Breaking

रवि र कांग्रेसको भिडन्त, चेपुवामा प्रचण्ड, गगन–विश्वकै लयमा देउवा, कसरी उम्किन्छन् रवि ?


काठमाडौँ – संसदीय अभ्यासमा खरो प्रतिपक्षी बन्न नसकको इतिहास बोकेको नेपाली कांग्रेस अहिले पनि व्यक्तिविरुद्धको एजेण्डामै रुमलिएको छ । तर त्यही मुद्दा पनि प्रमुख दलले नै बेवास्ता गर्ने तथा पेलेरै जानसक्ने उपप्रधान तथा गृहमन्त्रीको रणनीतिले फिक्का बन्दै छ । जसलाई अल्टिमेटम नै दिएर अघि बढाएको कांग्रेस कहिलेसम्म यसमा कायम रहन्छ भन्ने अर्को प्रश्न बन्दा रवि भर्सेस कांग्रेसको अवस्थाको निकास के त ?

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध घेराबन्दी बढाउँदै लगेको नेपाली कांग्रेस यही मुद्दामा एकीकृत हुन थालेको छ । विगतमा केही नरम देखिएको उसले यसलाई फेरि तताउँन थालेको हो । अहिले कि संसदीय छानविन समिति कि राजीनामा भन्दा विकल्प नभएको बताएको कांग्रेस नेताहरुले प्रतिपक्षीको शान्त स्वरुपलाई कमजोरी नठान्न आग्रह नै गरिसकेको छ । अल्टिमेट सकिएपछि सत्तापक्षले खोजे जसरी नै प्रस्तुत हुनुपर्ने अवस्था आउने चेतावनी दिएका उनीहरुले सिंगो पार्टी पंक्तिलाई यो मुद्दामा उभ्याएका छन् । यसैका लागि सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बिहान बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले यो अडानमा रहने निष्कर्ष निकालेको हो । यता चारदलसहितलाई भेला पारेर निकास निकाल्ने सभामुख देवराज घिमिरेको प्रयास पनि विफल भएको छ । उनीहरुका आ–आफ्नै अडानका कारण बैठक निष्कर्षविहीन बन्दा अबको संसदमा अवरोध भए त्यसको जिम्मा सत्ता पक्षले लिनुपर्ने कांग्रेस नेताहरुले चेतावनी दिएका छन् । यता यो पूर्वाग्राही प्रेरित विषय भएको भन्दै नेकपा एमाले नेताहरु कुनै हालतमा संसदीय छानबिन समिति बन्न नदिने अडानमा छन् ।

जसले योसँगै मंगलबार बस्ने प्रतिनिधि सभाको बैठकमा मुठभेडको अवस्था आउने देखिएको छ । जहाँ कांग्रेस भने यसलाई रविकै हितका लागि भएको भनेजसरी पनि प्रस्तुत गरिरहेको छ । यो उनीमाथि उठेको प्रश्नबारे प्रष्ट पार्ने अवसरसमेत भएको बताउने उनीहरु गल्ती नभए किन डराउने भन्ने भाष्यलाई नै अघि बढाइरहेका छन् । जुन विगतमा सुनकाण्डको छानविन समिति बनाउन एमालेले प्रयोग गरेको रणनीतिकै सिकोका रुपमा हेर्न सकिँदा यो नौलो विषय नै नभएको बरु सरकारले नै लम्बेतान पारेको कांग्रेसको आरोप छ ।

मुख्य कुरा त यसलाई सत्तापक्षका दलहरुले खासै महत्वका साथ हेरेका छैनन् । सभामुखले संसद अवरोध केन्द्रित भएर केही प्रयास गरेपनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली मौन कै अवस्थामा छन् । उनीहरु यसलाई रवि तह लाग्दै गएको रुपमा त हेरिरहेका छैनन् भन्दा कांग्रेसले नै पनि बल्ल पार्टीमा एक मत बनाएको हो । यसअघि महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा रविविरुद्ध खरो उत्रिएको अवस्थामा अब भने सभापति शेरबहादुर देउवाले नै यसलाई मुख्य मुद्दा बनाएर अघि बढेका छन् ।

सत्ता पक्षसँगको छलफलमा सभापति देउवाले नै रविमाथि छानबिन समिति गठन गरिनु पर्ने पार्टीको स्पष्ट बटमलाइन प्रस्तुत गरिसकेका छन् । यता, रविले त यो मुद्दालाई कांग्रेसले कहिलेसम्म बोक्छन् हेर्ने भनेर चेतावनी नै दिइसकेका छन् । यसलाई आफूलाई फसाउने नियतबसको एजेण्डाका रुपमा उनले व्याख्या गर्दा संसद प्रतिपक्षीको हुने बहाना भने कांग्रेससंग छ । त्यस्तै विगतमा यस्तै मुद्दामा चर्को सुनिने गरेको एमालेलाई नैतिक संकट रहँदा अंकगणित पुर्याउनकै लागि रास्वपा बोक्नु परेको बहानामा प्रचण्डले पनि छुट पाउने अवस्था छैन । तर उनीहरु यो आफ्नो नभई रास्वपाको विषय भएको भन्दै रविको पक्षमा देखिँदा पहिलो पार्टीले चौथो पार्टीलाई केही गर्न नसके प्रतिष्ठामै आँच आउने दबावमा कांग्रेस देखिन्छ । जसले यो रस्साकस्सी कम्तिमा बजेटअघिसम्म चल्ने पक्का हुँदा निकाश खोज्न दुबै पक्षका लागि सकस बनिरहेको छ ।

कांग्रसको बल बनेको यो मुद्दा बेइमान पार्टीले उठाए पनि सही मुद्दा हो । जसमा रविलाई नै अचेट्ने काम व्यक्तिमाथिको घेराबन्दी जस्तो देखिए पनि जीवी राईका कारण बिचल्ली हजारौँको उत्तर दिनु पर्ने बाध्यतामा उनी पनि छन् । जहाँ जीबीलाई केही गर्न नसक्ने प्रहरीको निरीहता र आकाश पाताल जहाँबाट पनि ल्याउछु भन्ने उनको चर्को स्वरमा देखिएको फरकले पनि रवि दलदलमा फस्दै गएका छन् ।