Breaking

इलाममा पेचिलो पहिचान मुद्दा, हर्क र बाबुरामदेखि धर्मगुरूको नजरमा थेगिम, मिलन र सुहाङलाई दबाब


काठमाडौँ – इलाम २ को निर्वाचनमा पहिचानको मुद्दामा भोट खोस्ने होडबाजी मात्रै देखिएको छ । सबै जनाले आ–आफ्ना उम्मेदवार नै सच्चा पहिचानवादी भएको दाबी गरिरहँदा पहिचानवादीहरू नै एक ढिक्का हुन सकेका छैनन् । जसले गर्दा असली उम्मेदवारलाई पहिचान गर्न नै मुश्किल पर्ने देखिएको छ ।
कोशी प्रदेशको नामकरणबाट सुरु भएको पहिचानको मुद्दा इलाम २ को उपनिर्वाचनसम्म आइपुग्दा सतहमा छ । राजनीतिक मुद्दा वा नीति नियम बनाउने भन्दा पनि उम्मेदवारहरू पहिचानको मुद्दालाई आधार बनाएर सदन छिर्ने रणनीतिमा देखिन्छन् । स्वतन्त्र सांसददेखि राजनीतिक दलका उम्मेदवार सबै पहिचानवादी मुद्दाको भोट खोस्ने होडबाजीमा छन् । दशकौंदेखि एकछत्र राज गर्दै आएको नेकपा एमालेले सुहाङ नेम्वाङलाई उम्मदेवार उठाउँदा नेकपा मओवादी केन्द्रले सहयोग गरेको छ । सबैभन्दा ठूलो स्वरमा पहिचानको मुद्दा घन्काउने माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै पार्टीबाट भने एकल उम्मेदवार उठाएनन् । पहिचानको मुद्दामा कट्टर भएर लागेको र पार्टीलाई बहुमत दिए पहिचान फर्काउने उद्घोष गरेका तिनै प्रचण्ड एमालेको साथमा छ । पहिचानवादीका पक्षपोषणमा देखिएका प्रचण्ड कोशीमा पहिचान विरोधीको छवि बनाएको एमालेलाई सहयोग गर्दै छन् । जनमत पार्टीले पनि ‘किरात लिम्बूवान प्रदेश नामाङ्कन अभियान’का केन्द्रीय अध्यक्ष प्रेमदीप लिम्बूलाई उम्मेदवार बनाएको छ । त्यस्तै, स्वतन्त्र सांसद डकेन्द्रसिंह थेगिम पहिचानलाई नै मुख्य आधार बनाएर मत तात्रे योजनामा छन् । गठबन्धनकै उम्मेदवारलाई पनि छोडेर पहिचान पक्षधर जनता समाजवादी पार्टी र डा. बाबुराम भट्टराईले थेगिमलाई समर्थन गरेका छन् भने किरात धर्मगुरू आत्मानन्द लिङ्देन र धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राई पनि सच्चा पहिचानवादी थेगिम नै भएको भन्दै घर दैलोदेखि आमसभाबाट भोट मागिरहेका छन् ।

हर्कको प्रवेशले पेचिलो बनेको इलाम २ मा पहिचानवादीको मुद्दा नै बोकेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बू चुनावी मैदानमा छन् । पत्रकार पृष्ठभूमिका लिम्बु कर्मक्षेत्रमा हुँदा माओवादीसँग निकट भए पनि स्वतन्त्र उम्मदवारको रुपमा आफूलाई परिचित गराएका थिए । स्वतन्त्र उम्मेदवारी घोषणा गरेका उनी अहिले भने रास्वपाको आधिकारिक उम्मदेवार बनेका ाछन् । पहिचानको बिजारोपण नै कोशीको नामकरणबाट उत्पत्र हुँदा प्रदेश संरचनालाई अस्वीकार गरेको रास्वपाले लिम्बूलाई उठाउँदै गर्दा रास्वपाले प्रदेशलाई स्वीकारेको हो वा मिलनले पहिचान छोडेको हो ? यो प्रश्नले पहिचानवादीहरू सशङ्कित छन् । तर, मिलन इलामेली माटोकै छोरो भएकाले यसमा कुनै शङ्का गर्नै नपर्ने रास्वपाको धारणा छ । विविधताभित्र एकता भएको देशमा रास्वपालाई पहिचान विराधीको रुपमा चित्रित गर्नु नै निर्ममता हुने रास्वपाका नेताहरू बताउँछन् ।

आदिबासी मिलन लिम्बु पहिचानकै उम्मेदवारहरूको बाहुल्यता भइरहेको परिपे्रक्षमा नेपाली कांग्रेसले भने फरक उम्मेदवार उठाएको छ । तर, कांग्रेसले डम्बर खड्का जस्तो उम्मेदवार उठाए पनि पार्टीको मत रिझाउने सूत्र भने पहिचानकै मुद्दा छ । पहिचानवादी भनेको सम्बन्धित समुदायकै जाति मात्रै नभएको कांग्रेसको व्याख्या छ । विगतका दिनमा पनि खड्काले पहिचानवादीका लागि गरेको योगदान र सङ्घर्षकै कारण उनलाई पहिचानवादीको मत प्राप्त हुनेमा पार्टी ढुक्क छ । पहिचानवादीको आन्दोलनमा पार्टीविरुद्ध नै गएर गरेको सहयोग इलामेली जनताले नबिर्सिएको भन्दै पहिचानवादीकै भोट खोस्ने कांग्रेसको तयारी छ ।

इलाममा सबैभन्दा पेचिलो राजनीतिक मुद्दा नै पहिचान बनिरहँदा आदिबासी अनुहारकै उम्मेदवारहरूको बाहुल्य छ । पहिचानलाई नै आफ्नो जितको आधार बनाएका सबै आदिवासी उम्मेदवारलाई ठूला पार्टीको साथ र सहयोग छ । सबै उम्मेदवारले पहिचानकै मुद्दालाई जोड दिँदा इलामेली जनतालाई अलमल्याउने काम पनि भइरहेको छ । पहिचानको मुद्दालाई प्राथमिकतामा राख्दा इलामेली जनताले चाहेको विकास र अन्य परिवर्तनका एजेन्डा भने छायाँमा परेको देखिन्छ । उम्मेदवारहरुसामु मतदाताले आफ्ना मागहरु राख्ने मौकालाई सही रुपमा सदुपयोग भइरहेको छ कि छैन ? यसतर्फ भने सम्बन्धित दल र उम्मेदवारको ध्यान जान जरुरी छ । नत्र जताततै माछैमाछा मात्रै राख्दा कतै भ्यागुतो पो पर्ने हो कि भत्रे अलमलमा मतदाता छन् ।