Breaking

प्रचण्डलाई प्रधानमन्त्री, माओवादी नेता रित्तै, बिनालाई कार्यकर्ताकै बहिस्कार, पार्टीभित्र विद्रोहको संकेत


काठमाडौँ – सरकारको नेतृत्व गरिरहेको माओवादी यतिबेला कुहिरोको कागजस्तै बन्न पुगेको छ । ज्यानको बाजी थाप्दै एक दशक युद्ध लडेको माओवादीले सत्ताभोगसँगै पुराना एजेण्डा छाडिसकेको छ । सत्ता र स्वार्थमा भुलेको माओवादी निर्वाचनमा उम्मेदवार उठाउनसमेत नसक्ने ठाउँमा पुगेको छ ।

सशस्त्र जनयुद्धलाई बिटमार्दै पहिलो संविधान सभा निर्वाचनमा होमिँदा देशै माओवादीमय भएको थियो । तर, शान्ति प्रक्रियामा आएको १७ वर्ष पूरा हुँदै गर्दा न त माओवादीको त्यो रापताप नै बाँकी रह्यो, न त नाराहरू नै लागू हुन सके । हिजो सर्वहारा जनताको मुक्तिको लागि भन्दै जनयुद्ध लडेका माओवादीका सुप्रिमो पुष्पकमल दाहाल प्रचण्डले पटक–पटक सत्तायात्रा गरे पनि जनताले मुक्तिको सास फेर्न सकेको छैनन् । देश र जनताको मुहार परिवर्तन गर्ने अठोटसहित प्रचण्ड तेस्रोपटक प्रधानमन्त्रीको कुर्सीमा विराजमान छन् । आफ्नै नेतृत्वको सरकार भएको बेला भइरहेको हरेक काण्ड र प्रकरणमा माओवादीकै नेताहरूको नाम अग्रभागमा आउने गरेका छन् । पार्टी उपाध्यक्ष कृष्णबहादुर महरा सुन प्रकरणमा जोडिएर प्रहरी कार्यालय धाइरहेका छन् । माओवादी नेता अपवादमा मात्रै विवादमा परेका छैनन् । प्रचण्डको सत्ता मोहका कारण पार्टी झन् झन् खुम्चिदै जाँदा नेता कार्यकर्ताले माओवादी हुँ भन्न नै लजाउनुपर्ने अवस्था सिर्जना भएको छ । कुनै समय बन्दुकको नालबाट क्रान्ति हुन्छ र परिवर्तन सम्भव छ भन्ने माओवादी सत्ताको सुखसयलमा भुलेको छ । शान्ति प्रक्रियामा आएपछि अपवादबाहेक माओवादी सत्तामै छ । तेस्रो दल भएर पनि माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री छन् । ठूला दल कांग्रेस र एमाले आलोपालो माओवादीलाई बोक्न बाध्य छन् । तर, केले चाउरिस मरिच आफ्नै रागले भनेजस्तै माओवादी आफ्नै कारण खिइदै गएको छ । प्रचण्डको अस्थिर स्वभावले माओवादी विघटनकै डिलमा पुगेको छ । अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहितका नेता सरकारमा भएका कारण समाजवादको आधार तयार पार्ने भाषण गर्दै आएका छन् । सामाजिक न्याय, सुशासन र समृद्धिको भाषण छाट्न कुनै पनि कार्यक्रममा छुटाउदैनन् । तर, व्यवहारमा भने ठीक उल्टो भइरहेको छ ।

प्रधानमन्त्रीको कुर्सीको लागि हरेकपटक त्याग गर्दै आएका प्रचण्डले माओवादीको आदरभूमि मानिने कर्णालीको नेतृत्व नै एमालेलाई सुम्पिन पुगे । इलाममा हुने उपनिर्वाचनमा पनि आफ्नो उम्मेदवार नउठाइ एमालेलाई नै सघाउने अवस्थामा पुगे । प्रचण्डले आफ्नो स्वार्थको लागि हरेक ठाउँमा सत्ताको बार्गेरिङ गर्दैगर्दा पार्टी उपाध्यक्ष जनार्दन शर्मा रूष्ट बनेका छन् । राजनीतिक विश्लेषकहरूले भने प्रचण्डको आलोचना गर्ने नेता माओवादीमा लामो समय टिक्न नसक्ने बताउँछन् ।

प्रचण्ड सत्ता र शक्तिको लागि बालुवाटार र सिंहदरबारमा केन्द्रित हुँदा अन्य नेता कार्यकर्ता विरक्तिएका छन् । पार्टी बालुवाटार र सिंहदरबार केन्द्रित भएकै कारण माओवादी संगठन निकै खुम्चिएको छ । जनता र माओवादी नेताबीचको दूरी ह्वात्तै बढेको छ । गरिब, श्रमजीवि वर्गको हितका लागि राजनीतिमा लागेको दाबी गर्ने माओवादी नेताहरू व्यक्तिगत सम्पत्ति थुपार्ने होडमा छन् । राजनीतिक विश्लेषकहरू माओवादीमा व्यक्तिवादी प्रवृत्ति हाबी भएको र पार्टीलाई माथि उकास्ने सोच नै नभएको दाबी गर्छन ।

प्रचण्ड संगठनात्मक रूपमा मात्रै होइन, राजनीतिक र नैतिक रूपमा पनि कमजोर बन्दै गएका छन् । कांग्रेससँग गठबन्धनमा आफूलाई असहज भएको महसुस गर्दै नयाँ समीकरणमा होमिएका प्रचण्ड नयाँ गठबन्धनबाट पनि सन्तु्ष्ट छैनन् । प्रचण्डलाई अहिले थाल खाउँ कि भातको अवस्था सिर्जना भएको छ । गरिब, श्रमजीवि जनताले देशमा सरकार भएको महसुस नै गर्न पाएका छैनन् । यही अवस्था कायम रहने हो भने आगामी दिनमा माओवादी झन् खुम्चने निश्चित छ । प्रचण्ड सत्ताको वरिपरि घुमिरहने र दोस्रो तहका नेताहरू हरेक काण्डमा तानिरहने प्रक्रिया बढ्दै जाने हो कुनै समय एमालेले भनेजस्तो माओवादी टच बालेर खोज्नुपर्ने अवस्था सिर्जना नहोला भन्न सकिन ।