Breaking

सडकमा राजावादीको गर्जन, ज्ञानेन्द्र थुनिएपछि जंगिए लिङ्देन–मिश्र, सडकबाटै छिनोफानो


काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबार काठमाडौंमा वृहत जनप्रर्दशन गरेको छ । जनजीविकाका साथै मुख्यत राजसंस्था र हिन्दुराज्यको माग गर्दै आन्दोलनरत राजावादीहरु थप आक्रमक आन्दोलनमा उत्रिएका हुन् । राप्रपाको शक्ति प्रर्दशनमा प्रहरी र प्रर्दशनकारीबीच झडपसमेत भएको छ ।

राजावादीहरुको वृहत जनप्रर्दशनले काठमाडौको भृकुटीमण्डप, भन्द्रकाली, थापाथली क्षेत्र मंगलबार दिनभर तनावग्रस्त बन्यो । साथै ट्राफिक व्यवस्थापनसमेत अस्तव्यस्त बन्यो । मंगलबारदेखि काठमाडौं केन्द्रित जनप्रदर्शन थालेको राप्रपाले भद्रकाली क्षेत्रमा निषेधित क्षेत्र तोड्न खोजेपछि हस्तक्षेपमा उत्रिएको प्रहरीले प्रर्दशनकारीमाथि अश्रु ग्यास र पानीको फोहोरा बर्सायो । प्रर्दशनकारी र प्रहरीको दोहोरो झडपले भद्रकाली क्षेत्र एकाएक रणभूमिमा परिणत भएको थियो ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसहित शीर्ष नेताहरुको सहभागितामा अघि बढेको आन्दोलन प्रहरीको अश्रु ग्यास र पानीको फोहोराले तितरवित्तर बन्यो । झडपमा आधा दर्जन बढी नेता कार्यकर्ता घाइते भएको राप्रपाले जनाएको छ । पार्टी प्रवक्ता एवम् सांसद ज्ञानेन्द्रबहादुर शाही केहीबेर प्रहरीको नियन्त्रणमा परे । प्रहरीको दमनको विरोध गर्दै राप्रपाले गृहमन्त्री रवि लामिछानेको राजीनामासमेत माग गरे ।
सरकारलाई दबाब दिन सडकमा उत्रिएका राजावादीहरु उल्टो सरकारको दबाबमा परे । राजावादीहरु प्रहरीको चौघेरासहित कडा निगरानीमा थिए । चोक चोकमा प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति थियो ।

सडक संघर्षबाटै व्यवस्था बदल्ने उद्घोषसहित राजसंस्था र हिन्दूराज्यको माग बोकेर आन्दोलनरत राप्रपाले गत फागुनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ४० बुँदे ज्ञापनपत्र बुझाएको थियो । आफ्नो ४० बुँदे माग पूरा गराउने उद्देश्यसहित जनदबाब सिर्जना गर्न राजावादीहरु सडकमा उत्रिएका हुन् । कसैगरी यो व्यवस्था फाल्ने र राजा ल्याउने राजावादीहरुको दाबी छ ।

लामो समयको पूर्वतयारी गरेको राप्रपाको आन्दोलन केही सिर्जनशील देखिएको थियो । गणतन्त्र आएसँगै देशमा मौलाएको व्यथितिविरुद्ध व्यांग्यात्मक नारा तथा प्ले कार्डसहित प्रदर्शन गरेको राप्रपाको आन्दोलनलाई सिर्जनशील मान्न सकिन्छ । आन्दोलनमा उपत्यका बाहिरका हुल्ला, जुम्लासहित विभिन्न जिल्लाबाट प्रदर्शनकारी काठमाडौंमा उतारेको राप्रपाले ५० हजारभन्दा बढी मानिस सहभागी भएको दाबी गरेको छ । तर डेढ महिना अघिदेखि काठमाडौं केन्द्रित जनप्रदर्शनको तयारीमा जुटेको राप्रपाले प्रचार गरेझै कार्यकर्ता उतार्न भने सफल भएन । यद्यपि, जनदबाबको सुरुवात गरेको राप्रपाले भावी आन्दोलनका कार्यक्रम कसरी अगाडि बढाउँछ ? त्यो भने स्पष्ट पारेको छैन । सडकबाट राजा फर्काउने भन्दै आन्दोलनमा होमिएको राप्रपाको सडक संघर्ष अहिलेको व्यवस्था परिवर्तनको लागि वास्तविक लडाइँ लडेको हो या सत्ता स्वार्थका लागि जनताको आँखामा छारो हाल्न खोजेको हो ? त्यो भने भविष्यले देखाउने नै छ ।