त्रासदीको वातावरण मात्रै बनेन कि सुध्रिने कि सक्किने बहससमेत चल्यो । वैशाखमै नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलगायत पक्राउ परे ।

जेठः
जेठ महिनामा सबैभन्दा बढी चर्चामा रेशम चौधरीले पाएको आममाफी रह्यो । टीकापुरमा ८ जनाको क्रुरतापूर्वक हत्या गरेका चौधरीलाई कांग्रेस-माओवादी सम्मिलित गठबन्धन सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा आममाफी दिए । यसविरुद्धको मुद्दा अहिले पनि सर्वोच्च अदालतमा विचाराधीन छ ।

असारः
असार महिनाको सुरुवाती नै हाइप्रोफाइलको जेलयात्राबाट सुरु भयो । असार १ गते नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाण र टोपबहादुर रायमाझीसहित १६ जना जेल चलान भए ।

कोशी प्रदेशमा अस्थिरताको जरो थप बलियो बन्दै संविधानको विरुद्धमा गएर सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर प्रयोग गरी कांग्रेसका उद्धव थापाले सरकार बनाए । असार पाँच गते सुदूरपश्चिम प्रदेशका बहालवाला मन्त्री पृथ्वीबहादुर सिंहले सवारी दुर्घटनामा ज्यान गुमाए । यही महिनामा प्रधानमन्त्री प्रचण्डले नेपालको सरकार भारतले बनाइदिने अभिव्यक्ति दिएपछि राजनीति तरंगित बन्यो ।

साउनः
साउन ३ गते त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलको भन्सार जाँचपास गरी तस्करी गर्न सफल भएको ६० किलो सुन सिनामंगलबाट बरामद गरियो । चिनियाँ तस्करहरुको संलग्नतामा भएको सो तस्करीमा नेताहरुकै कनेक्सन देखिएपनि अनुसन्धान नै भएन ।

यही प्रकरणलाई लिएर नेकपा एमालेले भने साउन १२ गतेदेखि महिनाभर नै संसद अवरोध गर्‍यो । तस्करीबारे छानविन समिति गठनको माग गर्दै करिब एक महिना एमालेले संसदलाई बन्धक बनाएको थियो ।

भदौः
भदौ १० मा ललिता निवास जग्गा प्रकरणमा २९० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भयो । तर नीतिगत निणर्य प्रक्रियामा सहभागी भएका पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र बाबुराम भट्टराईलाई सत्ता टिकाउन वकपत्र गराएर उन्मुक्ति दिइयो । नक्कली भुुटानी शरणार्थी प्रकरणमा देउवापत्नी आरजु राणालगायत समेत मुछिने भएपछि दोस्रो चरणको अनुसन्धान प्रभावित पार्न प्रहरी र न्यायाधीशको सरुवा गरियो ।

भदौ १० गते काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले पदीय मर्यादा बिर्सिएर सिंहदरबारमा आगो लगाइदिने धम्की दिए । भदौ २६ गते संविधान सभा अध्यक्ष तथा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भयो ।

धरानमा केही अराजक समूहले गोरु काटेर खाएको घटनाले धार्मिक युद्धकै मोड लिँदा स्थानीय प्रशासनको सतर्कताले सम्भावित घटना टर्‍यो ।

असोजः
नेपाली राजनीतिमा असोज महिना पनि त्यति सुखद् रहन सकेन । नेपालगञ्जमा दिनदहाडै खुकरी प्रहार गरी हत्या गर्ने गुण्डा नाइके रिगल भनिने योगराज ढकालले संविधान दिवसकै दिन आममाफी पाए । विद्यालय शिक्षा विधेयकको विरोधमा देशभरका शिक्षक आन्दोलित बने ।

यतिमात्र नभइ यो महिनामा स्वास्थ्यकर्मी र कर्मचारीसमेत आन्दोलित बनेका थिए । केन्द्रको निर्देशनविपरीत कोशीमा एमालेसँग मिलेर २७ गते कांग्रेसका केदार कार्की मख्यमन्त्री बने । शेखर कोइराला पक्षले विद्रोह गर्दा कांग्रेस फुटसम्मकै चर्चा चलेको थियो ।

कात्तिकः
कात्तिक महिनामा दशैं र तिहार परेकाले राजनीति त्यति चलायमान बनेन । तर दशैं बिदा मनाउन आममाफी पाएका रिगल १६ गते सर्वोच्चको आदेशमा फेरि जेल चलान भए ।

देश चाडपर्वको उल्लासमा रहँदा जाजरकोट र रुकुमपश्चिम भने भूकम्पको चपेटामा पर्‍यो । ६.४ म्याग्नेच्यूडको सो भूकम्ममा परी १५७ जनाले ज्यान गुमाए ।

कात्तिक २७ गते नै सरकारले सर्ट भिडियो सेयरिङ प्लेटफर्म टिकटमाथि प्रतिबन्ध लगायो ।

मंसिरः
नेपालमा मच्चिएका भ्रष्टाचार काण्डमध्ये सबैभन्दा ठूलो काण्ड एनसेलको करछली यसै महिना सतहमा आयो । १४३ अर्बको सम्पत्तिलाई मात्र ६ अर्ब मूल्यांकन गरि सेयर बचेर १३७ अर्ब रुपैयाँको करमा घोटाला गरेको प्रहरणमा प्रधानमन्त्रीकै परिवारसमेत तानियो ।

यसबाहेक मेडिकल कलेजले सम्बन्धन नपाएपछि राजा फर्काउने मिसनमा लागेका व्यवसायी दुर्गा प्रसाईंको मंसिर ७ गतेको प्रदर्शन पनि चर्चामै रह्यो । सत्ता र शक्तिको प्रभावले न्यायाधीशको राय बझाएर बालकृष्ण खाण ७ महिनाको जेल यात्रापछि मंसिर २९ गते रिहा भए ।

पुष:
पुस १३ गते ईपीएस परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै बालकुमारीमा भएको आन्दोलनमा दैलेखका सुजन राउत र अछामका वीरेन्द्र शाहले राज्यको गोली खाएर ज्यान गुमाउनुपर्‍यो । तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला नै घटनाको जिम्मेवार ठहरिँदा पनि उनलाई कारबाहीको माग गरेरै सत्ता परिवर्तन भयो तर कारबाही भएन ।

माघ:
माघ महिनामा पनि विभिन्न राजनीतिक घटनाक्रम भए । माघ ११ गते भएको राष्ट्रिय सभा सदस्य निर्वाचनले राष्ट्रिय सभामा दलहरुको हैसियत नै बदलिदियो । माओवादी १९ सिटसहित पहिलो, कांग्रेस १६ सहित दोस्रो बन्दा त्यसअघि पहिलो रहेको एमाले १० सिटसहित तेस्रो स्थानमा खुम्चियो । निर्वाचनमा कोशीमा माओवादीमाथि कांग्रेसको शेखर पक्षले अन्र्तघात गरेपछि गठबन्धनमै खटपट भयो ।

माघ १८ गते बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा उद्योगी एवं सांसद विनोद चौधरीका भाइ अरुणसहित तीन जना पक्राउ परे । यसबाहेक अहिलेका गृहमन्त्री रवि लामिछानेसहित १८ जनाविरुद्ध माघ २२ गते सहकारीको रकम अपचलनको आरोपमा प्रहरीमा जाहेरी पर्‍यो ।

फागुनः
फागुन ७ देखि १० गतेसम्म चलेको कांग्रेसको महासमिति बैठकमा आगामी निर्वाचनमा गठबन्धन नगर्ने गगन थापाको प्रस्तावले सत्ता गठबन्धनमा परेको हलचल २१ गते पुग्दा विष्फोट भयो । र, कांग्रेस प्रतिपक्षी कित्तामा पुग्दा एमाले र रास्वपा एक वर्षपछि सत्तामा कमब्याक भए ।

यसअघि उन्मुक्ति पाएका माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा सुन प्रकरणमा पक्राउ परेर फेरि उन्मुक्ति पाए । मिटरब्याज पीडितहरुले देशब्यापी मार्चपास गर्दै फेरि न्यायको लडाइँ लड्नुपर्‍यो । सत्ताकै भागबन्डाले भर्खरै बामे सर्दै गरेको नागरिक उन्मुक्ति पार्टीमा रेशम चौधरी र रञ्जिता श्रेष्ठ (श्रीमान-श्रीमतीको झगडा)ले समेत चर्चा पायो ।

चैत:
चैत महिना प्रदेशहरुमा अस्थिरताको जड बन्यो । कोशी, सुदूरपश्चिम, लुम्बिनी र गण्डकीमा सरकार फेरिए । गण्डकीमा फेरि असारमै कोशीमा भएको गल्ती नियतवश दोहोरियो । सरकारविरुद्ध लचिलो भएर संसदमा विरोध जनाइरहेको कांग्रेस आक्रामक बन्दै संसद अवरोधकै हदसम्म पुग्यो ।

०००


समग्रमा हेर्दा वर्ष २०८० उत्साहपूणर् रुपमा सुरु भए पनि अन्त्यभने निराशापूर्ण रह्यो । सुरुवाती दिनहरुमा भ्रष्टाचारविरुद्ध कडा लडाइँ लडेको सरकार निचोडमा पुग्नेबेला आफ्नै नेताहरु परेका कारण रोकिनुपर्दा जनतामा चरम निराशा छाएको छ ।

अन्तिमतिर सत्तामा रास्वपाको कमब्याकले धेरै आशा गरिए पनि धेरै नेताहरु सहकारी ठगी तथा भ्रष्टाचारमा मुछिनु र गठबन्धनको दबाबमा पर्दा नयाँ शक्तिप्रतिसमेत जनतामा शंका पैदा हुने वातावरण बनेको छ । यो वर्षले २०४७ साल पछि सत्ता र शक्तिमा पुगेका व्यक्तिहरुको सम्पत्ति छानविनको बहस नयाँ वर्ष २०८१ लाई जिम्मा दिँदैछ ।

आशा गरौँ नयाँ वर्षले राष्ट्र निर्माणका लागि राजनीतिक तथा प्रशासनिक क्षेत्रका जिम्मेवार व्यक्तिहरुलाई थप उर्जा र सत्बुद्धि प्रदान गरोस्, यही छ हाम्रो शुभकामना ।